भीम निरौलाको ‘यात्रा अनुभूति’

0
23

स्रष्टा भीम निरौलाको नवीन कृति यात्रा अनुभूति पाठकसामु आएको छ । निरौलाको यो पाँचौं पुस्तकाकार कृति हो । जीवनमा लामो समय शिक्षा सेवा गरेका निरौला निवृत्त जीवनमा समाज सेवा, सत्सङ्ग, अध्यात्मसेवा र लेखनमा समेत सक्रिय रहेका पाइन्छन् ।

कृतिबारे उनले लेखेका छन्, सृष्टि नै यात्रा हो । जो चलिरहेछ । प्रकृति, जीव, वनस्पति, कीट पतङ्ग यात्री हौं । यात्रामा सहज असहजलाई स्वीकार्नु पर्दछ भनेर आफूले गरेका यात्राका छोटकरी विवरण, यात्राका अनुभूति आदि राख्ने काम भएको छ ।

मानिसहरु स्वभावैले विभिन्न कारणवश यात्राशील हुन्छन् । तर, सबैलाई त्यो मौका नजुर्न सक्छ, तर अरुले गरेका यात्राका संस्मरण सुनेर र पढेर पनि यात्राको मिठो अनुभूति संगाल्न सकिन्छ । यात्रा विवरणबाट ठाउँ, ठाउँका जानकारी र ज्ञान हासिल गर्न सकिन्छ । स्रष्टा निरौलाको यस यात्रा अनुभूतिले पनि त्यही गुण परिपूर्ति गर्दछ ।
हुन पनि निरौलाले कति धेरै यात्रा गरेका रहेछन् भने ? उनको यस कृति पढ्दा थाहा लाग्छ । मानिसहरुले त्यति धेरै टाढा–टाढाका यात्रा र धेरै पटक यात्रा गर्न असम्भव नै हुन्छ । या त यात्रा त्यागेर घर फर्कन्छन् । किनकि टाढा तथा लामो यात्रामा यात्रुहरु प्रायशः बिमारी परिहाल्छन् । उनीहरुमा चिडचिडाहट पैदा हुन्छ, उकुसमुकुस हुन्छ, डर लाग्छ, पानी फेरिन्छ, घरको कामले पिरोल्छ, पैसा खर्चको पीर हुन्छ, दुर्घटनाको पीर हुन्छ, अनि कतिपयलाई त डिप्रेसन पनि हुन्छ । तर भीम निरौलालाई ती केही पनि भएनछन् । यात्रालाई जीवनको सिकाई र आनन्द मानेर होला । फलस्वरुप निरौला जीवनको उत्तराद्र्धमा पनि उत्तिकै यात्राशील रहेका छन् । त्यसैले पनि होला उनी स्वस्थ, खुशी र उत्साही रहेका पाइन्छन् । भेटमा मानिसहरुमा उत्साह भर्ने प्रेरणादायी विचारहरु प्रवाह गर्दछन् । यस्ता व्यक्तित्वको यात्रा अनुभूति पक्कै रोचक, जानकारीमूलक, ज्ञानमूलक र यात्रा आनन्दले सजिएका होलान् । पाठकवर्गले अध्ययन गरेर आफै यात्रा गरेको अनुभूति पाउन सक्छन् ।

यस यात्रा अनुभूति कृतिमा, खण्ड १० सम्म छन् । खण्ड १ मा– जगत र जीवन, खण्ड २ – यात्रा, खण्ड ३ – यात्री कविता, खण्ड ४– सह यात्रा, खण्ड ५– महिला प्रकृति, खण्ड ६– यात्राका कोसेलीहरु, खण्ड ७– यात्राका सोह्र संस्कारहरु, खण्ड ८– यात्रा संस्मरण, खण्ड ९– भारत यात्रा र खण्ड १० मा शव यात्रा र समवेदनाका नमूना समेटिएका छन् ।

खण्ड १ मा, जगत र जीवनको परिचय, पृथ्वीको उत्पत्ति र गति, पृथ्वीमा जीव र मानिसको उत्पत्ति र विकासबारे लेखिएका छन् साथै स्वस्थानी व्रतकथा अनुरुप उत्पत्तिबारे पनि लेखिएका छन् । अघि यो संसार पद्मकल्पमा जलामय हुँदा परमब्रह्म स्वरुप विष्णुको नाभिदेखि हजार पत्र कमल उत्पन्न भयो । त्यसै कमलबाट ब्रह्मा उत्पन्न भएर संसारको सृष्टि गर्ने विचार गरे । विष्णुका कानेगुजीबाट वीर पराक्रमी मधु र कैटव नामका दैत्य जन्मे । ठूलो लडाइँपछि तिनै दैत्यको शरीर ठण्डामा तुसारोले पानी जमेसरी समुद्रको जलमा जमेर पृथ्वी भयो । हाडहरुका चट्टान भए, मासुको पर्वत भयो । तब ब्रह्माले चौध लोक सृष्टि गरे । ब्रह्माको मनले चिताउन साथ एकसय ऋषिहरुको सृष्टि भयो । कस्यप ऋषिका १३ पत्नी थिए । त्यसमध्ये दितिका गर्भबाट हिरण्यकस्यप आदि दैत्य जन्मिए भने अदितिका गर्भबाट सूर्य, चन्द्र, इन्द्र आदि तेत्तीसकोटी देवताहरु जन्मे । दनुका गर्भबाट दानवहरु जन्मे ।

