जीवन रुपान्तरणको प्राथमिक शर्त ‘भोजनमा परिवर्तन’

0
48

श्री स्वामी आनन्द हरि (विपुुल सापकोटा)

मानव प्रजातिमा चेतनाको जति गहिराईमा विकास भयो सो अनुपातमा समकालिन कुनै पनि प्राणीको उन्नत चेतना बन्न सकेन । त्यति मात्र नभएर चेतनाको विकासक्रममा मानव जातिलाई प्रतिस्पर्धा दिन करिब असम्भव नै छ भने पनि गलत सावित नहोला । तर, यस किसिमको विवेकयुक्त मानिस पनि जीवनको अति व्यर्थ विषयवस्तु प्रति समेत मुक्त बन्न नसक्नुुले सो चेतना अब जड बन्दैछ । यही जड चेतनाको एउटा उदाहरण विषयुक्त भोजनप्रतिको स्वीकार्यता हो । यो लेखमा म बिषयुक्त भोजन के–के हुन र कस्तो असर शरीरमा देखा पर्छ भन्ने विषयमा ब्याख्या गर्दिन । किनकि यस प्रकारको ज्ञान त एउटा सानो बालकमा समेत हुन्छ ।

म त्यो कारणको विषय उत्थान गर्छु, जसमा हामीलाई हानिकारक खानपिनका सामग्रीहरू के–के हुन र कस्तो असर पार्छ भन्ने पूर्ण ज्ञान हुँदा समेत दैनिकरूपमा निरन्तरता दिइरहेका छौं । छोड्नका लागि दैनिक प्रयत्न गर्दा समेत आदतबाट मुक्त हुन सकिरहेका छैनौं । यदि शरीरका लागि हानिकारक खाद्यवस्तुको आदत सो को ज्ञानबाट छुट्ने हो भने मैले यस्ता धेरै चिकित्सा क्षेत्रका विद्यार्थी र डाक्टरहरू देखेको छुु जो चाउमिनमा सस लगाएर खान्छन्, सडकपेटीमा तलेका पकौडा खान्छन् । के उनीहरुलाई यसबाट मेरो शरीर अस्वस्थ हुन्छ भन्ने थाहा छैन होला त ? यो त असम्भव कुरा हो । उनीहरुको सम्पूर्ण शिक्षा नै यहि विषयवस्तुमा आधारित छ । यही प्रसंगबाट स्पष्ट हुन आवश्यक छ कि शिक्षा र ज्ञानद्वारा आदतबाट मुक्त हुन असम्भव छ ।

यस लेखमा ज्ञान र शिक्षाभन्दा धेरै ठूलो उचाईमा रहेको सार्थक तत्वको चर्चा गरिएको छ, जसलाई बोध भनिन्छ । हामीले जीवनको हरेक खराब आदतको छुटकारा बोधबाट प्राप्त गर्न सक्नेछौं । प्रायः हामी सबैले जीवनमा समय समयमा प्रण लिने गर्दछौं की म अबको दिनहरूमा तलेको, प्याकिङ गरिएको र खराब प्रशोधन गरिएका खाद्य सामग्री त्याग्छुु भनेर तर केही हप्ता समेत बित्न नपाई पुरानै आदतमा फर्किन्छौं । यसको कारण के होला ? यसको एकमात्र कारण हामी आफूमा भएको ज्ञानबाट मुक्त बन्ने प्रयास गर्छौं । यदि ज्ञानबाट हामी मुक्त बन्न सक्थ्यौं भने त खराब र हानिकारक भोजन यी–यी हुन भनेर ५–७ वर्षको उमेरमा नै विद्यालयमा शिक्षा दिइएको थियो त्यही समयबाट चाहिँ किन मुक्त हुन सकिएन त ?

