नवजागरणद्वारा तीन जना सम्मानित

0
29

सुरुङ्गा।

नवजागरण सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुरुङ्गाले ३ जनालाई सम्मान गरेको छ ।

संस्थाको ११ अौं वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ताका रूपमा सुनिता गुरागाईं, उत्कृष्ट कर्मचारीका रूपमा कमला फुयाल र असल ऋणीका रूपमा जयनारायण खतिवडालाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

कार्यक्रमको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष जनार्दन उप्रेतीले आ.व. २०८०/२०८१ को आयव्यय विवरण र समीक्षा तथा आ.व. २०८१/०८२ को प्रस्तावित कार्यक्रम र कार्ययोजनासहित अनुमानित आयव्यय समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले बिउविजन, मलखाद, कृषि सामग्री, पशुआहारको सहकारी पसल सञ्चालन गरिरहेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखापरीक्षण प्रतिवेदन पारित गरेको संस्थाका कोषाध्यक्ष डिल्लीराम पौडेलले जानकारी दिए । २०६९ सालमा स्थापित संस्थामा हाल २ सय ४३ शेयर सदस्य छन् भने ५२ लाख ७६ हजार २ सय रुपैयाँ कुल शेयर पुँजी रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंले कनकाई नगरपालिकाभित्र प्रधान कार्यालय रहेका सहकारी संस्थालाई एकीकरण गरी सबल र नमुना सहकारी बनाउन र वृहत् सहकारी पसल सञ्चालन गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकारद्वय तेजबहादुर आचार्य र प्रेम न्यौपाने, कनकाई नगरपालिकाका अधिकृत हरिप्रसाद पौडेल, सञ्चारकर्मी तीर्थराज खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकि उपाध्यक्ष जानुका आचार्यले स्वागत गरेको कार्यक्रम सचिव बद्रीकुमार दाहालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here