बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ(इक्यान) झापाले शैक्षिक गतिविधिलाई अघि बढाउँदै यसलाई अझ ब्यवस्थित गर्ने भएको छ ।
इक्यान झापाले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै इक्यानका केन्द्रिय महासचिव एवम् कार्यक्रमका प्रमुख अतिथी दिपकराज भुसालले इक्यानका शाखाहरुलाई ब्यवस्थित र जिम्मेवार बनाउन आफुहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए । उनले इक्यान झापामा नयाँ सदस्यका रुपमा आबद्ध कन्सल्टेन्सी ब्यवसायीहरुलाई लक्षित गर्दै कर शिक्षा, इक्यानका काम, कर्तब्य लगायतका विषयमा प्रशिक्षण प्रदान गर्ने बताए । शैक्षिक क्षेत्रमा इक्यान झापा शाखाले उल्लेख्य काम गरेको भन्दै महासचिव भुसालले प्रशंसा गरे ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै जेपिटी टेस्टका झापा संयोजक राजकुमार कार्कीले जेपिटीले जापानिज भाषा परिक्षालाई अझ ब्यवस्थित गरेको बताए । उनले इक्यानले सञ्चालन गरिरहेको जेसर्ट, जेपिटी र जेएलसिटी परिक्षा झापामा आवश्यक रहेको र तीन वटै परिक्षालाई ब्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । उनले जेपिटीको परिक्षा हरेक महिना सञ्चालन हुने भन्दै जापान जानका लागि अध्ययन गरिरहेका विद्यार्थी तथा जापानसंग सम्बन्धित काम गरिरहेका कन्सल्टेन्सीहरुलाई जेपिटीको परिक्षामा सहभागिता जनाउन आग्रह गरे ।
त्यस्तै जेएलसीटीका झापा संयोजक खड्गबहादुर ताम्लिङ् लिम्बूले इक्यानसंगै सहकार्य गर्दै अघि बढ्न आफुहरु तयार रहेको उल्लेख गरे । भाषा परिक्षालाई ब्यवस्थित र मर्यादित बनाउन सके मात्रै स्वस्थ प्रतिस्पर्धा हुने भएकाले झापाका सबै शैक्षिक परामर्श दाताहरु एक हुनुपर्नेमा जोड दिए ।
इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले झापामा सदस्यता विस्तारको काम तिब्र रुपमा अघि बढाएको बताउँदै छिट्टै सदस्यको संख्या ५० माथि पुग्ने बताए । उनले केन्द्रको निर्देशन अनुसार इक्यानमा आवद्ध शैक्षिक परामर्श दाताहरुले काम गरिरहेको भन्दै केन्द्रले अब जापान लगायतका मुलुकको कामका लागि काठमाण्डौं जानुपर्ने झन्जटको अन्तयका लागि काम गरिरहेको भन्दै खुशी ब्यक्त गरे । उनले सकेसम्म विद्यार्थीले झापाबाटै सबै काम सकेमा आर्थिक तथा समय पनि बच्ने भएकाले यस्ता कामहरु इक्यानमा आवद्ध संस्थाहरुले मात्रै गर्न सक्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा इक्यानमा नयाँ सदस्यको रुपमा आवद्ध भएका संस्थालाई स्वागतसहित मायाको चिनो प्रदान गरिएको थियो । इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए । कार्यक्रममा इक्यानमा आवद्ध शैक्षिक परामर्श दाताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।