उर्लाबारी नगरपालिकाको नगरसभाको १३औं अधिवेशन सम्पन्न

0
24

उर्लाबारी।

उर्लाबारी नगरपालिकाको नगरसभाको १३औं अधिवेशन सम्पन्न भएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

बुधबार बसेको दोस्रो बैठकमा करार कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विधेयक २०८१ पारित भएको छ। सो विधेयक कानुन मस्यौदा तर्जुमा समितिका सदस्य गौरीशंकर दाहालले नगरसभामा प्रस्तुत गरेका थिए। यसैगरी, कार्यपालिका सदस्य मनमाया तामाङले नगरपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको प्राप्तांक तथा प्रगति सम्बन्धी जानकारी नगरसभासमक्ष प्रस्तुत गरेकी थिइन् ।

नगरसभामा वडा नं. ८ का वडा सदस्य रुद्रप्रसाद लामिछानेले उर्लाबारी नगरको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै वडा संख्या थप गर्नुपर्ने धारणा राखेका थिए। नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख गंगाप्रसाद खरेलले असीमित आवश्यकताका बीच सीमित स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै नगरको समृद्धि यात्रालाई अगाडि बढाइरहेको बताएका छन् । उनले नगरपालिकाले गौरवका आयोजनाहरू सञ्चालन गर्दै पूर्वाधार तथा सामाजिक विकासलाई सँगसँगै अघि बढाइरहेको उल्लेख गरेका छन् ।

नगर उपप्रमुख मीना खतिवडा पौडेलले चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट कार्यान्वयनको अवस्था, कार्यपालिका बैठकबाट भएको रकमान्तर अनुमोदन, स्वीकृत बजेट शीर्षकबाट रकमान्तर तथा बजेट खण्डीकरण प्रस्ताव प्रस्तुत गरेकी थिइन्। नगरसभाले सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको नगर उपप्रमुखको सचिवालयले जनाएको छ।

त्यसैगरी विभिन्न समितिका संयोजकहरूले प्रस्तुत गरेका प्रतिवेदनहरू पनि सर्वसम्मत रूपमा पारित गरिएको छ। नगरसभाको सफल समापनमा नगर प्रमुख खरेलले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नगर विकासको यात्रामा सहकार्य र सहभागिताको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here