यो कुरा समयले नसुनोस्

0
166

सागरमणि दाहाल,

कहिलेकाहीँ दिमाग पनि फुर्सद हुँदो रहेछ । र त के–के सोचिरहन्छ । अचेल सोच्ने समय निकाल्न पनि फुर्सद निकाल्नुपर्छ । व्यस्त छु भनेर फरक पहिचान दिँदा के–के न हुन्छ झैँ गर्छ मान्छे । खुब व्यस्त भएको नाटक गर्छ । समय नमिलेर सम्झनै पो नसकेको भनेर अकर्मण्यतालाई पुष्टि गर्छ । सबैलाई सबैको याद नआउने पनि होइन । खासै सम्झे जस्तो पनि लाग्दैन । सम्झन पनि समय चाहिन्छ र भन्थेँ चाहिँदो त रहेछ त । अलि अलि बुझ्दै छु । समय पनि कति छिटो बिती जान्छ । समय नबित्ने हुनु नि । के गर्नु समय बित्न बेरै नलाग्ने । साँच्चै भनेको एक छिन घुच्चुकमा हात राखेर सम्झनु त । व्यस्तताले भुलभुलैयामा नै जीवन बिताउँदो रहेछ मान्छे । समय व्यतित गर्न समय खर्चिने हामीहरू समयकै पछि लागेर उसैको दास बनेका छौँ । यही दासत्वले हामीलाई थुप्रै बाघेझापु खुवाएको छ । थप बाघेझापुबाट बच्न पनि समय मिलाएर नाटक मञ्चन गर्नै परेको छ ।

आफू व्यस्त रहेको अनुभूति गरेर अरुलाई त्यही अनुभूति प्रदान गर्न अचेल मैले भन्ने गरेकोछु– ‘म व्यस्त छु । तपाईलाई फुर्सद छैन । मनभरि हजुरलाई भेट्ने रह रहरहरूको ठेलमठेल छ धक्कामुक्की छ मानौं रहरहरू ट्राफिकमा परेका छन् । अथवा भनौं रहरहरू पाचन प्रक्रियामा आएका समस्याले कब्जियतमा परेका छन् । बिचरा रहर उसले बोलिसक्नु छैन । ऊ सम्झेर हो यिनीहरुले मेरो भ्रुण हत्या गरे । यो कुरा रहर न ऊ भन्न सक्छ न हामी बुझ्न र बुझाउन सक्छौं । अलमल अलमलमै थुप्रै व्यस्तताहरु बितिसकेका छन् । सम्झन सक्ने शक्ति समयले खोसेर मनभरि रहरका कल्पनाहरू छन् ।
शनिबार एउटा छ । त्यही शनिबार कुर्दा कुर्दै थुप्रै अरु बारहरू बिति जान्छन् । अरु बार बिते जसरी नै शनिबार पनि त्यसैगरी बिती जान्छ । त्यसैगरी कुर्दाकुर्दै थुप्रै सार्वजनिक बिदाहरू पनि आइपर्छन् । कुनै खुशी मनाउनुपर्ने बिदा दुःख मानि दिनुपर्ने बिदा । बिदाको पनि टुङ्गै नहुने । बिदा पर्खन पनि समयले अल्मल्याइदिन्छ । निश्चित भएको शनिबारको बिदा बाहेक अरु बिदाको त खासै महत्व नै नलाग्ने । शनिबार आउने दिन गनिरहन मन लाग्ने । शनिबारकै मौका पारेर कता–कता भेट्न पनि पुगिन्छ । पालो आउँदै होला चिन्ता नगर्नु न है ।

प्रायः प्राथमिकताका आधारमा पालोको सूची बाँधेको छु, सरकारको कार्य योजना जस्तो भनौं अथवा बजेट भाषण जस्तो । समयले बताउँदै जाला । समयले पनि के विश्वास गर्नु, ऊ आफैँ अलमलमा छ । त्यसैले त खासै सहयोगै गर्दैन । सरकारले जम्मा १२ दिन बिदा दिन्छ परेवालाई चारो छरे जस्तो । छरेका कनिकाले परेवाको पेट टन्न भरियोस् त मरिजाउँ मात्र पखेटा हानाहान् । सम्झनु त महोदय मलाई भेट्ने रहर हजुरमा पनि नभएको त पक्कै नहुनु पर्ने । हजुरले पनि त समय मिलाउनुभएको छैन नि । सम्झनु त के गरेर समय बित्छ बित्छ । म त सम्झन्छु वा कल्पिन्छु हामी समयका दास हौं । समयको दास भनेर अरुकै लागि बाँचेका बिचरा मान्छे जस्ता…’