अरुको देखासिखी र जबरजस्ती मनको इच्छालाई दबाएर त्याग गरिएको खानेकुराको प्रभाव हाम्रो चेतनाको कुनै हिस्सामा कायम नै रहन्छ र जुन समय हाम्रो आत्माबलले त्यो इच्छामाथि अतिक्रमण गर्न असमर्थ हुन्छ । सोही समय त्यो आदत फर्किएर आउनेछ र पहिलेको भन्दा अझ विकृत र भयाभह अवस्था सृजना गर्नेछ । यो दमित चित्तको नियम नै हो । रुपान्तरण योग्य जीवनका लागि केबल भोजन प्रतिको जागरुकता मात्र काफी छैन, तर भोजनको परिवर्तन बिना छलाङ्, सम्भव पनि छैन । उचित भोजनको प्रयोग जीवनलाई परिवर्तनको इच्छा राख्नेहरूका लागि प्राथामिक खुड्किला हो ।

हामी दैनिक जीवनमा जति पनि खानपिनका सामग्री उपभोग गर्छौं ती सबै आवश्यक नै हुन त ? खान त हामी बिष पनि सक्छौं । किनकि ग्रहण गर्दाको समय त शरीरको कुनै अस्वीकृति रहँदैन । शरीरको यही स्वीकारभावको कारण हामी दिनप्रतिदिन शरीरप्रति अन्याय गरिरहेका छौं । हामी सबैलाई खानेकुराको नकारात्मक पक्ष थाहा हँुदा समेत मनको विवशताको कारण छोड्न सकिरहेका छैनौं । मनले जे इच्छा गर्छ त्यही खाद्यको परिपूर्ति गरेर मनलाई शान्त बनाउँछौं । के यो इच्छा र पूर्तिको शृंखलामा दोष मन को नै हो त ? मनको त कुनै दोष हुन असम्भव छ । किनकि जबसम्म पिज्जा के हो भन्ने कुरा मनलाई थाहा थिएन भने परिचय गराउने कार्य त हामीबाट नै भएको थियो । मनले कहिले पनि भनेको थिएन बजारमा नयाँ खाद्यवस्तु पिज्जा निस्किएको छ मलाई परिचय गराउ भनेर । परिचयसम्ममा पनि हाम्रो भूल थिएन, तर परिचय जब आदत बन्यो समस्या त्यहीबाट शुरु भयो । आवश्यक कुरा चाहिँ भोजन प्रतिको मनमा आकर्षण हामीले उत्पन्न गरेका हौं भने विकर्षण पनि एक अर्थमा उत्पन्न गराउन सक्छौं ।

हामीलाई ती व्यर्थका विषालु भोजनहरूको आदत परिसकेको छ । गहिराइमा विश्लेषण गर्ने हो भने यो आदत र लागूऔषधको आदतबीच कुनै ठूलो भेद छैन । फरक यतिमात्र हो कि लागूऔषध कानूनबाट निषेधित छ र भोजन छैन । आदत जस्तोसुकै कुराहरूको भएता पनि यसको गुणधर्म एकै किसिमको हुन्छ । जब इच्छा गरिएको वस्तु प्राप्त हुँदैन तब शरीरले फरक प्रतिक्रिया दिन शुरु गर्छ । हामीले शरीरलाई आदत लगाएको हानिकारक भोजनको बिज अब वृक्षमा परिणत भएको छ । जब बिज अवस्थामा थियो त्यही समय व्यर्थता महशुस भएको भए भ्रुणलाई नष्ट गर्न सकिन्थ्यो । तर, वृक्षलाई तोड्न केही कठिन अवश्य छ, तर असम्भव छैन ।

केही होसपूर्ण कदमको आवश्यकता छ । बानी परेको भोजनको आदतलाई तत्काल परिवर्तन गर्ने चेष्टा गरिन्छ भने यसमा विकर्षणको नियम लागू हुन्छ र बखनु पर्ने कुरा के छ भने विकर्षण केबल आकर्षणको फरक धार मात्र हो । आकर्षण र विकर्षणलाई मनले एकै भावले स्वीकार गर्छ । यही वेहोसी कदम बात नै मानिस मुक्त बन्न सक्दैन र आदतहरूमा अल्झी रहन्छ । अब यस किसिमको परिधिमा मात्र रहेर आदतबाट मुक्त हुन असम्भव छ । केन्द्रमा प्रवेश गर्न आवश्यक छ र केन्द्र त्यही मन हो, जसले आदतलाई कसेर पकडिएको छ । केन्द्रमा प्रवेश गरेर जाग्नुु नै बोध हो । शरीर सबैभन्दा उपयोगी यन्त्र भएको कारण यो एकपटक अस्वस्थ भयो भने पुरानो अवस्थामा फर्कन कठिन छ ।

