विगत डेढ दशकयता नेपाली समाज सूचना प्रविधिको क्षेत्रमा धेरै हदसम्म जानकार र परिचित भइसकेको छ । यसरी सञ्चार क्षेत्रमा सर्वसाधारणको पहुँच पुग्नु यसको सकारात्मक पक्ष हो । इन्टरनेटको माध्यमद्वारा आफ्ना विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिने माध्यमलाई सामान्यतया सामाजिक सञ्जाल भनिन्छ । यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी गराउने एउटा माध्यम पनि हो ।
यो प्रविधिको जमाना हो । अहिलेको समयमा हरेक हात–हातमा मोबाइल देखिन्छ । जहाँतहीँ इन्टरनेटको सुबिधा देख्न पाइन्छ । एक ढंगले यसले मानिसको जीवनशैलीमा धेरै सकारात्मक प्रभाव पारेको छ । घरमा बसि–बसि विश्वभरिको जानकारी लिन सक्ने सुबिधा यसले दिएको छ । कतिलाई यो आफ्नो प्रतिभा देखाउने एउटा दरिलो मञ्च झैं भएको छ । अझै कतिलाई त यसैको मध्यमबाट आम्दानी गरेर पैसा कामाउने सजिलो बाटो पनि भएको छ । यस्तै–यस्तै सुविधाका कारण यसको प्रयोगको दायरा व्यापक छ ।
२०२४ को अनुसन्धान अनुसार नेपालमा १३.५ मिलियन इन्टरनेट प्रयोगकर्ता रहेका छन् । जुन कुल जनसंख्याको ४३.५% हुन जान्छ जो अझै बढ्दो क्रममा छ । यसरी हेर्दा झण्डै आधा जनसंख्या सामाजिक सञ्जालको प्रयोगमा भएको देखिन्छ । हरेक वर्ग र तहका व्यक्तिले प्रयोग गर्न सक्ने भएकाले आजभोलि यो व्यक्तिको साथी जस्तै बनेको छ । प्राविधिको क्षेत्रमा यसको निक्कै ठूलो प्रभाव रहेकोले यसलाई सूचना प्रविधिको क्षेत्रमा भएको एउटा क्रान्तिको रुपमा लिन समेत सकिन्छ ।
बदलिँदो समयसँगै बद्लिँदै गरेको यो आधुनिक जमानामा इन्टरनेट मानव जातिको अत्यावश्यक वस्तुभित्र पर्न थालिसकेको छ । स्पष्ट भन्नुपर्दा यो मानव जीवनको अभिन्न अङ्ग बनी सकेको छ । यसरी थुप्रै सकारात्मक पक्ष बोकेको सामाजिक सञ्जाल अहिले निकै असामाजिक गतिविधिले भरिँदै गएको पाइन्छ । जसले आजको दुनियालाई ठूलो चुनौती थपेको छ । सामाजिक सञ्जालको दुरुपयोगले व्यक्तिको सामाजिक र पारिवारिक दबै जीवनलाई असर पारिरहेको छ । अहिले मानिसलाई चौबीसै घण्टा सामाजिक सञ्जालमै रमाउने बानी परिसकेको छ । जसका कारण मानिसलाई सामाजिक र पारिवारिक दायित्व निर्वाह गर्ने फुर्सद नै छैन । यसको सबैभन्दा बढी असर बालबालिकामा पर्न गएको देखिन्छ । आजभोलिका नानीबाबुहरु घर बाहिर गएर खेल्ने, सिक्ने, सामाजिक हुने गरेको खासै देख्न पाइँदैन । इन्टरनेटको प्रयोगका कारण बालबालिकाको सृजनात्मक क्षमतामा समेत ह्रास आएको स्पष्ट देख्न सकिन्छ ।
अहिलेका नानीबाबुहरुमा विद्यालयमा दिएको गृहकार्य समेत इन्टरनेटबाट नै सारेर लैजाने बानी बसिसकेको छ । आजभोलिका अभिभावकहरुलाई बच्चा जन्मेर जन्मदर्ता गराउनभन्दा पहिला सामाजिक सञ्जालमा आइडी बनाउन हतार भए जस्तो देखिन्छ । जसको नकारात्मक असर बच्चाको भविष्यमा पर्न जान्छ । भर्खरैको घटना हो पर्साको पोखरिया नगरपालिका– ८ जगतपुरमा वाइफाइ बन्द गर्न भनेकै निहुँमा नाति–नातिनीले मिलेर हजुरबुवाको हत्या गरेको घटना सार्वजनिक भएको थियो । यो त एक उदाहरणीय घटना मात्र हो । यस्तै–यस्तै धेरै घटनाको साक्षी हामी आफै पनि छौँ । र, भविष्यमा यी विविध घटनाहरु हामीसँगै नघट्ला भन्न सकिन्न ।
