चारआली।
त्रिदेव बहुमुखी क्याम्पस प्रमुखमा गोपीकृष्ण भट्टराई नियुक्त हुनुभएको छ ।
क्याम्पस सञ्चालक समितिको बैठकले भट्टराईलाई माघ ६ गतेदेखि जिम्मेवारी सम्हाल्ने गरी क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । लामो समयदेखि शिक्षण पेशामा आवद्ध भट्टराई त्रिदेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
पिता स्वर्गीय मनप्रसाद र माता स्वर्गीय गोमादेवीका कान्छा सुपुत्रका रूपमा २०२३ सालमा जन्मनुभएका भट्टराईको बाल्यकालको आफ्नै संघर्षमय रहेको छ।
आफू छ महिनाको हुँदा बुबाले छोडेर जानुभयो । विकट पहाडी ठाउँ, २२ वर्षको उमेरमा एकल हुनुभएकी आमा र फुपू दिदीहरूले मिलेर टुहुरा छोराछोरी र भदाभदैलाई हुर्काउनुभयो । आफ्नै संघर्ष र दुःखले पढ्दै पाँचथरको सुवाङ विद्यालय, इलामको महेन्द्र बहुमुखी क्याम्पसबाट आई एड तह र काठमाडौँ कीर्तिपुरबाट स्नातकोत्तर तहको अध्ययन पुरा गर्नुभएका भट्टराईले २०४७ साल माघदेखि कीर्तिपुरको बाघभैरव इङ्लिस बोर्डिङ स्कुलबाट शिक्षण पेशा सुरु गर्नुभएको थियो ।
विसं २०५६ सालदेखि ६१ सालसम्म इलामको महेन्द्ररत्न क्याम्पसमा समेत शिक्षण गर्नुभएका भट्टराईले आफ्नो व्यवहारिक कारणले झापा बसाई सरेसँगै इलाम क्याम्पसको जागिर छोडेर माध्यमिक तहको शिक्षक र कन्काई माविको प्रध्यानाध्यापकको जिम्मेवारी र अनुभव समेत प्राप्त गर्नुभएको छ ।
विसं २०६५ सालदेखि १२ बर्षसम्म कन्काई बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको शिक्षण अनुभव प्राप्त गर्नुभएका भट्टराई त्रिदेव बहुमुखी क्याम्पसका संस्थापक शिक्षक र दाता पनि हुनुहुन्छ।