बिर्तामोड ।
झापाको काँकरभिट्टामा गत साता भारततर्फ तस्करीका लागि राखिएको लसुन गोदामबाटै चोरिएपछि चोरलाई निर्घात कुटपिट गरिएको भिडियो भाइरल भयो । लसुन तस्करीमा संलग्न रहँदै आएका श्याम थापाको गोदामबाट लसुन चोरिएपछि उनले चोरलाई पक्रेर कुटपिट गरे । लसुन चोर्नेले पछि चोरिएको लसुन फिर्ता गरेको बुझियो । यस बारेमा न प्रहरीले चासो राख्यो, न त कसैले उजुरी नै ग¥यो । घटनालाई गुपचुप पारियो ।
यो घटनाले नेपालबाट भारततर्फ खुलेआम लसुन तस्करी हँुदै आएको प्रष्ट्याउँछ । अझ काँकरभिट्टा लगायतका नाका तस्करीको मुख्य नाका नै मानिन्छ । स्याउ, ड्रोन र लाइटरपछि तस्करको ध्यान लसुनमा छ । सुपारी पहिलेदेखि नै चलेको धन्दा हो । मटर पनि उत्तिकै तस्करी हँुदैछ । सुन, ई–सिगरेट पनि चीनबाट नेपाल हँुदै भारत तस्करी हुने सामानमा पर्छन् ।
तर, यतिबेला प्रहरीकै मिलेमतोमा नेपालबाट भारततर्फ दैनिक चार करोड मूल्य बराबरको चाइनिज लसुनको तस्करी हुने गरेको छ । जनपद र सशस्त्र प्रहरीकै मिलेमतोमा व्यापारीहरुले अवैध रूपमा चाइनिज लसुन साइकल, मोटरसाइकल, ठूला गाडी र भरियामार्फत भारततर्फ तस्करी गर्ने गरेको पाइएको छ ।
पैठारीमा सरकारी निकायको फितलो नियन्त्रण प्रणालीले चीनबाट लसुन ल्याएर भारतमा तस्करी गर्ने प्रवृत्ति बढेको छ । चालू आर्थिक वर्ष २०८१/०८२को साउनदेखि पुस मसान्तसम्ममा छ अर्ब १८ करोड ५४ लाख रुपैयाँ बराबरको लसुन नेपालले आयात गरेको विभागको तथ्याङ्क छ । यो सबै लसुन भारत तस्करीका लागि ल्याइएको हो । गत आर्थिक वर्षभरिमा १७ हजार ४१ टन (दुई अर्ब २२ करोड रुपैयाँ) मात्रै लसुन आयात भएको थियो ।
नेपालमा खास गरी पछिल्ला महिनाहरूमा देखिएको लसुनको ‘अस्वाभाविक आयात’ ले आफूहरूलाई आश्चर्यमा पारेको सरकारी अधिकारीहरूले नै बताएका छन् । अर्बौँ रुपैयाँ बराबरको लसुन आयात भएको देखिएपछि त्यसको कारणबारे हाल अध्ययन समेत भइरहेको भन्सार विभागका एक निर्देशकले बताए ।
छ महिनाको अवधिमा नेपालले प्रतिमहिना औसतमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गरेको देखिन्छ । भन्सार विभागको वार्षिक तथ्याङ्क हेर्दा नेपालमा लसुन आयातको परिणाम बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा ३१ करोड ५३ लाख रुपैयाँको लसुन आयात गरेको नेपालले आर्थिक वर्ष २०७७/०७८मा एक अर्ब पाँच करोड ९५ लाख रुपैयाँको लसुन भित्र्याएको तथ्याङ्क छ । विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब पाँच करोड ३३ लाख रुपैयाँ र २०७९/०८० मा एक अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको लसुन आयात भएको देखिन्छ ।
आर्थिक वर्ष २०८०÷०८१मा दुई अर्ब २२ करोड ५२ लाख रुपैयाँ बराबरको लसुन आयात भएकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा चाहिँ उच्च परिमाणमा लसुन भित्र्याइएको हो । यसले तस्करहरुले लाइन सहजै मिलाएर तस्करीको परिणाम बढाएको स्पष्ट हुन्छ ।
सुपारीझैं नेपाली लसुन भनेर भारत तस्करी गर्ने गरिए पनि नेपाली लसुन नेपालमै खपत हुने गरेको जानकारहरू बताउँछन् । चालूआर्थिक वर्ष २०८१/०८२को साउनदेखि पुस मसान्तसम्ममा छ अर्ब १८ करोड ५४ लाख रुपैयाँ बराबरको लसुन नेपालले आयात गरेको विभागको तथ्याङ्क छ ।
