युवा लक्षित कार्यक्रम र समृद्धि

0
15

नेपाललाई कृषि प्रधान देश भनिन्छ, तर अहिले खाद्य वस्तुमा परनिर्भरता बढेर गएको छ । कृषि कर्ममा लाग्नेहरुको निम्न आर्थिक अवस्था र शिक्षामा पहुँच सुलभ नहुँदा बसाइँसराइको क्रम बढेको छ । ग्रामीण क्षेत्रमा सरकारले शिक्षा, रोजगारीको व्यवस्था गर्न नसक्दा र जनताको चाहना अनुसारको पूर्वाधार निर्माण र सेवासुविधा प्रवाह गर्न नसक्दा गाउँ रित्तिने क्रम बढेको विश्लेषण गरिँदैछ । यसकै कारण हाम्रा हिमाली तथा पहाडी क्षेत्र मात्र होइन समथर तराईका फाँटहरुमा उत्पादनशील क्षेत्र बाँझिन थालेका छन् । बसाइँसराइको तीब्रताका कारण बजार तथा शहरी क्षेत्रमा जनघनत्व बढ्दै जाँदा त्यस वरिपरिका उर्वर जमिन पनि कंक्रिटको जंगलले ढाकिँदैछन् ।

प्रत्येक दिन रोजगारी र आर्थिक उन्नतिको सपना बोकेर विदेशिने युवाका कारण खेतीयोग्य जमिन बाँझो हुन थालेकाले परनिर्भरता कम हुने अवस्था छैन । पछिल्लो पाँच वर्षकै तथ्यांकले पनि हाम्रो निर्यातको मात्रा क्रमशः घटिरहेको देखाएको छ । कूल गार्हस्थ उत्पादन पैंतीस प्रतिशतबाट घटेर पच्चीस प्रतिशतमा झरेको तथ्यांकले पनि कृषि क्षेत्रप्रतिको विकर्षणको अवस्था देखाएको छ । यसले हामीलाई परनिर्भरतातर्फ उन्मुख भएको प्रमाणित गरेको छ । यद्यपि हाम्रो भौगोलिक अवस्थाका कारण कृषिजन्य वस्तुको उत्पादनबाट मात्रै हामी आत्मनिर्भर बन्न सक्छौं कि विगतमा त्यही अवस्था थियो र अझै पनि कृषिमा आधुनिक प्रणालीको विकास, प्रयोग, लगानी र त्यसतर्फ युवालाई आकर्षित गर्ने वातावरण बनाउन सके युवा पलायन रोक्न र निर्यात वृद्धि गर्न सकिन्छ ।

सरकारले नै वैदेशिक रोजगारलाई खुला गरेपछि परम्परागत कृषि कर्म छाडेर विदेशिने युवाहरुको संख्या बढ्दै गएको हो । अझै पनि सरकारले यसले पार्ने दीर्घकालीन असरलाई मूल्यांकन गर्न नसक्ने हो भने रेमिट्यान्सले आयातित खाद्यान्न तथा अन्य उपभोग्य वस्तु किनेर खाँदैमा हाम्रो जीवन गति समाप्त हुन्छ । यद्यपि सरकारले अहिले कृषिमा आधुनिकता ल्याउन अनुदानदेखि प्रविधि र बजारीकरणको आकर्षण देखाउन थालेको छ । तर, त्यस्तो सेवासुविधा गैर कृषि क्षेत्रका र टाठाबाडाले मात्रै पाउने गरेको आरोप लाग्दैछ । यस्तोमा भोजपुर लगायत केही जिल्लाका युवाहरु वैदेशिक रोजगारी त्यागेर कृषि कर्ममा लागेको समाचार प्रकाशित हुन थालेका छन् । विदेशमा सिकेको सिप र ज्ञान यहीँको माटोमा उपयोग गर्न चाहने युवालाई प्रोत्साहनमूलक कार्यक्रममार्फत सहयोग गरिँदा कतिपय युवा कृषिबाटै व्यावसायमुखी हुन थालेका हुन् । कृषिमा आधुनिकीकरण, प्राङ्गारिक खेती प्रणाली र त्यसमै जोडेर पशुपन्छी पालन लगायतका कर्मप्रति आकर्षण अझै बढाउनु व्यक्ति, समाज र देशकै लागि दीर्घकालीन लाभको विषय हुन्छ । युवालाई देशमै रोक्न र सुरक्षित तथा समृद्ध नेपाल निर्माणमा समेत योगदान दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here