वर्तमान कानून र बौद्ध दृष्टिकोणमा बालअधिकार

0
38

सार : १८ वर्षभन्दा मुनिका व्यक्तिहरू साना केटाकेटीहरू हुन् । साना केटाकेटीहरूलाई बालबालिका भनिन्छ । बालबालिका उमेरले परिपक्व नभएसम्म बाँच्न पाउने, सुरक्षित हुन पाउने, विकास र सहभागिताको लागि सुनिश्चित हुन पाउने अधिकारलाई बाल अधिकार भनेर बुझ्न सकिन्छ । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, अनुकूल वातावरण आदि बालबालिकाका लागि नैसर्गिक अधिकार हुन् । बालबालिकालाई अभिभावकको रेखदेख चाहिन्छ । बिना भेदभाव बालबालिकाको रेखदेख हुनुपर्छ । बालबालिका देशका भावी निर्माता हुन् । यसकारण उनीहरूको सर्वाङ्गीण विकास आवश्यक छ । यसका लागि अभिभावकको कर्तव्य र राज्यको कानूनी मापदण्डहरू अति जरुरी पर्दछ ।

हालसम्म लागू भएका अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनी प्रावधानहरू बालबालिकाको हितका लागि उपयुक्त छन् । आधुनिक कानूनमा बालबालिकालाई उचित पालनपोषण दिन अभिभावक अनिवार्य गरिएको छ । बौद्ध दृष्टिकोणमा पनि बालबालिकाको अधिकारलाई सुनिश्चित गरिएको देखिन्छ । बौद्ध ग्रन्थ सिंहालोवाद सुत्त र राहुलोवाद सुत्तमा अभिभावकको कर्तव्य र अधिकारका सम्बन्धमा बुद्धका उपदेशलाई उल्लेख गरिएको छ, जुन अहिलेको कानूनी मापदण्डसँग मेल खान्छ । गौतम बुद्धका पञ्चशील शिक्षा समेत आजका हरेक बालबालिकालाई चरित्र निर्माणका लागि उपयुक्त रहेको छ ।

बाल अधिकार :

निक्कै साना उमेरका केटाकेटीहरू बालबालिका हुन् । अधिकार भनेको कानूनी, परम्परागत वा नैतिकरुपमा प्राप्त न्यायोचित हक वा दाबी हो । यसरी बालबालिकालाई राज्यले दिएको एउटा महŒवपूर्ण अधिकारलाई बालअधिकार भनिन्छ । बालबालिका गर्भबाट शुरु हुन्छन् र कलिलो उमेर १४ वर्षसम्म रहन्छ र पछि किशोरावस्था हुँदै प्रौढ हुन्छन् । यो अवधिमा उनीहरूलाई धेरै कुराहरूको आवश्यकता पर्दछ, जुन कुराको अभिभावकले ख्याल गर्न सकिरहेका हँुदैनन् । उनीहरूलाई स्वास्थ्य, पोषण, शिक्षा र अनुकूल वातावरण चाहिन्छ । यी कुराहरू बालबालिकाको लागि नैसर्गिक अधिकार हुन् । मानव जीवनको आधारशिला भनेकै बाल्यावस्था हो ।

बालबालिका आमाको पेटमा हुँदा गर्भमा विकसित हुन आमाले साविकभन्दा थप एक पटक खाना खानुपर्छ । जन्मिसकेपछि मात्र आमाको दूध छ महिनासम्म खुवाउनुपर्छ । बच्चालाई छ महिनादेखि नौ महिनासम्म शक्ति दिने, शरीर वृद्धि गर्ने र रोगबाट बचाउने खानेकुरा खानयोग्य लेदो (अर्धठोस) २५ चियाचम्चा (१२५ मि.लि.) दिनको तीन पटक दिनुपर्छ । नौ महिनादेखि १२ महिनासम्म सोही खाना लेदो भएको २५ चम्चा र एक पटक थप खाजाको रुपमा दिनुपर्छ ।

