वैदेशिक रोजगारी अहिले नेपालीको पहिलो प्राथमिकता हुन थालेको छ । त्यसै अनुसार विदेश जानेको संख्या बर्सेनि बढ्दै गएको छ भने वैदेशिक रोजगारीका नाममा ठगी हुने क्रम पनि उच्च रहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीको आकर्षक प्रलोभनमा परी अवैध ढंगबाट विदेश जान खोज्नेहरु ठगीमा परेको उजुरी लिएर प्रहरी समक्ष पुग्नेको संख्या बढ्दो छ । सरकारी तथ्यांक अनुसार प्रति वर्ष विदेश जाने युवाहरुको औसत संख्या सात लाख छ । त्यसबाहेक तथ्यांकमा नआउने अवैध बाटोबाट वैदेशिक रोजगारीमा जानेको संख्या पनि धेरै छ । यसै पनि वैदेशिक रोजगारीमा जानेले जानु पूर्व आवश्यक सूचना, कानूनी प्रक्रिया, कामको प्रकृति थाहा नपाउँदा ठगीमा पर्नु परेको छ भने अवैध ढंगले जानेहरु त अझै बढी पीडामा पर्नु अस्वभाविक हुँदैन ।
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन गठित वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको छ महिनामा करिब तीन हजार पाँच सय उजुरी परेको छ । विभागमा सूचीकृत उजुरीमा म्यानपावर कम्पनी, एजेन्ट र व्यक्तिबाट ठगिएका अधिक छन् । यसरी ठगीमा पर्नेहरु वैध बाटोबाटै गएको अवस्थनमा विभागले संलग्न दोषीलाई सजाय गराएर पीडितलाई क्षतिपूर्ति दिलाउँछ, तर व्यक्तिबाट ठगिएकाहरु झनै पीडा खप्न बाध्य हुन्छन् । क्षतिपूर्ति प्राप्त गर्न आवश्यक प्रमाण कागजात, बैंक भौचर लगायत हुनुपर्दछ अनि मात्र विभागले कारवाही प्रक्रिया अघि बढाउँछ । तर, यदि कुनै व्यक्ति मार्फत ठगिएको हो भने पीडितले न्याय पाउने सम्भावना नहुन सक्छ । व्यक्तिगत रुपमा हुने ठगी सबैभन्दा ठूलो ठगी हो । धेरै नेपाली दलालहरुको प्रलोभनमा छिट्टै पर्छन् । दलालहरुले सजिलो काम, उच्च तलब, चाँडो काम पाइने जस्ता झुठो प्रलोभनमा लोभिन्छन् । अझ युरोपका देशहरुमा व्यानडा, अस्टे«लिया, जापान, अमेरिका लगायतका देश पठाउने नाममा प्रतिव्यक्ति अस्सी लाखसम्म ठगिएका सूचना सार्वजनिक भइरहेका छन् ।
पछिल्लो घटना अनुसार झापा भद्रपुरका अनिरुद्र तिम्सिना अनुपले वैदेशिक रोजगारीमा अजरवैजान पठाउने प्रलोभनमा विभिन्न व्यक्तिसँग साठी लाख रुपैयाँभन्दा बढी ठगी गरेर फरार भएका छन् । पीडितहरुले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर छिमेकी तिम्सिनाले आफू लगायत धेरै जनाबाट उक्त रकम ठगी गरेको भद्रपुरकै दयाराम मगरले जानकारी दिए । युरोपको लिथुआनियामा कारखाना मजदुरमा आकर्षक सेवासुविधाको लाभ देखाएका तिम्सिनाले आखिरमा अजरबैजान पठाउने भन्दै मगरसहितलाई भारतको चण्डीगठ पु¥याएर सत्ताइस दिनसम्म राखेका थिए । यसरी ठगिनेहरुमा भारतका तीन जना समेत छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिनुपर्ने नेपालीको बाध्यता हो । यसकै फाइदा उठाउँदै दलाल, म्यानपावर कम्पनीहरुले सोझा मात्र होइन शिक्षित युवालाई समेत ठगी रहेका छन् । श्रम स्वीकृत नलिइ, त्यहाँको भाषा, कानून र कामको बारेमा थाह नपाइ जाने ठगिने कुरा नौलो होइन । यस्तोमा सरकारले ठगहरुलाई कठोर दण्डको व्यवस्था गरेर जनतालाई ठगी हुनबाट जोगाउनु पर्दछ ।