विपश्यना ध्यान एक प्राचीन साधना

0
14

सार :

विपश्यना आफूभित्र खोजी गर्दा भेटिने ज्ञान जसलाई परमार्थ सत्य भनिन्छ, त्यो प्राप्त गर्ने सीप हो । विपश्यना प्राचीन समयदेखि अभ्यासमा कुनै न कुनै रुपमा रहेको र त्यसलाई गौतम बुद्धले आजभन्दा २६ सय वर्ष पुनः खोज गर्नुभएको थियो । यो एक प्रकारको ध्यान पद्धती हो, जसले कुनै पनि वस्तुलाई जस्तो छ, त्यस्तै रुपमा हेर्न सक्ने बनाउँछ । विपश्यना शब्द ऋग्वेदमा ‘विपस्वी’ भनेर उल्लेख भएको भेटिन्छ । रिग्वेद्मा जनाउन खोजिएको अर्थ र बौद्धको विपश्यना ध्यानमा पाइने अर्थ समान देखिन्छ । विपश्यना ध्यान सम्राट अशोककालसम्म निकै प्रचलित थियो । पछि अनेकौं कारणले लोप हुने अवस्थामा पुग्यो ।

श्रीलंका, वर्मा जस्ता थेरावादी देशहरूमा यसको निरन्तरताले २०औं शताब्दी तिर व्यापारको शिलशिलामा विपश्यना सम्पर्क भएपछि सत्यनारायण गोयन्काले वर्माबाट विपश्यना ध्यानलाई भारतमा पुनः जागरण गराएका हुन् । विपश्यना ध्यानले मानिसको पूरै शरीरलाई निरिक्षण (क्अबललष्लन) गरी चित्तलाई शुद्धिकरण गर्छ । यो शुद्धिकरणले मानिसको मनमा राग र द्वेष नष्ट हुन थाल्छ र प्रज्ञा जाग्छ । प्रज्ञामा करुणा, मैत्री, मुदिता र समभाव हुन्छ । यसको प्रयोगले समाजका हरेक प्राणीमा सुरक्षा, उन्नति र शान्ति प्राप्ति हुन्छ भने सहायक तवरले शारीरिक र मानसिक रुपमा पीड़ा र तनाव कम हुन्छ भन्ने दाबी यस लेखमा गरिएको छ ।

यस लेखका मुख्य शब्दहरू :

विपश्यना, ऋग्वेद, बौद्ध धर्म, पंचशील, चित्त शुद्धिकरण, सत्य, ज्ञान, तटस्थभाव, प्रज्ञा ।

परिचय तथा समान अर्थ :

विपश्यना एक प्रकारको साधना हो । विपश्यना शब्द निकै पुराना ग्रन्थहरूमा पनि उल्लेख भएको पाइन्छ । वि= विशेष र पश्यना= अवलोकन अर्थात् विशेष अवलोकन । जुन जस्तो छ, त्यसलाई त्यस्तै अवलोकन गर्नु विपश्यना हो । जुन वस्तु जस्तो छ, त्यस वस्तुको गुण, धर्म र स्वभावलाई विशुद्ध रुपमा हेर्नु, अवलोकन गर्नु हो । यसलाई नै विपश्यना भनिन्छ । यो साधना दोस्रो पटक गौतम बुद्धले खोज गर्नुभएको हो । विपस्वी शब्द प्राचीन ग्रन्थ ऋग्वेदमा पनि उल्लेख भएको पाइन्छ ।

