नेपालको पूर्वी सीमाना झापाको बाहुनण्डाँगीबाट शुरु भई पश्चिमको जोगबुढा उपत्यकाको रुपाललाई जोड्ने चुलाचुली चुरे राजमार्ग निर्माणधीन अवस्थामा छ । मेची नदीदेखि शुरु भएर दुन उपत्यकाभित्र मधेस छिचोल्दै पश्चिम सीमा महाकाली नदीसम्मको करिब एक हजार दुई सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग पनि भनिने यसको स्वीकृति वि.सं. २०७५ जेठ ६ गते भएको थियो । झापाबाट प्रारम्भ भएको यो राजमार्गले धरान, गाईघाट, सिन्धुलीमाडी, हैटौंडा, गैंडाकोट, शिमलटारी, प्युठान, घोराही, सुर्खेत, वीपीनगरलाई समेत जोड्ने छ । चार खण्डमा विभाजन गरी निर्माण भइरहेको यो राजमार्गको पूर्वी खण्डमै सडक क्षेत्रमा पर्ने रुख नकाटिएका कारण निर्माणले गति लिन सकेको छैन ।
नेपाल र नेपालीको भाग्यरेखा भनिएको पूर्व–पश्चिम महेन्द्र राजमार्गको भार कम गर्न बनाउन थालेका अन्य राजमार्गहरु जस्तै निर्माणकै चरणमा छन् । अहिलेसम्म त्यसकारण पनि महेन्द्र राजमार्ग नै पूर्व र पश्चिमलाई जोड्ने एकमात्र राजमार्गका रुपमा छ र यसलाई नै राष्ट्रिय राजमार्ग भनिँदै आइएको छ । महेन्द्र राजमार्गदेखि करिब दश किलोमिटर उत्तरतर्फ बनाइँदै गरेको मदन भण्डारी राजमार्गको पूर्वी उद्गम स्थल इलाम, झापा र भारतको मिलन स्थल हो । यसको पूर्वी खण्डमा पर्ने सैंतीस वटा पुल बनिसकेका छन् भने यस क्षेत्रमा पर्ने करिब साढे चौबीस किलोमिटर वन क्षेत्र रहेको छ । उक्त क्षेत्रको एकाउन्न हेक्टरमा पर्ने करिब चौध सय रुख कटान गर्नुपर्नेछ । जसका लागि मन्त्रि परिषद् र वन विभागले अनुमति दिनुपर्नेछ । त्यसमध्ये पनि झापा र इलाममै पर्ने सोह्र हेक्टर वनबाट छ हजारभन्दा बढी रुख कटान गर्नुपर्नेछ र त्यसको प्रक्रिया जारी रहेको छ ।
पूर्वी खण्डमा राजमार्गको एकचालीस किमिभन्दा बढी सडक कालोपत्रे भइसकेको छ । वन विभागबाट रुख कटान अनुमति नपाउँदा निर्माणले गति लिन नसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताएका छन् । भोगाधिकार तथा रुख कटानको फाइल वन तथा भू–संरक्षण विभागबाट वन तथा वातावरण मन्त्रालयमा पेश हुने प्रक्रियामा रहेकाले अनुमति प्राप्त भएपछि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ । उता धरानदेखि हेटौंडासम्मको तीन सय किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । यो राजमार्गको निर्माण सम्पन्नताले चुरे क्षेत्रको मात्र होइन आसपासको जीवन पनि चलायमान र सहज बनाउने अपेक्षा गरिएको छ । यसले राजधानी काठमाडौं र पश्चिम नेपालको आवागमनमा पनि सहज हुनेछ । यसकारण पनि सरकारले यस्ता गौरवका आयोजनामा आइपर्ने अवरोध हटाउन र द्रूतगतिमा निर्माण सम्पन्न गर्न अग्रसरता देखाउनुपर्छ ।