ऐतिहासिक, पौराणिक क्षेत्रको प्रवद्र्धन गर

0
22

महाभारतकालीन इतिहाससँग जोडिएको भद्रपुर नगरपालिका वडा नं. ३ मा अवस्थित किच्चकबध स्थल झापाकै गौरव हो । यसै त झापा यस्ता पौराणिक ऐतिहासिक एवम् धार्मिक महŒवका दृष्टिले सम्पन्न छ नै अझ पुरातत्वविभागले उत्खनन गरेपछि किच्चकबधको महव झनै बढेको छ । जिल्लाको सदरमुकामबाट लगभग दश किलोमिटर दक्षिण, देवनीया र सीमा नदी मेचीको काखमा रहेको किच्चकबध करिब दश विगाह क्षेत्रफलमा फैलिएको छ । युद्धकालीन गढको रुपमा देखिने किच्चकबधमा पुरातत्वविभागले चरण–चरणमा उत्खनन गरी त्यस ठाउँको प्राचीनता र पौराणिकताको वैज्ञानिक परीक्षण समेत गरिसकेको छ । आधुनिक प्रयोगशाला समेतको परीक्षणमा उक्त स्थान २२ सय वर्ष पुरानो रहेको प्रमाणित भइसकेको छ ।

किच्चकबध क्षेत्रको उत्खननका क्रममा भेटिएका माटो र धातुका भाँडाकुँडा लगायतका सामग्रीहरुसहित सुरक्षा पर्खाल पनि भेटिएको थियो । दुई तहको सामग्री फेला परेकोले एउटा सभ्यताको विनाश भएर अर्को सभ्यताको विकास भएको ठाउँका रुपमा किच्चकबधलाई लिइन्छ । हिन्दू धर्मको महाग्रन्थ महाभारतकालीन प्रसंग जोडिएकाले धार्मिक स्थलका रुपमा लिइएको यहाँ प्रत्येक वर्ष स्वस्थानी पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । त्यहाँ रहेको पोखरीमा स्नान गर्ने, त्यहाँ रहेका मन्दिरहरुमा पूजाआजा गर्ने र पितृ श्राद्ध गर्ने पनि चलन छ । बीस वर्षे किच्चकबध गुरुयोजना निर्माण भइ यहाँको ऐतिहासिक महŒव उजागर गर्दै यसको संरक्षण र विकास गर्न पूर्वाधारहरु पनि निर्माण भएको छ । यसको सम्पन्नताले किच्चकबधको पर्यटकीय महŒवको प्रवद्र्धनमा सहयोग गर्नेछ ।

किच्चकबधमा अहिले लागेको मेलामा झापा लगायत छिमेकी जिल्ला र भारतका समेत श्रद्धालुहरुको भीड छ । पौराणिक कथा अनुसार राजा विराटका सेनापति किच्चकले गुप्तबास बसेका पाण्डवहरुकी पत्नी द्रौपदीलाई कुदृष्टि राखेको थाह पाएपछि भीमसेनले बध गरेका थिए । भीमसेनले परस्त्रीमाथि कुदृष्टि राख्ने किच्चकलाई घाँटी थिचेर मारेको र रगत पखाल्न वाण हानेर निकालेको पानीबाट पोखरी बनेको विश्वास गरिन्छ । त्यही विश्वासमा बर्सेनि हजारौं पर्यटकहरु किच्चकबध पुग्ने गर्छन् र विशेष उत्सवमा मेलामा सहभागी हुन्छन् । उक्त पोखरीमा नुहाउँदा रोगब्याध हराउने र मनले चिताएको पूरा हुने विश्वास छ । तीन दिनसम्म लाग्ने मेलालाई व्यवस्थित गर्न र किच्चकबधको प्रवद्र्धन तथा संरक्षणका लागि समिति गठन गरिएको छ । मेलालाई सुरक्षित गर्न नगरपालिकासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालित गरिएको किच्चकबध जस्तै अन्य धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको समेत उचित विकास गर्न सकिए यसले आर्थिक गतिविधि पनि चलायमान हुनसक्छ । त्यसतर्फ पनि राज्यको ध्यान जानु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here