‘विपस्वी’ शब्दको मूल अर्थले विपश्यना ध्यानको मूलभूत सिद्धान्तहरूसँग समानता देखाउँछ । विशेषतः यथार्थको गहिरो निरीक्षण र आत्मज्ञान प्राप्त गर्ने प्रक्रियासँग नजिक छ । यद्यपि ऋग्वेदमा यो ध्यान विधिलाई प्रत्यक्ष रुपमा विपश्यना भनेर उल्लेख गरिएको भने छैन । ‘विपस्वी’ शब्द ऋग्वेदमा ‘सर्वदर्शी’ भन्ने अर्थमा प्रयोग भएको देखिन्छ । ‘गहिरो रुपमा हेर्ने’ वा ‘सत्य देख्ने’ अर्थमा प्रयोग भएको मान्न सकिन्छ । उदाहरणका लागि ऋग्वेद ९.५८.३ मा विपस्वी शब्दको प्रयोग ‘गहिरो बुद्धि भएको व्यक्ति’ वा ‘प्रज्ञावान व्यक्ति’लाई जनाउने अर्थमा प्रयोग भएको देखिन्छ । जस्तैः ‘यो सोम रसलाई बुद्धिमान र विपस्वीहरूले ग्रहण गर्छन् ’(ऋग्वेद ९.५८.३) । त्यस्तै ‘एक सत्यलाई ऋषिहरूले अनेक तरिकाले देख्छन्’ (ऋग्वेद १.१६४.२०) । ऋग्वेदमा ध्यान शब्द उल्लेख छैन, तर ऋग्वेदका धेरै ऋचाहरू वा मन्त्रहरू आत्मनिरीक्षणमा आधारित छन् । रिग्वेदले मानिसलाई आत्माको अनुभव गर्न प्रोत्साहित गरेको छ । ‘सत्य र ऋतम्’ ‘आत्मज्ञान’ अवधारणासित मेल खान्छ । ऋग्वेद १०.१६४.१–२ मा हेर्न सकिन्छ ।

ऐतिहासिक चर्चा :

विपश्यना ध्यान बौद्ध परम्पराको एक प्राचीन ध्यान पद्धति हो । यो एक आत्मनिरीक्षण गर्ने विधि हो । यसले मानिसलाई आफ्नो मन र शरीरको यथार्थ प्रकृति (स्वभाव) बुझ्न सहयोग गर्छ । बुद्धले आजभन्दा २६ सय वर्ष अगाडि उहाँको पिता राजा शुद्धोदनको हलो महोत्सवको बेला बाल्यकालमै जामुनको फेदमा विपश्यना ध्यान गर्नुभएको थियो भन्ने उल्लेख छ । जब उहाँले गृह त्याग गर्नुभयो, छ वर्षको कठिन तपस्यापछि मात्र पिपलको रुखको फेदमुनि यो ध्यानको पुनः खोज गर्नुभयो । अहिले यो विधि संसारभरि धेरै स्थानमा लोकप्रिय भएको पाइन्छ । यो ध्यान गुरु शिष्य परम्परामा प्रयोग हुँदै आएको छ ।

गौतम बुद्धको समयदेखि सम्राट अशोक (इ.पू. ३०४–२३२)सम्म व्यापकरुपमा प्रचार भएको थियो । अशोककालमा राजा अशोकले नौ वटा देशहरूमा ‘धम्म’ फैलाएका थिए । अशोकले आफ्नो धर्मदूतहरूलाई श्रीलंका, मध्ये एशिया र अन्य भूभाग (ग्रीक)सम्म पठाएका थिए । यिनै धर्मदूतले विपश्यना ध्यान विधिलाई प्रचार गरे । श्रालंका लगायतका देशहरूमा थेरावाद बौद्ध धर्मको माध्यमबाट विपश्यना अभ्यासको परम्परा जीवित रहनुमा अशोकको योगदान छ । अशोकका शिलालेखहरूमा यो शब्द पाइन्छ । यो शब्द, त्यो वेलाको पालि शब्द हो । धम्म भन्नाले बौद्ध धर्मका शिक्षाहरूलाई जनाउँछ, जसमा विपश्यना समावेश छ । उनका शिलालेखाहरूले आत्मनिरीक्षण र आत्मशुद्धिको महत्वलाई जोड दिएको देखिन्छ ।