हामी मोटरसाइलमा पेट्रोल हाल्छौं, तर मोटरसाइकल त डिजलबाट पनि गति लिन सक्छ, तर गति कहिले र कहाँसम्म लिन्छ भन्ने निश्चित गर्न सकिन्न । खानाको सन्दर्भमा पनि यही नियम लागू हुन्छ । मनप्रतिको बोधमा उत्रनका लागि कुनै प्राणायम र शिरशासन आवश्यक छैन । परमात्मासँग गरिने भाकल र बाचा समत दमित भावबाट प्रेरित भएकाले व्यर्थ छ । यसका लागि केबल– ‘म बुद्धिमा सर्वश्रेष्ठ रचना हो, म भनको गुलाम होइन यसका सम्पूर्ण इच्छाहरूलाई परिपूर्ति गर्ने ठेक्का पनि मेरो होइन म सँग पूर्ण समझदारिता छ की यी विषयुक्त भोजनले मेरो उपयोगी यन्त्र शरीरलाई रुग्ण र विकृत बनाएको छ र म सँग स्वस्थ र उपयोगी खाद्यवस्तु प्रशस्त छन् । जसबाट मेरो भोजनको इच्छापूर्ति साथै स्वस्थ शरीर प्राप्त गर्छौ ।’ केबल यति समझदारिता एउटा स्वस्थ मष्तिस्क भएको व्यक्तिको रुपान्तरणका लागि पर्याप्त छ ।

यो बोधपूर्ण प्रयत्न हो जसबाट इच्छालाई दबाउनुको सट्टा मनलाई फुस्लाएर अतिक्रमण गरिन्छ । जसरी इन्द्रीयको अतिक्रमण मनले गरेको थियो, सोही अनुरूप मनको अतिक्रमण अब विवेक वा बुद्धीबाट गरिन्छ । जब हामी दबाब र अतिक्रमणबीचको फरक बुझ्छौं तब मात्र आदतबाट मुक्त बन्न सकिन्छ । भोजनप्रतिको आकर्षण र विकषर्ण दुबै गलत हुन केबल उपेक्षा वा गैरआवश्यकता मात्र सार्थक बन्न सक्छ । मनलाई नियन्त्रण गर्ने हाम्रो विवेक मात्र समर्थ हुन्छ ।

कतिपय मानिसहरू मांसाहारीको सेवन एक समयबाट पूरा जीवनभरका लागि छोडिदिन्छन् र शरीर त्याग गर्नुभन्दा केही दिन र केही घण्टाअघि तीव्र इच्छा मासांहार खाने गर्छन् र सो पश्चात् मृत्युमा उपलब्ध भएका घटनाहरू छन् । यो दमित चित्तको पराकाष्ठा हो । यो अवस्थामा मांसाहार छोडे पनि त्यसको शेष इच्छा चेतनाको गहिरो तलमा थियो नै नत्र अन्तिम क्षणमा गरिएको त्यस किसिमको इच्छाको प्रयोजन के हो त ? जबरजस्ती इच्छा हुदाँहुँदै खाद्यवस्तुको त्याग गर्नुभन्दा उचित प्रयोग गर्नु नै हुन्छ । किनकि इच्छाले सधैँ माध्यम खोज्छ र जब माध्यम पाउँदैन तब शरीर नपाएको प्रेतआत्मा जस्तै बन्छ । तर, बोधबाट छोडिएका हरेक आदत प्रेरणा बन्छ ।

