केशव भट्टराई
झापा, छिमेकीका बालबालिका जस्तै बाबुको हातको औंला समाएर विद्यालय भर्ना हुने उनको चाहना ६ वर्षको कलिलो उमेरमा दैवले चुडेर लगिदियो ।
नाबालकमै परिवारको बटवृक्ष ढलेपछि आफ्ना दाजु र भाइसँगै उनलाई आमाले जसोतसो विद्यालय भर्ना गरिदिइन् । बाबुको समेत जिम्मेवारीलाई सम्हाल्दै मातृवात्सल्य प्रदान गरिरहेकी आमाको ममता पनि त्यति धेरै लामो समयको रहेनछ ।
१० वर्षको उमेरमै झापा शिवशताक्षीका पदम कुँवर आमाबाट पनि टाडिन पुगे । उनी र उनका दाजुभाइ तीनैजना बेपत्ता भएकी आमाको खोजीमा आज पनि चिन्तित छन् । प्रतिक्षामा छन् आफ्नी जन्मदाताको ।
२०४२ साल आश्विन ३ गते शिव शताक्षीमा जन्मिएका पदम कुँवर भीमबहादुर र यामकुमारीका दोस्रो सन्तान हुन् ।
अभाव र सङ्घर्षसँग पिल्सिदै उनले आफ्नो अध्ययनलाई बाल निकुञ्जमाविबाट अघि बढाए । स्थानीय शिक्षक किरण दाहालको घरमा बसेर उनले पशुपति मावि सुरुङ्गाबाट एसएलसी उत्तीर्ण गरे ।
सानैदेखि पढाइमा अब्बल उनले मेची क्याम्पस भद्रपुरबाट आइएस्सी र दमक बहुमुखी क्याम्पसबाट बिएस्सी पास गरे । यो सफलताका पृष्ठभूमिमा अनेकौं संघर्षका पर्खालहरूलाई उनले छिचोलेका छन् । १० कक्षा पास गरेपछि पढाउँदै पढ्दै गरेका उनले जीवनको सपना बुन्न अनेकौं अप्ठ्याराहरुलाई नजिकबाट भोगेका छन् – नियालेका छन् ।
स्कूल र कलेजमा आफूलाई मेधावी विद्यार्थीका रूपमा परिचित गराएका पदम अतिरिक्त क्रियाकलापमा पनि प्रतिभाशाली थिए ।
आफ्नो अध्ययन सँगसँगै अध्यापनलाई पनि अगालेका उनले केएन के स्पोर्टिङ क्लबको उपाध्यक्ष , कुँवर समाज नेपालको सहसचिव, कैलाश शिखर फाउन्डेसनको सचिव, झापा टोस्ट मास्टर्स क्लबको संस्थापक सदस्यको सामाजिक नेतृत्वलाई कुशलतापूर्वक सम्हालिसकेका छन् ।
आफूभित्रको अन्तर्निहित क्षमतालाई अझ प्रवद्र्धन गर्न व्यक्तित्व र नेतृत्व विकासका लागि पाठशाला कहलिएको जेसीसमा उनी सन् २०१९ मा प्रवेश गरे ।
जसले उनलाई सामाजिक र शैक्षिक नेतृत्वदायी भूमिकाका लागि अझ प्रबल बनाएर लगेको छ ।
हाल मेची अङ्ग्रेजी माविका प्रधानाध्यापक पदम कुँवर जलथलकी अभिना बस्नेतसँग वैवाहिक जीवनमा बाँधिएका छन् । परिवारमा दुई छोरी आरुसी र आरोही अनि एक छोरा आरुन्सजङ्ग हासीखुसी रमाइरहेका छन् ।
विगतका कठिन सङ्घर्षका दिनहरूलाई साधनाको अङ्गका रूपमा स्वीकार्दै आगामी दिनलाई सहज बनाउन प्रेमिल साथ छ पदमलाई यसबेला श्रीमती अभिना र आफ्ना प्यारा सन्तानको ।
मानव जीवन आफू र आफ्ना परिवारका लागि मात्रै होइन , यो समाजका लागि पनि सार्थक बन्न सक्नुपर्दछ भन्ने भावलाई सानैदेखि आत्मसात गरेका पदम कुँवर जेसीज जीवनमा प्रवेश गरेपछि अझ बढी क्रियाशील बनेका छन् ।
फुटबल र नृत्यमा विशेष रुचि राख्ने पदमले जेसीज यात्राका क्रममा क्षमता विकास संयोजक, प्रकरण निर्देशक, उपाध्यक्ष, महासचिव र कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीलाई यसअघि कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
यो यात्रामा धेरैपटक उनले आफ्नो उत्कृष्ट कार्य कौशल देखाएर पदक र पुरस्कार समेत प्राप्त गरेका छन् ।
साधना र संघर्षमा टप्किएका आँसुलाई सफलताको उज्यालो किरणले चुमेर जीवन जिउने कला सिकाउन सक्ने क्षमताका धनी पदम कुँवर विद्यालय प्रशासनको नेतृत्वका अलावा युवा पुस्तालाई उत्प्रेरणात्मक तालिम दिन पनि अभिरुचि राख्छन् यो समयमा ।
कलिलो उमेरबाटै अप्ठ्यारा परिस्थितिले दर्बिलो बन्न सिकाएको यिनै युवा सन् २०२५ का लागि शिवशताक्षी जेसीजको अध्यक्षमा निर्वाचित भएका छन् । जेसीजको यो कार्यकालको प्रारम्भिक घडीमै उनी आफ्नी आमासंग खुशी साट्न चाहन्थे , तर सम्भव भएन । यो कार्यकाल नसकिँदै जन्मदातासंग भेट हुन सकोस् र कार्यकाल स्वर्णीम बनोस् ।