किसानलाई सम्मान गर्दै फाल्गुनन्द गाउँपालिका

0
38

युद्धबहादुर बोहोरा,
पाँचथर ।

 

नेपाल कृषि प्रधान देश भनेर चिनिन्छ । अनि, कृषकका नाममा करोडौं रकम वर्षेनि छुटिने पनि गरेको छ । तर, वास्तविक किसानसम्म आइ नपुग्दै उनीहरुले पाउने सुविधा बाटोमै विलय हुने समस्या हरेक ठाउँमा चर्चा सुनिन्छ ।

नाम मात्रैको कृषि प्रधान देश बनेको छ । खाद्यान्न भने बाहिरी देशबाट आयात गर्नुपर्ने बाध्यता छ । यता, पाँचथरको फाल्गुनन्द गाउँपालिकाले भने गत वर्षदेखि खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेर कृषक सम्मानको कार्यक्रम थालनी गरेको छ । विगत वर्षभन्दा यसपटक पालिकामा धान बढी उत्पादन भएको छ । बाढीपहिरोसँगै विपदको बाबजुद उत्पादनमा बृद्धि भएको जनाइएको छ । गत साल २९ जना किसानले करिब १७ सय मुरी धान फलाएका थिए ।

यो वर्ष किसानमा झनै उत्साह थपिएको र उत्पादन बढेको पालिकाले जनाएको छ । कृषि पेशालाई व्यवसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने भन्दै किसान सम्मान कार्यक्रम राखिएको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए । गत सालदेखि थालनी गरिएको किसान सम्मान कार्यक्रमले फाल्गुनन्द गाउँपालिका यतिबेला सबैतिर हाईहाई बनेको छ ।

पालिकाले धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० पारित गरेसँगै सार्वजानिक सूचना जारी गरिएको थियो । उक्त सूचनामा ५० मुरीभन्दा माथि धान उत्पादन गर्ने प्रति कृषक ३० हजार र एक सय मुरीभन्दा माथि धान उत्पादन गर्ने प्रति कृषक ५० हजार नगद पुरस्कार वितरण गर्ने घोषणा गरेको थियो ।

किसानले पेश गरेको दाबी अनुसार पालिकाको टिम उनीहरुको खेतै गएर मापदण्ड अनुसार धान नापतौलपछि जम्मा ५० देखि एक सय मुरी धान उत्पादन गर्ने ३९ जना र एक सय मुरी माथिका तीन जना गरी ४२ जना पुरस्कृत हुने सुचीमा छनौटमा परेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानजकारी दिए ।

छनौटमा परेका कृषकलाई पालिका केन्द्र घुर्बिसे पञ्चमीमा पञ्चे बाजागाजा, ढोल, झाँकीसहित भव्य ¥यालीका साथ सम्मान–पत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरिएको छ । ३९ जनालाई ३० हजारका दरले र तीन जनालाई ५० हजार रुपैयाँका दरले गरी जम्मा १३ लाख २० हजार रुपैयाँ किसानलाई पुरस्कृत गरिएको अधिकृत तुम्बापोले बताए ।

पुरस्कृत हुनेमा १ नम्बर वडाबाट सात जना, २ नम्बर वडाबाट चार जना, ४ नम्बर वडाबाट पाँच जना, ५ नम्बर वडाबाट १३ जना, ६ नम्बर वडाबाट पाँच जना र ७ नम्बर वडाबाट आठ जना गरी ४२ जनाले दुई हजार छ सय ७५ मुरी १३ पाथी धान फलाएको पालिकाले तथ्याङ्क सार्वजनिक गरेको छ ।

३ नम्बर वडा वाहेक अन्य सबै वडाबाट धान फलाउने उत्कृष्ट कृषकको रुपमा पुरस्कृत भएका छन् । पुरस्कृत हुने सबै कृषकलाई प्रमुख अतिथि १ नम्बर प्रदेश (कोशी)का उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्र सिं हाङ्युम, पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुर सिं नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत तुम्वापो, कृषि शाखा प्रमुख सुगम घिमिरेसहित कार्यपालिका सदस्य, जनप्रतिनिधीहरु, कर्मचारी लगायतको उपस्थितिमा नगद, प्रमाणपत्रसहित सम्मान गरिएको पालिका योजना तथा प्रशासन शाखा प्रमुख निर्मल अधिकारीले जानकारी दिए ।

किसानलाई प्रोत्साहन गर्न उनीहरुले लिएको ऋणको व्याज सरकारले जिम्मा लिने र व्याज अनुदान भनेर छुट दिने गरी प्रदेश सरकारले योजना बनाएको प्रमुख अतिथि मन्त्री हाङ्युमले बताए । बिऊबिजन र मल समेत किसानलाई सहज ढंगबाट उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे । गत वर्ष एक सय ६८ मुरी धान फलाएर पहिलो पुरस्कृत हुने वडा नम्बर १ निवासी मकरबहादुर तामाङले यस वर्ष भने झनै उत्पादन बढाएर एक सय ७४ मुरी फलाउने पहिलो किसान बनेका छन् ।

एक वडा एक उत्पादन भन्ने नीति लिएको यस पालिकाको १ देखि ७ नम्बर वडासम्म मकै, किवी, आलु, अकबरे खुर्सानी, कोदो, कफी र सुन्तला उत्पादन गर्ने सूचीमा राखेको उपाध्यक्ष नेम्वाङले बताए । सबै किसानलाई अनुदानको व्यवस्था गरेको जनाएको छ । पालिकाले छिट्टै बाली विमाको प्रकृया शुरु गर्ने जनाएको छ । कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै धेरै धान उत्पादन गर्ने किसानलाई सम्मान गर्दै आएको छ ।

देशभरका कृषि पर्यटकलाई गाउँपालिका भित्र्याउने सोचाइले यो कार्यक्रम थालनी गरिएको पालिका अध्यक्ष आङ्देम्बेको भनाइ छ । यसै कार्यक्रमका अवसरमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता यसै पालिका वडा नम्बर ५ निवासी खेलाडी इन्द्रकला नेम्वाङ (निकी)लाई नगद ३५ हजार रुपैयाँ र कदरपत्रसहित सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here