धरान ।
औषधि पसलबाटै लागूआौषध जन्य वस्तु विक्रि वितरण हुने गरेको गुनासो आइरहेका बेला धरानबाट लागूऔषध सहित मेडिकल सञ्चालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरान–३ गौधाराबाट मेडिकल सञ्चालक एक दम्पतीलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । १४ माघ राति मेडिकल पसलमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिएको थियो ।
उक्त टोलीले पसलभित्र खानतलासी गर्दा कार्टुनमा लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल सञ्चालक धरान–३ का ४१ वर्षीय सुरज बनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो ।
यसैगरी धरान–८ का ३१ वर्षीय सन्तोष परियार र उनकी श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट ट्रामोल ५३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
लागूऔषध सहित परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।