बच्चालाई १२ महिनादेखि २४ महिनासम्म ५० चम्चा (२५० मि.लि.) दिनको तीन पटक र दुई पटक थप खाजाको रुपमा खान दिनुपर्छ । यसरी गर्भदेखि २४ महिनासम्म बालबालिकाले खान पाउनु उनीहरूको अधिकार हो । यो अवधिमा उनीहरूको भावी जीवनमा हुने दिमागको ८०% विकास भइसकेको हुन्छ । बाल्यकालमा प्राप्त शारीरिक सुस्वास्थ्यले पनि सम्पूर्ण जीवनलाई प्रभाव पारेको हुन्छ । मानव जीवनमा बाल्यकालको स्वास्थ्य सम्बन्धी अवस्था महत्वपूर्ण हुँदाहुँदै पनि प्रायः यो उपेक्षित रहेको पाइन्छ ।

बालबालिकाका लागि शिक्षा पनि उत्तिकै महत्वपूर्ण छ । बाल्यकालमा आर्जित शिक्षा र संस्कारबाट सम्पूर्ण जीवन निर्देशित भएको हुन्छ । त्यसैकारण उनीहरूको सर्वाङ्गीण विकास बिना देश विकासको परिकल्पना गर्नु निर्थक हो । बाल अधिकारबारे समकालीन विषयमा निकै चर्चा गर्ने गरिएको छ । तर, मानव अधिकारको क्षेत्रभित्र बालअधिकारलाई समावेश गर्न धेरै वर्ष लागेको थियो । पश्चिममा औद्योगिक क्रान्तिको प्रारम्भिक समयमा बालकलाई एउटा सम्पत्तिको रुपमा लिइन्थ्यो । बालअधिकारको कुरा गर्दा यसको ऐतिहासिक पृष्ठ भूमिसम्म पुग्नु पर्ने हुन्छ ।

विशेषगरी पहिलो विश्वयुद्धको समयमा भएको गोली, बारुद र विष्फोटक पदार्थले सबैभन्दा बढी अशक्त व्यक्ति र बालबालिकाहरू पीडित भए । सयौं बालबालिकाले ज्यान गुमाउनुप¥यो भने हजारौं अपाङ्ग भए । पहिलो विश्वयुद्धपछि बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि पहलकद्मी हुन थाल्यो । उनीहरूले बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिता हुने अधिकारका लागि बेलायती नागरिक एग्लैनटाइन जेबले बालअधिकार सम्बन्धी अवधारणा शुरु गरेको मान्यता छ । उनले शुरु गरेको अवधारणालाई सन् १९२३ मा ‘बाल बचाऊ अन्तर्राष्ट्रिय युनियन’ले मान्यता प्रदान ग¥यो । सन् १९२४ मा ‘लिग अफ नेशनल’ जेनेभा घोषणापत्रलाई पारित गरी औपचारिक रुपामा मान्यता दिएपश्चात विश्वका बालअधिकार सम्बन्धी अवधारणा शुरु भएको देखिन्छ ।

बालबालिका शारीरिक तथा मानसिक रुपमा वयस्क जस्तो परिपक्व नहुने भएकोले उनीहरूलाई विशेष रुपमा हेरचाह संरक्षण र सुविधाको आवश्यकता पर्ने कुराले सर्वत्र मान्यता पायो । बालबालिकाहरुलाई संरक्षण प्रदान गर्दै बाँच्न पाउने, विकास र सहभागिता हुन पाउने सुविधा राज्यले प्रदान गर्नुपर्छ । यिनै अधिकारहरूलाई बाल अधिकार भनेर परिभाषित गर्न थालिएको हो । सन् १९२४ मा लिग अफ नेशनलले पारित गरेको घोषणापत्रमा बालबालिकालाई चोटबाट मुक्ति र अरु भौतिक आवश्यकताबारे उल्लेख गरेको भएता पनि बालअधिकारलाई मानव अधिकारको रुपमा औपचारिक रुपमा सन् १९४८ को विश्व मानवअधिकार घोषणापत्रले स्वीकार गरेको थियो । बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई महŒवपूर्ण दस्तावेजको रुपमा लिन सकिन्छ ।

यस दस्तावेजले बालबालिकाको अधिकारको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ, जसमा धेरै जसो देशले एकै पटक अनुमोदन गरेका थिए । सन् १९२४ मा जारी गरिएको जेनेभा घोषणापत्र र सन् १९४८ मा पहिलो पटक विश्वव्यापी मानव अधिकार घोषणापत्रमा बालअधिकारको विषयले प्रवेश पाएको हो । सन् १९८९ मा बालअधिकार संलग्न गरी १० बुँदे बालअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रले सबैको ध्यान खिचेको हो । सन् १९८९ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय बालअधिकार वर्ष मनाउने घोषणा ग¥यो । सन् १९९० मा बालबालिका सम्बन्धी सम्पन्न भएको विश्वशिखर सम्मेलनले सदस्य राष्ट्रहरूलाई यस सम्बन्धी राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न जोड दियो ।

