झापा ।
मुक्कुम्लुङ संरक्षण समिति र सरकारका प्रतिनिधिबीच छ बुँदे सहमति भएको छ । सहमतिसँगै गत माघ १५ गतेदेखि भएको यातायात बन्द फिर्ता भएको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराई र आन्दोलनरत समूहद्वारा गठित वार्ता समन्वय समिति संयोजक अम्बर तुम्याहाङ नेतृत्वको समितिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
पाथीभराको केबलकारको स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने, सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्योपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेको थुनुवाहरुको बिनासर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने, मुक्कुम्लुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएसंगै बन्द फिर्ता भएको हो ।
मुक्कुम्लुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने समितिबीच सहमति भएको हो । आज ११ घण्टासम्म वार्ता भएको थियो ।
मंगलबारको वार्तामा सरकारी पक्षले बन्दीलाई कानुनअनुसार रिहाइ गर्ने प्रस्ताव गरेको थियो भने आन्दोलनरत समूहले बिनासर्त रिहा गर्नुपर्ने प्रस्ताव गरेको थियो । आन्दोलनका क्रममा पक्राउ परेका ताप्लेजुङ, झापाको दमक र सुनसरीको इनरुवाबाट पक्राउ परेका १८ जना बिनासर्त रिहा हुने भएका छन् ।
झडपका क्रममा घाइते भएकाहरुको उपचार यसअघिदेखि नै सरकारले गर्दै आएको छ । झडप भएको स्थल पाथीभराको काफ्लेपाटीदेखि सदरमुकाम फुङलिङको जिल्ला अस्पतालसम्म प्रहरीले ल्याएको थियो । त्यहाँबाट रेफर गरिएका उनीहरुलाई विराटनगरको नोबेल अस्पतालसम्म जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स र स्वास्थ्यकर्मीको व्यवस्था गरेर पठाइएको थियो भने विराटनगरबाट काठमाडौंसम्म नेपाली सेनाको जहाजबाट पठाइएको थियो ।
सहमतिसंगै माघ १५ देखि सुरुमा मेची राजमार्ग र तमोर करिडोर तथा माघ २० देखि कोशी प्रदेशभर यातायात बन्द फिर्ता भएको छ ।