सम्राट अशोकको शासनकालपछि बौद्ध धर्म विपश्यना ध्यान लोप हुने अवस्थामा पुग्यो । यसका मुख्य कारण ऐतिहासिक, सांस्कृतिक र राजनीतिक परिवर्तनहरू नै थिए । सम्राट अशोकपछि बौद्ध धर्मलाई त्यो बेलाको राज्यस्तरबाट खासै संरक्षण भएन । हिन्दू धर्मका अन्य परम्पराले विस्थापित गर्दै लग्यो । १२औं शताब्दीमा इस्लामिक आक्रमणका कारण बौद्ध बिहार र मठहरू ध्वस्त भए, जसले गर्दा विपश्यना ध्यान ओझेलमा प¥यो । विपश्यना ध्यान जस्तो गहिरो अभ्यासलाई निरन्तरता दिन दक्ष गुरुहरुको अभाव हुन थालेको थियो । ध्यानलाई केबल धार्मिक अनुष्ठानमा सिमित गर्नाले पनि यसको गहन अभ्यास लोप हुन पुग्यो । सम्राट अशोकले नौ स्थानमा पठाएका धर्मदूतहरू र आक्रमण हुनुअघि जुन–जुन धर्म गुरुहरुले विपश्यना लगे, उनीहरूले प्रयोग गरी नै रहे । बर्मा (म्यानमार)मा गुरु शिष्य थेरावाद परम्परामा यो निकै प्रभावकारी रुपमा अभ्यासमा थियो ।

पुनः जागरण :

१८ र १९औं शताब्दीमा थेरावाद परम्परामा विपश्यना ध्यानले पुनः जीवन पाएको देखन्छ । विशेषगरी श्रीलंका र म्यानमार जस्ता देशमा संरक्षण गरिएको पाइन्छ । २०औं शताब्दीमा म्यानमारमा सत्यनारायण गोयन्का (सन् १९२४–२०१३)ले व्यापारको शिलशिलामा विपश्यनाको सम्पर्कमा पुगे । उनले विपश्यनालाई राम्ररी बुझे त्यसपछि अहिलेको भारतमा पुनः स्थापित गराए । भारतबाट नेपालमा विपश्यना ध्यान प्रसार भयो । नेपालको विभिन्न स्थानहरू लुम्बिनी, किर्तिपुर, बुढानिलकण्ठ, वीरगञ्ज, इटहरी, इलाम जस्ता ठाउँहरूमा १० दिने विपश्यना साधना केन्द्रहरू अहिले सञ्चालनमा छन् ।
विपश्यना ध्यान केन्द्रमा निःशुल्क रुपमा साधना गर्न पाइन्छ । आवासीय रुपमा विशेष तालिमको रुपमा यसमा सहभागी हुन सकिन्छ । केही दिन अगाडि नै अनलाइन फारममा आफ्नो विवरण पूरा भरेर सहभागी हुन सकिन्छ साथै स्थलगत फारम भरेर पनि सहभागी हुन सकिन्छ । ध्यान केन्द्रमा पुगेपछि आफूसँग भएको विलासिताको समानहरू र किताब डायरी तथा मोबाइल फोनहरू १० दिनका लागि सम्बन्धित व्यक्तिबाट अलग गरिन्छ । सहभागीहरू बीच एकअर्कामा नबोल्न वा मौन अवधि कायम गर्न नियम लागू गरिन्छ । बिहान ४ः३० देखि बेलुका ९ः३० सम्म विपश्यनाका ध्यान विधि र चरणहरूमा अभ्यस्थ हुनुपर्छ । बीच–बीचमा खाजा र खाना खाने समय तथा आराम गर्ने समय पनि उपलब्ध हुन्छ । पोषणयुक्त भोजन र आरामदायी सुत्ने स्थान उपलब्ध हुन्छ, तर त्यो पर्यटनको दृष्टिकोण भने होइन ।

विपश्यनाको मर्म :

विपश्यना ध्यानले आफ्नो मन र शरीरको सम्बन्धबारे अनुभूति गर्न सकिने सिप सिक्न प्रेरित गर्छ । शुरुमा पंचशील ज्ञान प्राप्त गरी कम्तिमा १० दिन भए पनि पालना गरिन्छ, जुन यसप्रकार छन् ः
झुठो नबोल्नु : यो पालनाले झुठो बोलिँदैन । अर्थात् जताभावी गफ लडाउने, ठूला–ठूला कुरा गर्ने बानीमा सुधार हुन्छ । यो शील अहिलेको मानिसमा आवश्यक छ ।
हिंसा नगर्नु : हिंसा नगर्नु भन्ने नियमले उत्पीडन वा विभेद गर्न वा हुनबाट जोगिन्छ वा जोगाउँछ ।
व्यविचार नगर्नु : यो निषेधले मानिसलाई नैतिक रुपमा चरित्रवान बनाउन वा बन्न सफल मद्दत गर्छ ।
मादक पदार्थ सेवन नगर्नुः यो नियमले असल बानी–व्यहोराको विकास गर्न सहयोग गर्छ ।
चोरी नगर्नु : यो नियमले लोभ गर्ने स्वभाव र आशक्तिलाई नष्ट गर्न मद्दत पुग्छ ।

