ओडिसा घटनाले सिकाएको पाठ

0
19

नेपाल र भारतकाबीच सामाजिक, सांस्कृतिक, शैक्षिक तथा पारवहनको विशेष निकटता छ । दुई देशका बीच समय–समयमा भएका सन्धि सम्झौताहरुले नेपाली र भारतीयहरुलाई विशेष सुविधा पनि दिएको छ । यसकै फाइदा उठाउँदै आर्थिक गतिविधि समेत सहज ढंगले सञ्चालन भइरहेका पनि हुन् । अझ शिक्षाका लागि भारतको बनारस शदियौंदेखि नै नेपाली विद्यार्थीहरुको गन्तव्य हुँदै आएको हो । धार्मिक तथा सांस्कृतिक समानताका कारण हाम्रा अग्रजहरुले धार्मिक विषयको अध्ययन गर्ने केन्द्रका रुपमा रहेको भारतका विभिन्न राज्यहरुमा रहेका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या हजारौं रहेको छ ।
नेपालमै गुणस्तरीय, भरपर्दो, प्राविधिक शिक्षाको उपलब्धता हुँदाहुँदै पनि भारत लगायत विश्वका विभिन्न देशहरुमा जाने नेपाली विद्यार्थीको संख्या अझै उच्च छ । भारतसँग सीमाना जोडिएका नेपाली भू–भागबाट प्राथमिक तहदेखि नै आफ्ना सन्तानलाई त्यहाँ पठाउने गरेका छन् । अहिले पनि अन्य देशको तुलनामा भारतमा उच्च तथा प्राविधिक शिक्ष्नाका लागि जानेहरु धेरै छन् । भारतसँगको विशेष सम्बन्धका कारण अन्य कुनै झन्झट नहुने हुँदा अघिकांशले भारतलाई शिक्षाको गन्तव्य बनाउने गरेका छन् । यस्तोमा कहिलेकाहीँ नेपाली विद्यार्थीमाथि भारतमा दुव्र्यवहार हुनु सभ्य समाजका लागि अशोभनीय कुरा हो । यहीबेला ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी– केआइआइटीमा अध्ययनरत् छात्रा प्रकृति लम्सालको शंकास्पद निधन भयो । उक्त घटनाको विरोधमा उत्रिएका उनका नेपाली विद्यार्थी साथीहरुले उनको मृत्यु अस्वभाविक भन्दै दोषीलाई कारवाहीको माग गरेर आन्दोलनमा उत्रिए ।
विद्यार्थीको प्रदर्शनमा त्यहाँका कर्मचारीहरुले प्रदर्शनकारी विद्यार्थीमाथि हातपात मात्र गरेनन् अपमानपूर्वक होस्टलबाट निकाल्यो । त्यसक्रममा कलेज प्रशासनले नेपाल र सम्पूर्ण नेपालीलाई नै लाञ्छित र अपमान ग¥यो । निष्पक्ष छानविनको माग गर्नु विद्यार्थीको नैसर्गिक अधिकार हो, तर प्रशासन नेपाली र नेपालको स्वतन्त्रता र सार्वभौम अधिकार नै कुण्ठित हुने अभिव्यक्तिमा उत्रियो । विरोधको क्रम बढ्दै गएपछि दुरुत्साहनको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्न प्रहरी बाध्य भयो । ढिलोगरी नेपाल सरकारको कानमा बतासले छोएपछि सरकारका तर्फबाट पनि तदारुकता देखाइएको छ । यो सकारात्मक कुरा हो, तर राज्य सञ्चालकहरुले बुझ्नुपर्छ कि विद्यार्थी किन पलायन हुँदैछन् ? आफ्ना शिक्षालय, प्रणाली र पाठ्यक्रममा भएका त्रुटिको पहिचान गरेर देशमै टिकाउने वातावरण बनाउनु पर्दछ । हाम्रा छोराछोरीले शिक्षाका लागि विदेशीको अपमान सहनु नपरोस् । त्यसतर्फ नीति निर्माताहरुको गम्भीर जानु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here