नेपाली बजारमा अवैध भारतीय माछा, झापामा १४ सय केजी माछा बरामद

0
46

झापा ।

सीमा नाकाबाट अवैध रूपमा भारतीय विषादीयुक्त माछा नेपाल भित्रिरहेको पाइएको छ। झापामा लाखौँ खर्चिएर माछा पालेका कृषकहरू अवैध रूपमा भित्राइएका भारतीय माछा कारण मारमा समेत परेका छन्।

राजस्व छलेर चोरी निकासीको माध्यमबाट नेपाल भित्रिरहेको माछा नियन्त्रण तथा रोकथामका लागि यहाँका माछा कृषकहरूले प्रहरी प्रशासनसँग हारगुहार गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार ठुलो परिमाणको माछा बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले बिहान ९:४५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जामुनखाडी नजिकैबाट एक पिकअप माछा बरामद गरेको हो।

माछा लिएर सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र–१–०२–००२ च ३८४९ नम्बरको पिकअप गाडीलाई सशस्त्रले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको थियो। सशस्त्रले माछासहित नियन्त्रणमा लिएको गाडी भद्रपुर गण पुर्‍याएका थिए। रहूँ, पंगास र पाप्लेट गरी ३५ वटा कार्टुनमा ४० केजीको दरले १४ सय केजी माछा रहेको थियो। जसको नेपाली बजार मूल्य अन्दाजी ४ लाख २० हजार रुपैयाँ रहेको जनाइएको छ।

सशस्त्रले चालकसँग फेला परेको कागजात छानबिनका लागि पशु क्वारेनटाइन चेक पोस्ट काँकडभिट्टामा माछासहित कृषकहरूलाई बोलाएका थिए। बिल भौचरसहितको कागजात हेर्दा सुरज फिस सप्लायर्स पर्साले वीरगन्ज भन्सारबाट भित्राइएको माछा न्यु आदर्श फिस सेन्टर इनरुवा सुनसरीले खरिद गरी ल्याएर झापा गाउँपालिका–२ स्थित वसन्त माछा पसल र मा लक्ष्मी फिस सप्लायर्स भद्रपुरको नाममा बिल काटेको पाइएको छ। सुरज फिस सप्लायर्स नामको पशु क्वारेनटाइन प्रमाणपत्रको प्रतिलिपि पनि रहेको छ।

क्वारेनटाइनको प्रमाणपत्रमा हस्ताक्षर प्रस्ट नभएको र छाप पनि लगाइएको छैन। माछा पनि गन्हाई सकेकोले प्रक्रिया पूरा गरी नष्ट गरिएको पशु क्वारेनटाइन चेक पोस्ट काँकडभिट्टाका पशु चिकित्सक मुकेशकुमार सिंहले बताए।

सशस्त्रले बरामद गरेको माछा अवैध बाटोबाट भित्राइएको हुन सक्ने बताउँदै पशु चिकित्सक सिंहले भने, ‘माछा एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउनका लागि माछा व्यवसायीले आफू जोगिनलाई कागजात मिलाएको हुनुपर्छ र त्यो कागजात चालकको साथमा देखियो।’ कालो नम्बर प्लेट भएको सवारी मात्र सामान ढुवानी गर्नुपर्ने कानुनी प्रावधान रहे पनि बरामद गरिएको माछा बोकेको गाडी रातो प्लेट (निजी) रहेको छ।

क्वारेनटाइनको ढुवानी प्रावधान अनुसार गाडी धनीलाई जरिवानासहित कारबाही गरिने उनको भनाइ छ। यता माछा पालन किसान समूह कोशी प्रदेशका उपाध्यक्ष मोहन शिवाकोटीले सशस्त्रले बरामद गरेको माछा भारतबाट अवैध रूपमा भित्राइएको दाबी गरेका छन्।

जिल्लाको गौरीगञ्ज, गौरादह, राजगढ नाकाहरूबाट रातको समयमा अवैध रुपमा भारतीय माछा भित्रिरहेको बताउँदै उनले भने, ‘बरामद गरिएको माछा गन्हाई सकेको छ, विभिन्न केमिकल मिसाएर ल्याएको खान अयोग्य माछा मानव स्वास्थ्यको लागि एकदमै हानिकारक हो।’ सशस्त्रले भन्सार छलीका विषादीयुक्त माछा बरामद अभियानलाई तीव्रता दिनुपर्ने बताउँदै उनले भने, ‘झापामा दिनहुँ हजारौँ केजी माछा यसरी नै भित्रिरहेको छ, यसको नियन्त्रण तथा रोकथाम आवश्यक छ, सशस्त्रले यसरी नै कृषकलाई साथ दिनुपर्छ।’ स्वदेशी तथा अर्ग्यानिक माछा खान समेत उनले आग्रह गरेका छन्।

त्यस्तै मेची मत्स्य कृषक समूहका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटीले यहाँका मत्स्य कृषकलाई विस्थापित गराउन अवैध रुपमा भित्राउने माछालाई राज्यस्तरबाटै नियन्त्रण गर्नुपर्ने बताए। मत्स्य कृषकले राज्यलाई कर तिरेर व्यापार गर्नुपर्ने अवस्थामा भन्सार छलेर ल्याएका माछा कम मूल्यमा बिक्री गर्दा यहाँका कृषक थप मार परेको उनको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here