यदि मानिससँग साच्चै नै सर्वाधिक विवेक छ र सो विवेकबाट मनलाई अधिनमा ल्याउन सक्दैन भने त्यसको मूल्य कौडी समान हुन्छ । तर, यहाँ पनि समस्याको पूर्ण समाधान भइसकेको छैन, मित्रका लागि समेत हामीले हानिकारक भोजन सेवन गर्ने गरेका छांै ताकी मित्रता प्रगाढ बनाउन सकियोस् । यो व्यर्थको पयत्न हो । दुई मित्रहरु जब एकै प्रकृतिको खानेकुरा खानै पर्ने हुुन्छ र त्यहीबाट प्रगाढताको मापन हुन्छ भने त्यो मूल्यहिन मित्रता हो । आफ्नो लागि आफ्नो शरीरभन्दा प्रिय मित्र को छ र ? दुई महरु मन र मित्र माथि जब बौद्धिकता हाबी हुन्छ, तब शरीर र जीवन समान रूपान्तरण हुन सक्छन् ।

विषयुुक्त भोजन के हो ?

शरीरलाई अस्वस्थ बनाउने खाद्यान्न मात्र विषयुक्त भोजन होइन । ती सबै भोजनहरू विषयुक्त हुन्, जसको उपभोग हामी शारीरिक आवश्कताभन्दा अधिक गर्छौं । शरीरलाई जति आवश्यक छ त्यो भन्दा अधिक हामी उत्तमभन्दा उत्तम भोजनको समेत प्रयोग गर्छौं भने त्यो विष नै हो । स्वस्थकर खानेकुरा अधिक खाएर हामी स्वस्थ बन्छौं भन्ने धारणा त्याग्न आवश्यक छ ।
शरीरलाई केबल एउटा निश्चित सीमासम्मको ऊर्जा मात्र आवश्यक छ । अधिक ऊर्जा उत्पन्न भएको अवस्थामा सो ऊर्जाले मार्ग खोज्छ र शारीरिक कसरतबाट बाहिरिन सकेन भने त्यो क्रोध र कामवासनामा परिणत हुन्छ । स्वस्थ बन्नका लागि एउटै कुरा बुझ्न आवश्यक छ की मेरो पाचनतन्त्रले कति न्यून श्रम गरिरहेको छ । त्यसैले भोजन न्यूनतम् र स्वस्थकर दुुबै हुन आवश्यक छ । कतिपय मानिसहरू सञ्जालबाट प्रेरित भएर बिहान ७ बजे, १० बजे, दिउँसो २ बजे, बेलुका ७ बजे र राति १० बजे खाना र खाजा खाने गर्दछन् र आफलाई स्वस्थ र समझदार भएको अनुभव गर्छन् । तर, यो समझदारिता नभएर मूर्खता हो ।

किनकि दिनमा पाँच पटक खाएको खाना पचाउनका लागी शरीर समर्थ छैन । यसबाट पाचन प्रणालीले २४ घण्टा श्रम गर्नपर्ने हुन्छ र विश्रामको मौका उपलब्ध हुँदैन । जो मान्छे दिनको पाँच पटक खाना, खाजा खान्छ ऊ केबल खानाप्रति मात्र आशक्त बन्छ । जब कुनै मानिसको जीवनमा कुनै सूजनशिलता शेष रहँदैन तब सम्पूर्ण रस खानामा केन्द्रीत हुन्छ । खानाप्रतिको आशक्ति भाव जबसम्म जीवनबाट त्याग गरिँदैन तबसम्म छलाङ् असम्भव छ । भोजनको आधारभूत नियम सामाजिक संस्कार र व्यवस्था हो । यसलाई अब शारीरिक व्यवस्थामा रूपान्तरण गर्नु आवश्यक छ । केबल अगाडि थालीमा रहेको भोजन मेरो शरीरको लागि स्वस्थकर छ या छैन भन्ने कुरासँग मात्र जागरूक बन्न सकियो भने आदत परिणत गर्न समर्थ भइन्छ । केबल यही समझदारिता यसको निचोड हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here