बिर्तामोड ।
इलाका प्रहरी कार्यालय बुधबारेमा सात महिनाअघि जिम्मेवारी सम्हालेका प्रहरी नायव निरीक्षक सुवास शेर्पाले अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
लागूऔषध नियन्त्रणका क्षेत्रमा शेर्पा नेतृत्वको प्रहरी टोलीले उल्लेख्य काम गरेको बताइएको छ । गत असार १५ गते इलाका प्रहरी कार्यालय बुधबारेको नेतृत्व सम्हालेका शेर्पाको सात महिनापछि सरुवा भएको छ ।
सात महिना बुधबारे बसाइको क्रममा उनले लागूऔषध नियन्त्रण, चोरी, तस्करी लगायतका अपराधमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका छन् । उनले साउन १३ गते लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका थिए । पक्राउ पर्नेमा सम्बर राई र सुरेन्द्र राई रहेका छन् । उनीहरुको साथबाट एक ग्राम पाँच सय ३० मिलिग्राम लागूऔषध फेला परेको थियो ।
त्यस्तै साउन १६ गते ज्यान मार्ने उद्योगमा फरार रहेका खेमबहादुर राना मगरलाई पक्राउ गरेर अदालत बुझाएका थिए । उनलाई अदालतले ११ महिना १९ दिनको कैद तोकेको थियो । त्यस्तै साउन १३ गते चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए । उनलाई अदालतले २९ दिनको कैद र दुई हजार जरिवाना तोकेको थियो । त्यस्तै भदौ ८ गते लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको जनाइएको छ । उनलाई अदालतले छ महिना कैद तोकेको थियो ।
शेर्पा नेतृत्वको प्रहरी टोलीले भदौ १७ गते चोरी गरेको सामानसहित समिर बर्देवा र सुन्दर तिवारीलाई पक्राउ गर्न सफल भयो । त्यस्तै लागूऔषधसहित असोज १२ गते निकिल राईलाई पक्राउ गरिएको थियो । उनको साथबाट प्रहरी टोलीले पाँच सय ६० मिलिग्राम लागूऔषध फेला पारेको थियो । त्यस्तै असोज १३ गते जबरजस्ती करणी मुद्दामा सुमन दर्लामी मगरलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बुधबारे सफल भयो ।
त्यस्तै चोरी मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरिएको थियो । उनलाई अदालतले १४ दिन कैद र पाँच हजार जरिवाना तोकेको थियो । त्यस्तै अवैध रुपमा नदीजन्य माटो, ढुंगा बोक्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको प्रहरीको तथ्यांकमा उल्लेख गरेको छ ।
सात महिनाको अवधिमा चार वटा ट्याक्टर एउटा टिपर तथा एउटा जेसीभीलाई नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको जनाइएको छ । नदी तथा नदीजन्य वस्तुको तस्करी रोक्नका लागि प्रहरी सक्रिय भएर खटेको थियो । प्रहरीले सोही अवधिमा आठ जना व्यक्तिलाई नियन्त्रणमा लिएर सुधार केन्द्रमा पठाएको जनाइएको छ ।
अपराध न्यूनीकरण र समाजमा शान्ति सुरक्षा कायम गर्न सात महिनाको अवधिमा बुद्धशान्ति क्षेत्रका विभिन्न राजनीतिक दल, संघ–संस्था, स्थानीय जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा आमनागरिकको सहयोगमा सफल भएको प्रहरी नायव निरीक्षक शेर्पाको भनाइ छ । उनले लागूऔषध नियन्त्रणका लागि विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
समाजमा हुने अपराध न्यूनीकरणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको जनाइएको छ । समाजमा हुने जुनसुकै अपराध न्यूनीकरणका लागि नागरिक स्तरबाट सहयोग प्राप्त भएमा हरेक क्षेत्रका अपराधका घटनामा कमि आउने शेर्पाको भनाइ छ । उनको हालै इलाका प्रहरी कार्यालय अनारमनीमा सरुवा भएको छ ।