देश र जनताका लागि हाँसी–हाँसी प्राणको आहुति दिने सहिदहरुको स्मरण र सम्मान गर्ने दिन हो आज । राणा शासनबिरुद्ध प्राण अर्पण गर्ने वीर पुरुषहरुको सम्झनामा मनाउन थालिएको यो दिवसमा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विशेष श्रद्धाका साथ स्मरण गरिन्छ । राणा शासकले माफी मागे जीवन प्रदान गर्ने लोभ देखाएर अनेक उपाय गर्दा पनि प्रजातन्त्रका लागि जीवन अर्पण गरेको माघ १० गतेदेखि १४ गतेसम्मको समयलाई आजको दिन समष्टिरुपमा सहिद दिवस मनाउने गरिएको हो । नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद्को स्थापना गरी प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ गर्ने टंकप्रसाद आचार्य हुन् वा प्रथम शहीद लखन थापा सबैको विशिष्ट भूमिका आजको दिनसँग विशेष रुपले स्मरण गरिन्छ ।
सहिद दिवसका दिन सहिदका शालीक र तस्वीरमा फूलमाला चढाएर मात्र उनीहरुको त्यागको सम्मान हुँदैन । उनीहरुको बलिदानले देशमा प्रजातन्त्र त आयो तर सहिदको सपनाले आकार पाएको अनुभूति हुन सकेको छैन । उनीहरुले देखाएको बाटोको अनुशरण गर्नु नै सहिदहरुको विचार, भावना र बलिदानको कदर गर्नु हो । पछिल्लो समय सहिदहरुको गनेर नसक्ने सूची बनाइएको छ । यसले दशरथ चन्द, धर्मभक्त, शुक्रराज र गंगालालको समर्पणको अवमूल्यन भएको टिप्पणी पनि हुने गरेको छ । यस्तोमा उच्च योगदानको आधारमा सहिदहरुप्रति विशिष्ट ढंगले सम्मान गर्ने परम्परा बसाउन सरकारले ध्यान दिनु पर्दछ । मृत्युलाई समेत हाँक दिएर छातीमा गोली थाप्न तयार भएका र देश अनि जनताका प्रति समर्पित हुन झुण्डिन तयार अमर व्यक्तित्व नै वास्तविक अर्थमा सहिद हुन् भन्ने मानसिकता पनि बनाउनुपर्छ ।
तत्कालीन काठमाडौं नगरपालिकाको संयोजनमा वि.सं. २०१२ सालदेखि मनाउन थालिएको यो दिवसमा प्रत्येक वर्ष २ जिम्मेवार व्यक्तिहरु सहिदको सपना पूरा गर्ने प्रतिबद्धता जनाउँछन् । तर, त्यस अनुसारको काम नगरेको जनगुनासो त्यत्तिकै सुनिन्छ । सहिद दिवसले देश र जनताका लागि जीवनको आहुति दिने महान सहिदहरुलाई सम्झाउनुपर्दछ र उनीहरुले देखाएको सत्मार्गमा हिँड्ने र प्रतिज्ञा गर्नुपर्छ । व्यक्ति स्वार्थ त्यागेर देशको स्वार्थका लागि अमूल्य जीवन समर्पण गर्ने वीरहरुलाई कुनै दलीय स्वार्थका खातिर लड्नेहरुलाई पनि तिनै सहिद सरह मान्नु वास्तविक सहिदप्रतिको अपमान हुन सक्छ । सहिद दिवसले राज्य सञ्चालकहरुमा व्यक्ति वा दलगत स्वार्थ त्यागेर देश र जनताको सर्वोत्तम हितमा काम गर्ने प्रेरणा दिनुपर्छ । त्यसका लागि प्रमुख राजनीतिक दलहरुमा प्रेरणा प्राप्त होस् र फेरि पनि स्वतन्त्रता र प्रजातन्त्रकै लागि अरु कसैले जीवन आहुति दिन नपरोस्, सहिद दिवसको शुभकामना ।