वर्तमान मापदण्ड :

सन् १९८९ नोभेम्बर २० मा बालबालिकाको हक र अधिकार सुनिश्चित गर्नका लागि संयुक्त राष्ट्रसंघद्वारा पारित राज्य–राज्यहरू बीचको एक साझा सम्झौता–पत्र बालअधिकार महासन्धी हो । संसारको जुनसुकै स्थानमा जन्मिएको, हुर्किएको भए पनि बालबालिकाले आधारभूत आवश्यकताबाट वञ्चित हुनु नपरोस् भन्ने यो महासन्धीको आधारभूत सिद्धान्त हो । उनीहरूले माया, ममता, संरक्षण, स्वास्थ्य, शिक्षा, पोषण र मनोरंजन पाउनुपर्छ । भावी सन्तानको भविष्य निर्माण गर्न यो महासन्धीको महत्वपूर्ण भूमिका छ । यो महासन्धीको अनुमोदन गर्ने राष्ट्रका लागि यो अन्तर्राष्ट्रिय कानून हो । यसको पालना गर्नु राष्ट्रको दायित्व हो । बालअधिकार सम्बन्धी महासन्धीका आधारभूत चार सिद्धान्तहरू छन्ः

– भेदभावरहित बाँच्न पाउने अधिकार ।
– बालबालिकाको सर्वोत्तम हितका लागि सुरक्षा ।
– दीर्घजीवन र विकास ।
– सहभागिताको रुपमा विचार र भावनाको कदर ।

नेपालमा बालअधिकारको संरक्षणका लागि विभिन्न कानूनी व्यवस्थाहरू छन् । ती मध्ये केही प्रमुख रुपमा उल्लेख गर्न उपयुक्त देखिन्छ :
नेपालको संविधान २०७२ : यस संविधानको धारा ३९ मा बालबालिका सम्बन्धी मौलिक हकको रुपमा विशेष अधिकारहरूको व्यवस्था गरिएको छ ।
बालअधिकार ऐन २०७५ : यस ऐनमा बालश्रम, बालहिंसा, शोषण तथा बाल दुव्र्यवहारबिरुद्ध कडा कानूनी प्रावधान रहेको छ ।
निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ : हरेक बालबालिकाले अनिवार्यरुपमा गुणस्तरीय शिक्षामा पहुँच पाउने व्यवस्था गरिएको छ ।
बालश्रम निषेध तथा नियन्त्रण सम्बन्धी ऐन २०५६ : १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउन नपाइने कानूनी व्यवस्था छ ।

बौद्ध दृष्टिकोण :

बौद्ध दृष्टिकोणको सन्दर्भमा चर्चा गर्नुपर्दा गौतम बुद्धका पुत्र राहुलको बालअधिकारलाई यस लेखमा केन्द्रित गर्न उपयुक्त हुन्छ । राहुल बुद्धका एकमात्र छोरा थिए, उनी सिद्धार्थ गौतमले गृह त्याग गर्ने बेला जन्मेका थिए । आमा यशोधाराले राहुललाई एकल अभिभावकत्वमा हुर्काउनु भयो, यो अवस्थालाई आजको सन्दर्भमा एकल आमाहरूले सामना गर्ने चुनौतीसँग तुलना गर्न सकिन्छ । बाल अधिकारको नजरमा राहुलको जीवन शुरुमा पारिवारिक माया, ममता प्राप्त गर्ने भए पनि पिताको साथबाट वञ्चित थिए । गौतम बुद्धले राहुलको बालअधिकारलाई हनन् गरेको भने पक्कै होइन ।

