बिराटनगर,
कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि सहजीकरण गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।
राजदूत पौडेलले ओहोदाको प्रमाणपत्र पेश गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो जोशीको रिहाईलाई गरी नेपाल फर्काईदिन आग्रह गरेका हुन्।
उनले इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले खेलेको नेतृत्वदायी भूमिका उच्च रहेकोमा आभार व्यक्त गरेका थिए। सोहीक्रममा अमिरी दिवानमा आयोजित उक्त समारोहमा राजदूत पौडेललाई गार्ड अफ अनरले स्वागत गरिएको थियो।
त्यसपछि भएको भेटमा राजदूत पौडेलले अमिरको अप्रिल २०२४ मा भएको नेपाल भ्रमणबाट नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलज्यूको तर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र कतारी जनताको उत्तरोत्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए।
राजदूत पौडेलले आफूलाई न्यानो स्वागत गरेकोमा अमिर र कतार सरकारलाई धन्यवाद व्यक्त गर्दै नेपाल, कतारबीचको घनिष्ठ र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन आपसीसहयोगका विविध क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
अमिरले उनलाई स्वागत गर्दै कतारका लागि नेपालको राजदूत नियुक्त भएकोमा बधाई दिँदै विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने बताएका थिए। अमिरले कतारमा नेपाली आप्रवासी समुदायलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका थिए।