विपश्यनामा त्यसपछि आफ्नो स्वासलाई थाहा पाउन र सजगतापूर्वक मनलाई आफूभित्र केन्द्रित गर्न अभ्यास गरिन्छ । यो अभ्यास आनापाना अभ्यास भनेर बुझ्न सकिन्छ । यो अभ्यासले मनलाई एकाग्रतामा राख्छ । मन एकाग्र भएपछि आफूभित्र रहेका संवेदनाहरू अनुभव हुन थाल्छन् । संवेदना राम्रा र नराम्रा दुबै हुन सक्छन् । यो चरण चरणमा आफ्नो सम्पूर्ण शरीरमा अनुभूति गर्दै जान सकिन्छ । यो अभ्यासमा १० देखि १५ मिनेटसम्म समय लाग्न सक्छ । यसरी पुरै शरीरलाई निरीक्षण गर्न सकिन्छ । धेरै पटकको अभ्यासपछि थोरैभन्दा थोरै समयमा सम्पूर्ण शरीरलाई निरीक्षण गर्न सकिन्छ ।
विपश्यना गुरु आचार्यको निर्देशन र सहयोगमा अभ्यास जारी राखिएमा अनुभूति गर्न सफल हुँदै गइन्छ । तर, मनलाई एकाग्रतामा राख्न बिल्कुलै सकिएन भने यो प्रयास साधकको लागि निर्थक हुन्छ । यो साधनामा मनको एकाग्रताले अरु प्राणीप्रति करुणा (दया) जाग्छ । विपश्यना ध्यानको समयमा यो आपसे आप हुँदै जान्छ । साधकलाई यो हँुदा मनमा खुशी महशुस हुन्छ । त्यस्तै लोभ र घृणाप्रति वास्ता नै हुन छोड्छ । राग र द्वेषको भावना हराउँदै जान्छ । जुनसुकै कुरालाई समभावले हेर्न मन लाग्छ । जुन चिज जे छ त्यहीलाई तटस्थ भावले हेर्ने बानीको वकास हुन्छ । तटस्थ भाव भनेको यथार्थ सत्यलाई हेर्ने भाव हो, जसले मनलाई आनन्द र अन्त शान्ति दिन्छ ।

नियमित अभ्यासको प्रभाव :

विपश्यना केन्द्रबाट १० दिनको अभ्यासपछि घर फर्की सकेपछि निरन्तर अभ्यासमा रहँदा मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभावहरू देखिन्छन् । खास गरी तनाव र चिन्ता कम हुने हुन्छ । दीर्घ दुखाइलाई सहज रुपमा लिने क्षमताको विकास भएको पाइएको छ ।

निष्कर्ष :

विपश्यना ध्यानको खोजकर्ता नेपाली नै भएकाले विपश्यना ध्यान हाम्रो लागि गर्व हो । विपश्यना भारतमा पता लागे पनि पता लगाउने व्यक्ति सिद्धार्थ गौतम अहिलेको नेपालकै हुन् । यो खोजलाई धेरै वैज्ञानिकहरूले अनुसन्धानको विषय बनाएका छन् । यो ध्यानले मानिसको अपराधी स्वभावलाई क्षय गर्ने र असल स्वभाव बनाउने र सबै प्राणीप्रति उत्तरदायित्व हुन प्रेरित गर्ने गर्छ । यसको दैनिक अभ्यासले स्वस्थ्यकर जीवन जिउनका साथै सामाजिक सद्धभाव कायम हुन्छ । यसरी विपश्यना साधनाले हामी नेपाली र विश्वको समाजको उन्नतीमा प्रभावकारी भूमिका खेल्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here