बिर्तामोड ।
बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल महिला टिम ६ विकेटले विजय भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतको टिमले ११८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । भारतका लागि अंकिता मोहनताले सर्वाधिक ६२ रनको पारी खेले पनि अन्य खेलाडीले साथ दिन सकेनन् ।
सस्तैमा समेट्ने क्रममा नेपालका प्रियाले ३, रिया शर्मा र ज्याति दनुवारले समान दुईदुई र संगीता राईले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि राष्ट्रिय खेलाडी अप्सरी बेगम अविजित रहँदै ६२ रन र पायल मगरको २० रनको मद्दतले सजिलै लक्ष्य प्राप्त गर्न सफल भयो ।
भारतका लागि अरुना बर्मन, निकिता शाह र नौमिता सरकारले समान एकएक विकेट लिए भने विमला रन आउट भइकी थिइन् । बेगम खेलको प्लेयर अफ द म्याच हुँदै पुरस्कृत भइन् ।
उपाधिका लागि बिर्तामोड र भद्रपुर खेल्दै
यसैबीच, झापाको बुद्धशान्तिमा जारी झापा जिल्ला दोस्रो बर्खा स्मृति अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका खेल्दै छन् ।
पहिलो संस्करणको विजेता बिर्तामोडले गौरादहलाई ४ विकेटले र भद्रपुर नगरपालिकाले मेचीनगरलाई ११६ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताए ।
त्यस्तै, फाइनलका प्लेयर अफ द म्याचले ७ हजार तथा प्लेयर अफ द सिरिजलाई १३ हजार पुरस्कार दिइनेछ ।