फुर्सद भन्ने अनौठो कस्तो रहेछ भने सुन्दा सजिलो लाग्ने सोच्दा कुमालेको चक्र घुमे झैं जिन्दगी नै घुम्ने । टाउको घुमाइको त कुरै नगरौं । समय बनाउनेले फुर्सद बनाउन बिर्सेपछि शब्द ब्रह्मका निर्माताले पनि फुर्सद शब्द नबनाइदिएको भए हुने नि । हाम्रा गुनासा शब्दले दिने परिभाषाका गुनासा न हुन् । सुन्ने फुर्सद कसलाई पो छ र ! फुर्सद निकालेर बोलौंला आजलाई यति भन्ने त हाम्रा सांस्कृतिक कथ्य हुन् । उहिलेका कुरा खुइले भनेर पनि बाँच्नै गाह्रो छ । अझ दुई मिनेट फुर्सद होस् त दिमागले के–के गर्छ–गर्छ । त्यसैले फुर्सद खोज्न पनि नहुने रहेछ । तर, के गर्नु यो मनले फुर्सदै खोजिरहन्छ व्यस्ततामा रहन खासै रमाउँदैन । तर, व्यस्ततामै समय बिताइरहन्छ । यो बाध्यता पनि त हो । दुनियामा बाँच्नु छ । बाँच्नु पनि आफ्ना लागिभन्दा अरूका लागि बढी । बाँच्नैका लागि व्यस्त छ, मान्छे । फुर्सद निकालेर केही गर्ने लक्ष्य पनि मान्छेले खासै राख्छ जस्तो लाग्दैन । व्यस्त रहेर प्रगति गर्नेले फुर्सद रहेपछि उपद्रो बाहेक के नै गर्छ र ? यो पापी दिमागका सोचाइले हैरान बनाउने । समयले व्यस्तै बनाएको राम्रो जस्तो पो लाग्यो । व्यस्त होस् या नहोस् फुर्सद भने नभएकै राम्रो दिमाग त अनावश्यक खेल्दैन ।

सम्झँदा लाग्छ व्यस्तता र फुर्सद एकअर्काका परिपूरक हुन् । सम्बन्ध हेर्दा नङ र मासु जस्तै । फुर्सदलाई सम्झने समय पनि नहोस् जस्तो । फुर्सद पनि समय त समय नै हो । परिपुरक भने यस्ता रहेछन्, फुर्सद नभए व्यस्तता नमिल्ने व्यस्तता नभए फुर्सदको माया नै नलाग्ने । दुबैका बीचको अनौठो सम्बन्ध । मायाको वरिपरि घुमेका व्यस्तता र समय साँच्चै लगाउँटिया रहेछन् । फुर्सद र व्यस्तताबीचको बाटो हिँड्नुपर्ने हो खासमा । तर, त्यो समय कतिखेर हो ? पत्ता लगाउन ब्रह्माजीले पनि सिकाएनन् । कुनै सन्देश छाडेनन् । न विद्यालय र विश्वविद्यालयमा सिकाइयो । विद्यालय र विश्वविद्यालयले व्यस्त रहन बाहेक अरु कुनै कुरै सिकाएनन् । सायद ती विद्यालय विश्वविद्यालयका शिक्षक र प्रोफेसरहरू पनि समयका दास भएर हुनुपर्छ । व्यस्तता र फुर्सदका बीचको समय निर्धारण गरेर सिकाउनै बिर्से ।

