पथरी शनिश्चरे ।
पथरी शनिश्चरे वडा नं. ८ का जनप्रतिनिधिहरुले वडाका मृत्यु कार्यमा आवश्यक पर्ने सामाग्री निः शुल्क उपलव्ध गराउँदै आएको छ ।
वडामा कुनै घरमा मृत्यु संस्कार गर्दै गरेका घरमा आवश्यक पर्ने ह्यालोजिङ विजुली बत्ती र किरियापुत्रीले खाने खाना बनाउनको लागि ग्यांस सिलिण्डर समेतको व्यवस्था गर्दै आएको हो। ‘आपत विपतमा वडा’ भन्ने मूल नाराका साथ वडाध्यक्ष नवीनजंग कार्कीले देशमै पहिलो पटक वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।
मृत्यु संस्कार सकिएपछि ति सामग्री वडा कार्यालयमा फिर्ता ल्याउनुपर्ने नियम वनाइएको छ । कुर्सीहरु भने वडाका विभिन्न क्लवहरूका कार्यालयलाई उपलब्ध गराएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
यस्तै,वडा भित्रका कसैको मृत्यु भएर घरबाट घाटसम्म लास लैजान नगरपालिकाको शव वाहनले नभ्याएको समयमा वडाले नै निःशुल्क अर्काे गाडीको व्यवस्था गरिदिदैं आएको छ ।यस्तै ,वडा भित्रका अक्सिजन लगाउनुपर्ने वडावासीलाई निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो समयमा वडाले अति विपन्न परिवारलाई काजकिरिया खर्च, बिपन्न परिवारमा सुत्केरी भएमा पोषण सामग्री वितरण र सुत्ने खाट नभएका परिवारलाई सुत्ने खाटको पनि बन्दोबस्त गरिरहेको छ । वडावासीलाई सर्पदंशको उपचार समेत निःशुल्क उपलब्ध गराउँदै आइरहेको वडा सदस्य बाबुराम चौधरीले जानकारी दिनुभयो ।