रेडक्रसमा पार्टी हस्तक्षेप– हुँदैछ प्रत्युत्पादक !

0
57

कसले भन्छ रेडक्रसमा राजनीति छैन ? रेडक्रसमा राजनीति कति छ भनेर हेर्न नेपाल रेडक्रसको विगत एक दशकको गतिविधिमा सरकारको गैरजिम्मेवारी र अन्तर्राष्ट्रिय रेडक्रस महासंघ तथा रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी)ले अहिले चालेको कदम काफी छ । मानवीय कल्याणको पवित्र उद्देश्यले खोलिएको नेपाल रेडक्रस सोसाइटीमा नेतृत्व विवाद, आर्थिक अनियमितता, राजनीतिक हस्तक्षेप खुलेआम हुँदा आईएफआरसीले सहकार्य टुटाएको छ ।

जबकि, नेपाल रेडक्रस अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अंगका रूपमा मुलुकभर मानवीय सेवाका लागि स्थापना भएको हो । सँगसँगै बेलायत, क्यानडा, फिनल्याण्ड, अमेरिका, जापान लगायतका रेडक्रसले पनि सहकार्य स्थगन गरेका छन् । अन्तर्राष्ट्रिय समुदायबाटै ‘बहिष्करण’मा पर्ने यस्तो विडम्बनापूर्ण अवस्था आउनुमा नेपाल रेडक्रसका पदाधिकारी मुख्य जिम्मेवार देखिन्छन् ।

यसैबीच, गत पूस २७ गते रेडक्रसको भद्रपुर उपशाखाले पार्टी कार्यकर्ताको होइन, एउटा रेडक्रसकर्मीको नेतृत्व पाएको छ । यसो भइरहँदा कसैलाई भने नराम्रोसँग मन पोलेको छ र उनीहरू भन्दैछन्– भद्रपुर रेडक्रस सकियो, अब सकिन्छ । त्यसो भनेर गफ हाँक्नेहरूले किन सिँधै नभनेको कि, हामी सकिदिन्छौं भनेर ! यस अघिको कार्यसमितिलाई पनि त्यसै गरेका थिए, अब पनि गर्लान्, नौलो कुरो होइन ।

उनीहरूले भद्रपुर उपशाखालाई कुनै कार्यक्रममा समावेश नै नगर्ने, उपशाखाले तयार गरेका कार्यक्रममा हस्तक्षेप गर्ने, खोस्ने र बैठकमा उपस्थित नहुने गरेकै हुन् । अब पनि त्यही गर्लान्, कार्यक्रमहरू नदेलान् । रेडक्रसबाट गरिने कार्यक्रमको जानकारी नदिने क्रम त शुरू भएको पनि सुनिएको छ– जस्तो कि, माघ २ गते भूकम्प दिवस मनाइयो, रेडक्रस भद्रपुर उपशाखालाई थाहासम्म दिइएन । यसो गर्दा उनीहरूलाई लाग्दो हो– ठूलो काम गरियो, त्यसले व्यक्ति हठ त पूरा हुनसक्ला, तर रेडक्रसको सिद्धान्त, मूल्य–मान्यता कता पुग्ला ?

‘उपयुक्त पात्र–उपयुक्त स्थान’ विपरीतका गतिविधि गरेर आफ्ना झोले नै हुनुपर्छ भन्ने जबर्जस्तीले उम्मेदवार चयनमा गरिएको कमजोरीलाई स्वीकार गर्नुको सट्टा पराजयपछि पिकनिक, पार्टी, होटल, रेष्टुरेन्ट, दारूभट्टी र चिया दोकानमा शुरू भएको विभिन्न लाञ्छनायुक्त भँडास–पोखाइ र टेलिफोन–मोबाइलबाट दिइने धम्कीपूर्ण शब्दबाणले रेडक्रस त कुन्नि, भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले इतिहासमै बल्ल पाएको नेतृत्वको अवसर दोहोरिने अवस्था दूर–दूर हुँदै जाने सम्भावना देखिँदैछ । यस्तै हरकत र गतिविधिले कांग्रेसका लागि नगरप्रमुख पद नै ‘न भूतो न भविष्य’ हुने सम्भावना भने प्रबल बन्दै गएको छ ।