छ वर्षसम्म सिद्धार्थ गौतमले राहुल लगायत सबै प्राणीको दुःख मुक्तिको लागि नै ठूलो प्रयास गर्न घर छोड्नु भएको थियो । अन्ततः दुःख मुक्तिको मार्ग पत्ता लगाउनु भयो । बुद्धले यो मार्गको ज्ञान उपदेश राहुलको सात वर्षको उमेरमा राहुललाई पनि प्रदान गर्नुभयो जुन आफ्ना सन्तानलाई एक अभिभावकले पूरा गर्ने कर्तव्य थियो । एक अभिभावकबाट एक सन्तानले पाउनुपर्ने अंशको रुपमा बुद्धले राहुललाई बुद्ध ज्ञानबाट दीक्षित बनाउनु भयो अर्थात् राहुल भिक्षु बने । यो अंश लिन राहुलका माता यशोधाराको सहमति पनि थियो । थेरावाद बौद्ध ग्रन्थ अन्तर्गत सुत्तपिटक भित्र पर्ने मज्झिम निकायको भाग ६२औं सुत्तको रुपमा राहुलोवाद सुत्त उल्लेख छ । जसमा मुख्य शिक्षाको रुपमा बुद्धले राहुललाई चार महाभूत पृथ्वी, जल, अग्नी र वायुको विशेषता सिकाउँदै आत्मसंयम र ध्यान अभ्यासको महत्व बताउनुभएको छ ।

पृथ्वी जस्तो दृढ बन– अपमान र प्रशंसामा समान रहनु । जल जस्तो स्वच्छ बन– रिस र घृणालाई मनबाट बगाई दिनु । अग्नि जस्तै परिवर्तनशील बन– दुःख र बाधालाई जलाई दिनु । वायु जस्तै स्वतन्त्र बन– लोभ र मोहलाई उडाई दिनु भन्ने उपदेशहरू अभिभावकको हैसियतले बालक बुद्धले राहुललाई यी चार तत्वहरूको गुणधर्म अपनाउन सुझाव दिनुभएको थियो । बुद्धका यी उपदेशहरू राहुलका लागि मात्र होइन, आजका सबै बालबालिकाहरूका लागि उपयुक्त रहेको छ । बुद्धका उपदेशहरू थेरावाद ग्रन्थको सुत्तपिटक अन्तर्गत दीघ निकायभित्र पर्ने ३१औं सुत्तमा सिंहालोवाद सुत्त उल्लेख छ ।
यस सुत्तमा सामाजिक र पारिवारिक सम्बन्धहरूको व्यवस्थापनबारे उपदेश छ । यसमा अभिभावकले आफ्ना सन्तानलाई प्रदान गर्नुपर्ने पाँच प्रमुख कर्तव्यहरू उल्लेख छन् । जुन आधुनिक अधिकारका मापदण्डसँग समान छन् । सन्तानलाई राम्रो संस्कार दिनु, सन्तानलाई शिक्षा दिनु, सन्तानलाई राम्रो साथीचक्र बनाउने वातावरण तयार गर्नु र सन्तानलाई उचित सम्पत्ति वा उत्तराधिकार दिनु भन्ने जस्ता शिक्षा र उपदेश छन् । बुद्धकालीन यी मान्यताहरू आजको बालअधिकारका क्षेत्रमा समेटिन सकेको देखिन्छ ।

बालबालिकालाई उचित पालनपोषण दिन अभिभावक कानूनीरुपमा बाध्य हुने संरक्षण ऐनसँग बुद्धले दिनुभएको माथिका पाँच कर्तव्यबारेको उपदेश मेल खान्छ भने बालबालिकाले न्युनतम् शिक्षा प्राप्त गर्नुपर्छ भन्ने कुरा बालश्रम ऐन २०५६ र निःशुल्क र अनिवार्य शिक्षा ऐन २०७५ सित बुद्धले राहुललाई दिनुभएको सत्य, संयम र करुणाको शिक्षासित मेल खाएको देखिन्छ । बुद्धका पञ्चशील सिद्धान्त प्राणीको हत्या नगर्नु, झुठो नबोल्नु, मादक पदार्थ सेवन नगर्नु, व्यविचार नगर्नु, चोरी नगर्नु जस्ता उपदेशले पनि आजका बालबालिकाहरूको चरित्र निर्माणमा महŒवपूर्ण सहयोग मिल्न सक्छ । यसरी बौद्ध दृष्टिकोणमा बालबालिकाको हक अधिकार संरक्षण र आजको आधुनिक कानूनी मापदण्डहरू समान रहेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here