निरौलाको यस कृति यात्रा संस्मरणमय भए पनि यसरी अन्य आयामहरुकाबारे पनि लेखिएका छन् । लेखहरु ज्ञानगुणले भरिएका छन् । यसबाट के जान्न सकिन्छ भने स्रष्टा निरौला विविध ज्ञानगुणका खानी हुन् । उनी अध्ययनशील छन् । उनका कृतिहरुबाट धेरै कुराको ज्ञान पाउन सकिन्छ ।

खण्ड २ मा यात्राका अर्थ र उद्देश्य, यात्राका किसिमबारे उल्लेख गरिएका छन् । गर्भधारणदेखि यात्रा शुरु भएको, शव यात्रामा गएर अन्त्य हुन्छ भन्ने भाव व्यक्त गर्दछन् निरौला । तसर्थ, जीवन नै एक यात्रा हो । शैक्षिक यात्रा, विदेशयात्रा, भेटघाट र उत्सव शिर्षकमा यात्राका किसिम पनि उल्लेख गरिएका छन् ।

खण्ड ३ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताबारे लेखिएको छ । साथै तीर्थयात्र नै किन, कहिले यात्रा गर्ने ? यात्रा कसरी गर्ने ? उपशिर्षकमा यात्राबारे वर्णन गरिएका छन् । खण्ड ४ मा सहयात्रा शीर्षकमा सहयात्राबारे लेखिएका छन् । सहयात्राका पहिला साथी श्रीमान् र श्रीमती, गाडाका २ पाङ्ग्रा, सिक्काका दुई भाग, दिन र रात, जाडो र गर्मी, चिसो र तातो । जन्मदाको आमा बाबु यात्री, अलि ठूलो हुँदै गएपछि परिवारका सदस्य, समाजका हितैषी मित्र हुँदै यात्रीहरु थपिँदै जान्छन् । जे जति सम्पर्क आउँछन्, त्यसमध्ये पनि अनन्य मित्र भने श्रीमान् श्रीमती नै हुन् । यात्राबारे निरौलाले यसरी वर्णन गरेका छन् ।

खण्ड ४ मै महिला यात्रा, पुरुष यात्रा, वनस्पति यात्रा, पशु यात्रा, पन्छी यात्रा, कीट पतङ्गसँको सम्बन्ध शीर्षकमा विविध यात्राहरुका बारेमा सुन्दर किसिमले वर्णन गरिएका छन् । खण्ड ५ मा, सृष्टिका प्रतीक महिलाहरुको सहनशीलता, संयम, धैर्यका केही नमूनाहरु शीर्षकका लेख प्रकाशित भएका छन् । खण्ड ६ मा यात्राका कोसेलीहरु पस्किएका छन् । जसमा धार्मिक श्लोकहरु नेपालीमा उल्था गरेर ज्ञानहरु राखिएका छन् । यस खण्डमा सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाबारे छोटोरुपमा लेखिएका छन् । शान्तिबारे यस्तो लेखिएका छन् ः आत्मनियन्त्रण, स्थिरता, समभाव, कृतज्ञता, पुनर्विचार, सकारात्मक सोच, आत्मसम्मान, खुशी, आत्मविश्वास, आत्म अनुशासन, सचेतना, आन्तरिक शान्ति, सन्तुष्टि, आत्मस्वीकृति, समझदारी, धीरता र एकाग्रता । खण्ड ७ मा यात्राका सोह्र संस्कारहरु विभिन्न उपशीर्षकमा उल्लेख गरिएका छन् । जुन यसप्रकार रहेका छन्ः गर्भाधरण संस्कार, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, अभिनिष्क्रमण, अन्नप्राशन, चूडाकर्म, कर्णवेध, विद्यारम्भ, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह र अन्त्येष्टि । मानव जीवनलाई संस्कारित, अनुशासनशील र मर्यादित बनाउन अर्थात मानव जीवनको यात्रा साकार पार्न हाम्रा पूर्वज ऋषिमुनिहरुले यी मागर्दशन गरेका भाव निरौलाले व्यक्त गरेका छन् ।

अन्तिम खण्ड ८ मा निरौलाले नेपालभर गरिएका यात्रा विवरण समेटिएका छन् भने खण्ड ९ मा भारतको । नेपालमा काठमाडौं उपत्यका, बराहक्षेत्र, जानकी, स्वर्गद्वारी, मुक्तिनाथ, विन्ध्यवासिनी, महेन्द्रनगर, मनकामना, देवघाट, हलेशी, पाथिभरा लगायत थुप्रै ठाउँ र धामको यात्रा विवरण उल्लेख गरिएका छन् । भारतमा चाहिँ, बाबाधाम, कन्याकुमारी, रामेश्वरम, तिरुपति, पुटपर्ति, वैष्णोदेवी जम्मू कश्मिर, वाराणसी, कामाख्या, परशुराम, हरिद्वार, बद्री, केदार, गंगोत्तरी, जगन्नाथपुरी, भुवनेश्वर, सिक्किमको चारधाम, मनिपुर, सिलाङ मेघालय र दार्जिलिङ्ग । यतै धेरै यात्रा सायदै कसैले गर्न सक्छन् । खण्ड १० मा शवयात्राबारे उल्लेख गरिएका छन् भने समवेदनाका नमूनाहरु दिइएका छन् ।

लेखक भीम निरौलाको यस नवीन कृति यात्रा अनुभूति अध्ययनबाट धेरै ठाउँकाबारे जानकारी र विविध विषयमा ज्ञान पाउन सकिन्छ । सीता दवाडी निरौलाको प्रकाशन रहेको चिटिक्क परेको यस पुस्तकबाट यात्रा वृत्तान्त र जीवन दर्शन समेत पाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here