कान खोलेर सुने हुन्छ, रेडक्रस कसैको बपौति होइन, न त नगरपालिका नै आफ्नो जिम्दारी वा बिर्ता हो । त्यहाँ हुने गरेका हरेक गतिविधिलाई सचेत भद्रपुरबासीले नजिकबाट नियालिरहेका छन् । शक्ति र सत्ताको आडमा आँखामा पट्टी बाँधेर ‘आफूले गरेको निर्णय ठीक, अरूको बेठीक’भन्दा आफूलाई पार्टीको मसिहा ठान्नेहरूको अहम्–तुष्टि त होला; तर, पार्टीलाई क्रमशः क्षति भइरहेको छ । नगरपालिका र त्यस अन्तर्गतका शाखा निकायहरूमा के–के खेलोफड्को हुन्छ र कागज मिलाएर के–कस्ता चलखेल हुने गरेका छन्– त्यसमा पर्दा हालेर नगरबासीलाई छलिएको छ भन्ने भ्रम नपाले हुन्छ ।

अनुरोध, आग्रह गर्दा नलागेपछि त्यसको रिस पोख्ने उपयुक्त ठाउँ मतदान नै हो । त्यो भर्खरै सम्पन्न रेडक्रस उपशाखाको निर्वाचनले देखाएको छ, बेलैमा चेतना जाग्नु पर्छ– जिम्दार साहबहरूमा ! अझै बढी बुझ्न परे रेडक्रसका सभापतिले आफ्नो पकडका मान्छेसँग दलीय हाउगुजी देखाएर खुलेआम भोट मागेको दृष्टान्तले रेडक्रसका सात सिद्धान्तप्रति झापा जिल्ला रेडक्रस कति इमानदार छ भन्ने प्रष्ट पार्छ । झापा रेडक्रस सिण्डिकेटबाट चल्छ र त्यस बाहेकका मान्छे सिण्डिकेटवालालाई मान्य हुँदैन ।

जे होस्, रेडक्रसको यो पछिल्लो निर्वाचनले एउटा बाटो देखाएको छ । कमजोरीहरू कहाँबाट शुरू भयो र के–के रहे भनेर आपसमा बिना अहम् मन्थन नगरेर पार्टीका कार्यक्रममा साइकल, मोटरसाइकल र गाडीहरूमा चारतारे झण्डा फहराएर सेल्फी र टिकटकमा झुम्मिने जमात देखेर पार्टी बलियो छ भन्ने अथवा बिना कुनै निर्णय हामीले जे बोल्यौं, त्यो नै पार्टीको निर्णय हो र सबैले मान्नुपर्छ भन्ने जबर्जस्तीलाई अबका कार्यकर्ता स्वीकार्न बाध्य छैनन् भन्ने सन्देश रेडक्रस निर्वाचनले दिएको छ । मतदातामा स्वतन्त्र चेत र विवेक पलाएको यो एउटा ज्वलन्त उदाहरण हो । रेडक्रस भद्रपुरको निर्वाचन र यसको परिणामले नगरप्रमुख विवादमा परेका छन् भने नेता कृष्णप्रसाद सिटौला पनि त्यसैमा तानिएको किन नमान्ने ?