उनीहरूले व्यस्ततालाई चिरेर फुर्सदलाई पछारेर बीचको थोरै समय व्यवस्थापन गरिदिएको भए कति मजा हुन्थ्यो तपाईं र मेरो भेट हुन्थ्यो । उसको र त्यसको भेट हुन्थ्यो उही पुरानै चोकमा र थोरैबेर चियाको चुस्कीमा रमाउने मौका पाउथ्यौं । त्यही समय पनि नदिने यो समय पनि कति निष्ठुरी । व्यस्तताका जन्मदाताहरुलाई पनि समय मिलाएर हार्दिक श्रद्धाञ्जली भन्न मन नलागेको पनि होइन, तर यसका लागि पनि त मलाई समयले व्यस्तता र फुर्सदका बीचको अलिकति समय निकाल्नै दिएन । तपाईलाई त मलाई भेट्ने अवसर दियो साह्रै निष्ठुरी हुँदोरहेछ यो समय पनि । पूर्वीय अध्यात्म दर्शन पनि अनौठो रहेछ । ज्ञान, विज्ञान, व्यवहार, आचार र विचार सिकायो । तर, फुर्सद र व्यस्ततालाई चिर्ने अर्काे शब्द सङ्केत दिनै सकेन । यो पूर्वीय दर्शन पनि अभागी नै रहेछ भन्ने विषयमा नै किन टाउको दुखाउनु । टाउको नदुखाउँ भनेर पनि नहुने रहेछ । बेलाबेला टाउको तातेर आइहाल्छ ।

विश्वासमा आधारित पूर्वीय दर्शनले काम काटेन भन्नु पनि कसरी त्यसैलाई मानेर पुर्खाले हामीहरूको बाटो खनिदिए । त्यही बाटोमा आजसम्म हामी हिँडिरहेकै छौं । फुर्सद र व्यस्तता पनि डेटिङ भेटिङमै सकिने रहेछन् । तर, जे होस् पूर्वीय दर्शन साह्रै सजिलो र रसिलो पनि । त्यही रसिलोमा भुलेर लगन गाँठो कस्न समेत भ्याएनन् र यिनीहरुले प्रकृतिलाई नै च्यालेन्ज दिए । अनि भने– ‘हामी तिम्रो नियम मान्दैनौँ ।’ त्यही भएर फुर्सद र व्यस्तताका बीचको अलिकति समय निक्लिएन । व्यस्तता व्यस्ततामै बित्ने हो फुर्सद–फुर्सदमै बित्ने हो । यिनीहरूका बीचको अलिकति समय भएको भए हामी पनि त कतै कुइँनेटामा भेटेर अलिकति सुखका अलिकति दुःखका गफहरू गथ्र्यौैं नि है के गर्नु ? समयले व्यस्तता र फुर्सदका बीचको अलिकति समय निर्धारण गर्नै भुलेछ । यसले समयका सन्तान व्यस्त र फुर्सदलाई पूर्वीय दर्शनका मनु र सतरूपा मानेर नयाँ उत्पादन देला र त्यसलाई पक्रेर अघि बढाउँला भन्ने सोचेँ तर विज्ञान त झन् निष्ठुरी रहेछ । यसैले त हो हामीलाई व्यस्त बनाएको फुर्सदलाई भेट्दै नभेट्ने बनायो । हाम्रा रहरहरु लुट्यो ।

रातका र बातका रहरहरू लुटेर लुटेरा बनेको विज्ञान समय समयमा उत्पात मच्चाइदिन्छ। विज्ञान त फुर्सदको सौता पो रहेछ देखादेख हुनै नहुने । जीवन शत्रु जस्ता । विज्ञान र फुर्सदको मित लगाउने कर्मकाण्ड बनेको रहेन छ । यसबाट मैले यति बुझेँ । सबैले भएकै गर्दा रहेछन् नभएको कसैले गर्दैन । नभएका त गफ गर्ने बाहेक अरु के नै छ र ? नभएका गफ गर्न बाहेक समयले व्यस्तता र फुर्सदबीचको समय नै दिएन । फुर्सद आफैं कोमामा छ । के सिकाओस् बिचरा उसले समय । हामीले सम्झिने त हो नि उसलाई पनि तपाई हामीलाई सम्झने फुर्सद कहाँ छ र महोदय !
यो केही होइन व्यस्ततालाई चिरेर मित्रले मोबाइलमा लेख्नुभयो– ‘कता हो सोल्टा भेटघाट छैन त ।’ मैले पनि फुर्सद निकालेर भने– ‘हो मित्र तपाईं व्यस्त हुनुहुन्छ मलाई फुर्सद छैन हामीलाई पापी समयले एकैपटक फुर्सद दिन सकेछ भने तपाईं छिर्ने र म उक्लने बाटामा भेटौला तर मित्र यो सबै कुरा समयले नसुनोस् फेरि पनि उसले हामीलाई ढाट्न सक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here