अपरिपक्व र अमर्यादित प्रयोगकर्ताहरुको बढ्दो संख्यासँगै पछिल्लो समय सामाजिक सञ्जाल धेरैै नै असामाजिक बन्दै गएको छ । सञ्जालमा कस्ता पोस्ट रख्नुपर्ने हो र सञ्जालको मुख्य प्रयोग के का लागि हो भन्ने समेत हेक्का नभएका प्रयोगकर्ताका कारण एक सामाजिक व्यक्तिलाई सामाजिक सञ्जाल प्रयोग गर्न पनि असुरक्षित महशुस हुने वातावरण आइसकेको छ ।
आजभोलि सामाजिक सञ्जाल एकअर्काको बिरुद्धमा प्रयोग गरिने अस्त्र भएको छ । व्यक्तिगत झगडालाई सामाजिकरूपमा बाहिर ल्याइ एकअर्कालाई बद्नाम गर्न खोज्ने, अमर्यादित गालीगलौजमा उत्रिने, अशिष्टता प्रदर्शन गर्ने, तथ्यहीन सूचना प्रवाह गरेर भ्रम फैलाउने, कसैको नितान्त व्यक्तिगत विषयलाई लिएर अनावश्यक टिकाटिप्पणी गर्ने, अश्लीलता प्रदर्शन गर्ने थलो बनेको छ ।
यस्तै गतिबिधिका कारण दिन प्रतिदिन आत्महत्याका घटनाहरू समेत बढिरहेको सुनिन्छ । इन्टरनेटको भर्चुअल दुनियाँमा डुबेर हामी चेतनशील प्रारुणी चेतनाहीन बन्दै गएका छौं । भाइरल हुन हामी जुनसुकै हद पार गर्न पनि तैयार हुन्छौं । यसरी हेर्दा हामी इन्टरनेट प्रयोगमा अगाडि भए पनि प्रविधि र सामाजिक सञ्जाल प्रयोग गर्ने बारे धेरै नै अपरिपक्व अवस्थामा भएको देखिन्छ ।
यसमा आमव्यक्तिको मात्र गल्ती नभएर राज्य पनि उत्तिकै जिम्मेवार देखिन्छ । मिडिया काउन्सिल विधेयक त बन्यो, तर डिजिटल मिडिया र त्यसमा पनि सामाजिक सञ्जालका विषयवस्तु माथि नियन्त्रणका लागि बनेको कानून कार्यान्वयनमा आउन सकिरहेको देखिँदैन । अहिले प्रेस स्वतन्त्रताको नाम लिँदै क्यामेरा बोकेर डिजिटल मिडिया भन्दै हिँड्ने सबै पत्रकार नै हुन् त ? उनीहरुले गरिरहेको कार्य पत्रकारिता नै हो त ? राज्यको चौथो अङ्गका रूपमा चिनिने पत्रकार र पत्रकारिता जगत दुबैलाई बदनाम गराउने गरी गरिँदै आएको कार्यलाई नियन्त्रणमा ल्याउन अति नै जरूरी देखिन्छ । यसबारे सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
यति भन्दै गर्दा इन्टरनेट प्रयोग गर्नु गलत हो, यसले नकारात्मकता मात्रै फैलाउँछ भन्न चाहिँ खिजिएको होइन । आधुनिक जमानामा आधुनिक प्रविधिको प्रयोग गर्दै अघि बढ्नु राम्रो कुरा हो । हरेक कुराको सकारात्मक र नकारात्मक दुबै पक्ष हुन्छ । हामीले नकारात्मक पक्षलाई पन्छाउँदै सकारात्मक पक्षलाई पकडेर अघि बढ्न सके इन्टरनेट प्रयोगबाट धेरै लाभ लिन सकिन्छ । आजभोलि त विद्यालय तहदेखि नै इन्टरनेट सम्बन्धी शिक्षा अनिवार्य गरेर सिकाउन थालिएको छ । यसरी हेर्दा इन्टरनेट प्रविधिको सही सदुपयोग गरेर अघि बढ्ने हो भनी हाम्रो प्रगतिको गति अझै द्रूत बन्दै जाने निश्चित छ ।