झापामा क्यान्सरका रोगी उच्च, ५५००० किशोरीलाई एचपीभी खोप लगाइँदै

0
29

बिर्तामोड ।

झापामा क्यान्सर रोग उल्लेख्य रुपमा बढेको तथ्याङ्क सार्वजनिक भएको छ । झापामा आर्थिक वर्ष २०८०÷०८१ मा क्यान्सरका दुई हजार ५ सय ८३ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले बढेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । झापामा क्यान्सरका कारणले धेरैले ज्यान गुमाउनु परेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयसंग भएको तथ्याङ्क र जानकारी भन्दा पनि धेरै क्यान्सर राोगीहरु भmापामा रहेको हुन सक्ने सूचना अधिकारी लुइँटेलले बताए । उनले भने– झापामा नाटकीय रुपमा क्यान्सर बढेको छ, पर्याप्त खोज र अनुसन्धान अझै गर्न जरुरी छ । उनले झापाको वास्तविक तथ्याङ्क अझै पनि फेला नपरेको भन्दै हरेक स्थानीय तहले हेल्थ प्रोफाइल बनाउन जरुरी रहेको बताए ।

कुन समुदाय, कुन उमेर तथा कुन क्षेत्र क्यान्सरका कारण धेरै प्रभावित रहेको छ भन्ने तथ्याङ्क हालसम्म टुङ्गो नलागेको भन्दै उनले स्थानीय तहले हरेक रोगको वर्गीकरण गर्न जरुरी रहेको उल्लेख गरे । झापामा नै क्यान्सर रोगको उपचार गर्ने अस्पताल रहेकाले मात्रै यस्ता सीमित संख्यामा तथ्याङ्क आए पनि यति मात्रैमा नरहेको भन्दै वास्तविक तथ्याङ्क अझै नआएको स्वीकार गरे ।

यसैबीच झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाइने भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार चारआलीस्थित शहीद दशरथ चन्द माबिमा औपचारिक रुपमा एचपीभी खोप अभियानको उद्घाटन गरिएको छ ।

जिल्ला खोप समन्वय समितिका सयोजक बिश्वनाथ बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटी, मेचीनगर उपप्रमुख मिना पोख्रेल, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले बोलेका थिए । शहीद दशरथ चन्द माविका कक्षा ६ देखि १० सम्मका तीन सय ५० जना छात्रालाई उक्त खोप निःशुल्क रुपमा लगाइएको थियो । कार्यक्रममा प्रअ लेखनाथ पौडेलले स्वागत गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालय बाहिर रहेका १०देखि १४ वर्ष उमेर समूहका आठ हजार ९८१ सहित विद्यालयमा अध्ययनरत् कक्षा ६ देखि कक्षा १० सम्मका ४६ हजार १८ गरी ५४ हजार ९ सय ९९ जना किशोरीलाई एचपीभी खोप लगाइने छ । माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि माघ २९ गतेसम्म एचपीभी खोप अभियान जिल्लाभर सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लुईँटेलले जानकारी दिए ।

झापाका एक सय ३१ वटै वडामा एक साथ खोप अभियान शुरु भएको छ । मेचीनगर, दमक र बिर्तामोडमा माघ २९ गतेसम्म खोप अभियान सञ्चालन भए पनि अन्य पालिकाहरुमा माघ २७ गतेसम्म सञ्चालन हुने लुइँटेलले बताए । जिल्लाभर ५ सय ७५ विद्यालयमा सञ्चालन हुने खोप अभियानमा ७ सय ५५ खोप केन्द्र, ७८१ स्वास्थ्यकर्मी र एक हजार ५१५ स्वयम्सेवक खटिएका छन् । पाठेघरको मुखको क्यान्सर विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा रहेको तथ्याङ्कमा उल्लेख छ । अन्य क्यान्सर रोगभन्दा नेपालमा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुनेको संख्या पहिलो नम्बरमा रहेको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।

पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महशुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन् । एचपीभीको दुई सयभन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् ।

यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ । त्यसैले किशोरीहरुलाई सिकोलिन नामक एचपीभी खोप लगाइने उनले बताए ।

क्यान्सर जस्ता नसर्ने रोग लाग्ने मुख्य कारण सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन, अस्वस्थकर भोजन र वायु प्रदूषण, मानिसको जीवनशैली लगायत रहेको चिकित्सकहरुको भनाइ छ । यस्ता रोगबाट बाँच्न वा मृत्युदर घटाउन रोगको शुरुको अवस्थामै पहिचान गर्नु, नियमित स्वास्थ्य परीक्षण गर्नु, जीवनशैलीगत अस्वस्थकर व्यवहार हटाउनु र रोगीको राम्रो उपचार तथा स्याहार गर्नु नै मुख्य उपाय भएको लुइँटेलको भनाइ छ ।

नसर्ने रोगबारे सचेतता नअपनाउने र जीवनशैलीमा सुधार नगर्ने हो भने यो भयावह बन्दै देशकै लागि ठूलो चुनौतिको विषय बन्ने छ । शारीरिक निष्क्रियता, धुमपान तथा मद्यपानको सेवन र अस्वस्थकर खानपिन (चिल्लो र नुनको मात्रा बढी भएको र फलफूल तथा सागपात जस्ता तरकारीको मात्रा कम लिने) जस्ता कारणले नसर्ने रोगको जोखिम बढेर जाने चिकित्सकहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here