झापा ।
अन्तर्राष्ट्रिय झापाली समाजको चौथो क्षेत्रीय सम्मेलन आगामी अप्रिल ११ र १२ तारिख अमेरिकाको वासिङटनडिसीमा हुने भएको छ ।
समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नगेन्द्र पोखरेल (नवीन)ले विज्ञप्ति जारी गरी चौथो क्षेत्रीय सम्मेलनको मिति तय भएको जानकारी गराएका हुन् । समाजको ११औं बैठकले गरेको निर्णय सार्वजनिक गर्दै क्षेत्रीय सम्मेलनको लागि आयोजक राष्ट्र झापाली समाज अमेरिका आवश्यक तयारीमा लागेको जनाइएको छ ।
समाजले संसारभर छरिएर रहेका झापालीलाई उक्त सम्मेलनमा सहभागिताका लागि आग्रह गरेको छ । विश्वभर छरिएर रहेका झापालीलाई एकत्रित गर्दै आपसी भाइचारालाई बढाउँदै यसअघि सम्पन्न तीन वटा क्षेत्रीय सम्मेलनमा घोषणा गरिएका बाँकी परियोजनालाई मुर्तरुप दिन गृहकार्य शुरु गर्ने, संस्थाको छुट्टै अक्षयकोष स्थापना गर्ने, विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने लगायतका विषयमा छलफल गरी समाजले घोषणापत्र जारी गर्ने जनाइएको छ ।
संस्थाको स्थापनादेखि नै विश्वभर रहेका झापालीलाई समेट्ने उद्देश्यले विभिन्न क्षेत्रमा एक कार्यकालमा कम्तीमा एक क्षेत्रीय सम्मेलन गर्ने लक्ष्य अनुसार समाजले २०१८ को अप्रिल २६–२८ मा प्रथम क्षेत्रीय सम्मेलन मध्यपूर्वको कतारमा सम्पन्न गरेको थियो । त्यस्तै २०१८ कै सेम्टेम्बर २४–२६ मा दक्षिण कोरियामा दोस्रो क्षेत्रीय सम्मेलन र २०२४ को अप्रिल २७–२८ मा युरोपको माल्टामा तेस्रो क्षेत्रीय सम्मेलन सम्पन्न भएको थियो ।
क्षेत्रीय सम्मेलनको आयोजना सम्मेलन हुने राष्ट्रको झापाली समाजको राष्ट्रिय समितिले गर्दै आएका छन् ।