जिल्लाको त थाहा छैन । तर, भद्रपुर र यस दक्षिण क्षेत्रको संसदीय क्षेत्र नम्बर ३ मा हुने कांग्रेसका हरेक गतिविधि र निर्णयसँग नेता सिटौलाको नाम जोडिन्छ । भूइँमान्छेहरूलाई थाहा हुँदैन, साँच्चै उहाँ संलग्न भएकै कारणले नाम जोडिएको हो कि केबल आरोप मात्रै हो भनेर खुट्याउन र त्यसलाई चिर्नेगरीको कदम चाल्न भद्रपुरका माथवर कांग्रेसजनले सकेका छैनन् । हरेक घटनामा कृष्णप्रसाद सिटौला जोडिएको– जोडाइएको विषय आरोप होइन, सत्य हो भने पार्टीलाई नराम्ररी धक्का लागेको कुरामा दुईमत छैन । तर, पार्र्टीको स्थानीय नेतृत्वले नबुझ्दाको परिणाम दुष्कर बन्दै गएको छ । यसले नेता सिटौलाको छविलाई कालो र उचाइलाई होच्याउँदै छ । उहाँको प्रतिष्ठालाई गिराए मात्रै आफ्नो भविष्य उज्ज्वल देखेका हुन् भने त्यसको दुष्प्रभाव पार्र्टीलाई भइरहेको छ । यो राम्रो लक्षण होइन ।

व्यक्ति आउँछन्, जान्छन् । तर, पार्टी कालान्तरसम्म रहन्छ । पार्टी प्रभावशाली हुँदाहुँदै पनि असल पात्र चयन गर्न सकिएन भने त्यसको परिणाम नराम्रो हुन सक्छ । भद्रपुर रेडक्रसको निर्वाचन त्यस्तो पनि होइन । नेतृत्वका लागि आ–आफै लडेर पनि आफ्नै भागमा नेतृत्व आएको छ । अर्थात्, घ्यू कहाँ पोखियो– आफ्नै भागमा भएको छ । अझ उम्मेदवारी चयनमा बुद्धि पुगेको भए अहम् छोडेर अर्थात् ‘उपयुक्त पात्र–उपयुक्त स्थान’ भनेर उपयुक्त पात्र चयन गर्न सकेको भए परिणाम गज्जब हुन्थ्यो र त्यसको सन्देश जनस्तरमा पनि राम्रो जान्थ्यो । निर्विवाद र पार्टीका लागि थप ऊर्जा हुने थियो । क्षति व्यहोर्नुपर्ने थिएन ।

जिल्ला कांग्रेस संस्थापन पक्ष, जसले पार्टीलाई आफ्नो गोजीको ठानेका छन् । रेडक्रसको निर्वाचनमा उनीहरूले उम्मेदवार बनाएको मान्छे उपयुक्त भएनन् । हो, उनी पार्र्टीमा आवश्यक छन् भने उनको सीप र क्षमतालाई दुरुपयोग गरेर पदीय हैसियतविहीन अनेक रैंदालोको पात्र बनाएर बखेडा माथि बखेडा र अनेक चर्चाको पात्र किन बनाइन्छ ? के उनले पाउने र पाएको सही ठाउँ त्यही हो ? या रेडक्रस उपशाखाको नेतृत्व नै उनको लागि उपयुक्त पद थियो कि सिण्डिकेटमा संलग्न गराइएका एक पात्रलाई शिखण्डीका रूपमा उभ्याइएको मात्र थियो ?– यो कुरो बेलैमा मतदाताले बुझेको हो ।

कांग्रेसले राजनेता त पाएन–पाएन, उपयुक्त पार्टी नेतृत्व पनि पाएन । कांग्रेस पार्टीमा गुट नेता छन् र अब उनीहरू उपगुट नेतामा सीमित बन्दैछन् । यस्तो भएपछि पार्टी सही मार्गमा कसरी जान्छ ? गलत बाटोमा जाने क्रम शुरू भएको पार्टीलाई सही बाटोमा ल्याउने कसले ? सही ठाउँमा ल्याउन त पहिला आफूहरू सही बाटोमा हुनु पथ्र्यो, त्यो कांग्रेस संस्थापनमा देखिँदैन । जसले छाडापन बढाएको छ र त्यसले अन्ततः पार्टी कमजोर बन्दैछ । हुन त पार्टीभन्दा पैसा ठूलो, राम्राभन्दा हाम्रा, सिण्डिकेट र अहम्को मदले मात्तिएकाहरूलाई यी कुराले छुँदैन । उनीहरू आफूमा केही कमजोरी छ कि भनेर पछि हेर्दैनन् । बरू विजयी पक्षलाई उल्टै खेदो खन्दा क्षति उनीहरूलाई नै हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here