गतआर्थिक वर्षको साउनदेखि पुससम्म पहिलो छ महिनाको अवधिमा ८७ करोड ८९ लाख रुपैयाँ बराबरको लसुन आयात भएको थियो । त्यससँग तुलना गर्दा चालूआर्थिक वर्षको शुरुका छ महिनामा सात गुणाभन्दा बढी मूल्य बराबरको लसुन नेपालले आयात गरेको देखिन्छ । सो अवधिमा भने जम्मा नौ लाख २० हजार रुपैयाँ बराबरको लसुन निर्यात भएको तथ्याङ्कले देखाउँछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयस्थित अधिकारीहरूका अनुसार चीनबाट लसुन आयात गरेर अवैध माध्यमबाट भारत निर्यात गरिएको देखिन्छ । छ महिनामा छ अर्ब रुपैयाँभन्दा बढीको लसुन खपत गर्ने हाम्रो अवस्था देखिँदैन । लसुनको अवैध व्यापार भइरहेकोे देखिन्छ ।
भारतीय अधिकारीहरूले पछिल्ला द्विपक्षीय छलफलका क्रममा नेपालबाट चिनियाँ लसुन अवैध रूपमा भारत भित्रिन थालेको प्रवृत्तिबारे चासो राखेका बताइएको छ । भारतमा उत्पादन कम भएर माग बढेका बेला नेपालबाट चिनियाँ लसुनको अवैध निकासी बढेको हो ।
बिरुवा क्वारेन्टीन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा तोकिएका प्रक्रियाहरू पु¥याएर मात्रै नेपालमा निषेध नगरिएका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको आयात गर्न पाउने व्यवस्था रहेको छ । तर, प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रबाट अनुमति नलिईकन बैंकबाट प्रतीतपत्र (एलसी) जारी गराएकै आधारमा आयातकर्ताहरूले लसुन आयात गरेको पाइएको छ ।
उक्त पृष्ठभूमिमा प्लान्ट क्वारेन्टीन समितिको बैठकले गत मंसीर १७ गते नियमित शत्रुजीवहरूको सूची अद्यावधिक गर्ने निर्णय गरेको छ, तर सतर्कता अपनाइएको भने पाइँदैन ।
प्रहरीकै संलग्नतामा स्याउ पनि तस्करी
२९ जेठ ०७८मा भारतीय प्रहरीले सुनसरी हुँदै भारततर्फ प्रवेश गरिरहेको तीन ट्रक चिनिया स्याउ बरामद ग¥यो । छानबिनका क्रममा सशस्त्र र जनपदका प्रहरीहरूको संलग्नता पाइएपछि उनीहरू कारबाहीमा परेका थिए ।
त्यस्तै, गतवर्ष २३ वैशाखमा झापाको केचनाबाट स्याउ तस्करी भइरहेको अवस्थामा एक सय १५ कार्टुन स्याउ सशस्त्र प्रहरीको गस्तीले बरामद गरेको थियो । तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र र जनपदका प्रहरी पुनः कारबाहीमा परेका थिए । अझै पनि चीनबाट आयात गरेर भारततर्फ स्याउ तस्करी हुने क्रम रोकिएको देखिँदैन ।
चिनियाँ स्याउको आयातमा अझै कमी आएको छैन । आर्थिक वर्ष ०७८÷७९ मा चीनबाट पाँच अर्ब ९८ करोेडको स्याउ आयात भएको थियो । आव ०७९/०८०मा पाँच अर्ब १५ करोडको आयात भएको थियो । आव ०८०/८१ मा सात अर्ब ५७ करोड र आव ०८१/०८२ को पाँच महिनामा दुई अर्ब ९३ करोडको स्याउ चीनबाट आयात भएको विभागको तथ्यांक छ ।
भारतमा प्रतिबन्धपछि चिनिया लाइटरको तस्करी
भारतले स्थानीय सलाईको बजारलाई प्रोत्साहन गर्न २० भारतीय रुपैयाँभन्दा कम मूल्यका लाइटरसँगै यसका पाट्र्स आयातमा पनि प्रतिबन्ध लगाएको छ । सोहीकारण तस्करी समूहले चीनबाट लाइटर आयात गरेर भारततर्फ तस्करी गर्न थाल्यो । यो विषयमा नेपालस्थित भारतीय दूतावासले नेपालको ध्यानाकर्षण समेत गराएको थियो । यद्यपि, नेपालको भन्सार प्रशासनले लाइटरको तस्करी नियन्त्रण गर्न सकेको छैन । तस्करीलाई निरुत्साहित गर्न चालूआर्थिक वर्षको आर्थिक ऐनमार्फत लाइटरको आयातमा भन्सार महशुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याइएको छ ।
विभागका अनुसार चालू आवको पाँच महिनामा चीनबाट २३ करोड ९२ लाखको पकेट लाइटर (ननरिफिलेबल) र १२ करोड ३८ लाखको रिफिलेबल लाइटर आयात भएका छन् । गत आव ०८०/०८१मा ननरिफिलेबल लाइटर तीन अर्ब ४६ करोडको र रिफिलेबल लाइटर १७ करोड ७० लाखको आयात भएको थियो । ०७९/८० मा ननरिफिलेबल लाइटर ४६ करोड १५ लाख र रिफिलेबल लाइटर एक करोड १६ लाखको आयात भएको थियो ।