पहिचान रक्षा वा विकासमा हस्तक्षेप ?

0
13

ताप्लेजुङको मुक्कुमलुङ क्षेत्र हालसालै केबलकार निर्माणको विषयलाई लिएर चर्चामा छ । एकातर्फ स्थानीय पहिचान पक्षधरहरूले यस क्षेत्रको मौलिकता, सांस्कृतिक महतव र प्रकृतिसँगको सम्बन्धलाई जोगाउन केवलकार निर्माणको विरोध गरिरहेका छन् भने अर्कोतर्फ सरकार र केही व्यवसायिक समूहले यसलाई आर्थिक विकास र पर्यटकीय प्रगतिका लागि ठूलो अवसरका रूपमा हेरेका छन् ।
यही विवादले २०८१ माघ १२ गते एउटा गम्भीर मोड लियो, जब प्रहरी र स्थानीय पक्षधरहरू बीचको झडपले हिंसात्मक रूप लियो । यस झडपमा प्रहरीले गोली चलाएको थियो, जसका कारण पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरूमा सुमन लावती, मङल लावती र धर्मेन पालुङ्वा व्यक्तिहरूको नाम सार्वजनिक भएको छ । यी मध्ये सुमन लावतीको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ । घटनाले पहिचान र विकासबीचको पुरानो द्वन्द्वलाई फेरि सतहमा ल्याएको छ ।

मुक्कुमलुङको सांस्कृतिक महतव

मुक्कुमलुङ (पाथीभरा) क्षेत्र लिम्बू समुदायको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको भूमि हो । यसलाई किरात धर्म र संस्कृति अनुसार पवित्र स्थान मानिन्छ । यो क्षेत्र केवल प्राकृतिक सौन्दर्यले मात्रै भरिएको छैन, सांस्कृतिक सम्पदाको धरोहर पनि हो । स्थानीयहरूका अनुसार केवलकार जस्ता ठूला पूर्वाधारले क्षेत्रको पर्यावरणीय सन्तुलन मात्र बिगार्दैन, सांस्कृतिक सम्पदामा समेत क्षति पु¥याउँछ ।

विकासको आवश्यकताबारे बहस

केबलकार निर्माणको पक्षधरहरूले भने यसलाई पर्यटन प्रवद्र्धन र आर्थिक विकासको माध्यमका रूपमा प्रस्तुत गरेका छन् । उनीहरूका अनुसार केबलकारले आन्तरिक र बाह्य पर्यटकको आगमनलाई सहज बनाउनेछ, जसले स्थानीय समुदायलाई रोजगारी, आयआर्जन, र पूर्वाधारको पहुँचमा सहयोग पु¥याउने छ । तर, यहाँ प्रश्न उठ्छ–विकास कसको लागि र कसको मूल्यमा ? यदि विकासको नाममा स्थानीय समुदायको पहिचान, धर्म, र संस्कृति बलिदान गर्नुपर्छ भने त्यो न्यायोचित हुन्छ कि हुँदैन ?

प्रहरी हस्तक्षेप र मानव अधिकार

१२ माघको घटनामा प्रहरीद्वारा गरिएको गोली प्रहारले मानवअधिकारको गम्भीर उल्लंघनको सवाल उठाएको छ । राज्यले शान्तिपूर्ण प्रदर्शनलाई दमनको रूपमा हेर्ने र बल प्रयोग गर्ने प्रवृत्ति स्थानीयहरूको असन्तुष्टिलाई अझ बलियो बनाउँछ । सुमन लावती जस्ता व्यक्तिको जीवन संकटमा परेको घटनाले सरकारप्रति जनताको विश्वास खस्किने सम्भावना प्रबल देखिन्छ ।

दीर्घकालीन समाधान के हो ?

मुक्कुमलुङको विवादलाई समाधान गर्न सरकार, स्थानीय समुदाय, र सरोकारवालाबीच वार्ता र परामर्श अत्यावश्यक छ । केवलकार जस्ता पूर्वाधार निर्माणले स्थानीय संस्कृति र पहिचानलाई कसरी सम्मान गर्न सक्छ भन्नेबारे गहिरो अध्ययन र सहमति हुनुपर्छ । विकास र पहिचानबीच सह–अस्तित्व सम्भव छ भन्ने उदाहरण स्थापित गर्न सरकारले सक्रिय पहल गर्नुपर्छ ।

निष्कर्ष

मुक्कुमलुङको विवाद केवल विकास र पहिचानको द्वन्द्व मात्रै होइन, यो जनताको आवाजलाई सुन्ने र सम्मान गर्ने राज्य प्रणालीको परीक्षा पनि हो । कुनै पनि विकास परियोजना त्यस क्षेत्रका स्थानीय बासिन्दाको भावना, पहिचान, र अस्तित्वलाई खलल नपुग्ने गरी अघि बढाउनुपर्छ । राज्यले दमन होइन, संवादको माध्यमबाट समाधान खोज्नु आजको मुख्य आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here