पशुपालक किसानको संरक्षण

0
23

देशको आर्थिक विकासमा कृषि क्षेत्रको योगदान एक तिहाइ रहेको छ । कुल कृषि क्षेत्रको योगदानमा पशुपालन क्षेत्रको योगदान एक चौथाइ छ भने कूल गार्हस्थ उत्पादनमा पशुपालन मध्ये पनि भैंसी पालनको पचास प्रतिशत र गाई पालन क्षेत्रको चौध प्रतिशत योगदान रहेको छ । खाद्यवस्तुमा आत्मनिर्भर नेपाल अहिले सम्पूर्ण रुपमा परनिर्भरतातर्फ उन्मुख भएको छ । त्यसमा पनि दूधमै बढ्न थालेको परनिर्भरतालाई रोक्न सकिएन भने अग्र्यानिक खाद्यान्नको सपना पनि सपनामै सीमित रहने निश्चित छ । त्यसैले पशुपालन क्षेत्रमा लाग्ने प्रेरणा प्रदान गर्दै किसानलाई संरक्षण गर्ने नीति तीनै तहका सरकारले अख्तियार गर्नुपर्छ । देशको दीर्घकालीन सोच नेपाललाई दूध तथा दूधजन्य वस्तुमा आत्मनिर्भर बनाउने रहेको छ ।

अध्ययन अनुसार सबै उमेर समूहका मानिसका लागि दूध उपयुक्त खाद्य वस्तु हो । एकजना मानिसलाई प्रति वर्ष नब्बे लिटर दूध आवश्यक हुन्छ । तर, वर्तमानमा त्यो आवश्यकता पूर्ति भइरहेको छैन, बरु कूल उत्पादन नै घट्दो क्रममा छ । यद्यपि दूधको व्यवस्थित वितरण गर्ने नीति राज्यले लिएको छ, त्यसकै परिणाममा करिब सात दशकअघि दूधको संकलन, प्रशोधनसहित दूधजन्य परिकारको उत्पादन गर्ने योजनाबद्ध कार्यक्रम र संगठीत संस्थाको सञ्चालन गरिएको थियो । त्यसयता व्यावसायिक पशुपालन, दूध संकलन, प्रशोधन र चिस्यान केन्द्र स्थापना लगायतका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन हुँदै आए । दूग्ध विकास संस्थानले गर्दै आएको काम पछिल्लो समय निजी तथा सहकारीका माध्यमबाट पनि सञ्चालन गरिए । तर, पशुपालक किसानहरु निरन्तर क्षति व्यहोर्न बाध्य भए ।

गाई पालनका लागि देशको पूर्वी क्षेत्र अग्रणी स्थानमा रहेको छ । त्यही क्रममा झापा लगायत पूर्वी पहाडी जिल्लाहरुमा दूधको व्यवसायिकता उत्पादन गर्न किसानहरु अग्रसर भए । तर, सधैँ किसानले दूधको उचित मूल्य पाएनन् र यसबेला पूर्वी नेपाल गाईपालक किसान पलायन हुने क्रममा छन् । पशुपालन तथा दूग्ध उत्पादक संघ झापाका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले तीन वर्षअघि झापामा एक सय बीस वटा व्यावसायिक फर्म रहेकोमा हाल चालीस वटाले मात्रै दुःखले पशा धानेको बताए । सरकारले तोकेको न्यूनतम् मूल्य समेत नपाएको भन्दै उनले बैंकको ब्याज, दाना लगायतका वस्तुको मूल्य बढेका कारण व्यवसाय धान्न नसक्ने अवस्था आएको गुनासो गरे ।

पशुपालन दूध वा दूधजन्य वस्तुको उत्पादन र उपभोगमा मात्रै सम्बन्धित छैन । बरु मानव स्वास्थ्यलाई सुरक्षित राख्न पनि त्यत्तिकै अनिवार्य छ । कृषि उत्पादन वृद्धिका लागि चाहिने मलको सुरक्षित स्रोतका रुपमा रहेको गाईवस्तुको गोबर प्राप्त हुने पशुपालन घट्न नदिन सरकारको ध्यान जानु पर्दछ । अहिले बढी उत्पादन लिने नाममा अत्यधिक विषादी र रासायनिक मलखाद प्रयोग गर्ने क्रम बढेको छ । यसले प्राणघातक असाध्य रोगको जोखिम पनि बढाएको छ । उत्पादन बढाउन प्रयोग गरिने विषादी वा मलको मात्रा, परिणाम, उपयोगको विधि नजान्दा गम्भीर असर परेको मानव स्वास्थ्यप्रति सचेत भई सम्बद्ध निकायले प्रशिक्षण, अवलोकन तथा परीक्षणलाई निरन्तरता दिनु पर्छ । अग्र्यानिक खेतीलाई पनि पशुपालनको अङ्ग बनाएर किसानलाई संरक्षण गर्ने नीतिलाई प्राथमिकता दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here