बैङ्किङ कसुरका १६ हजारभन्दा बढी मुद्दा

0
30

झापा ।

बैङ्किङ कसुरका १६ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीदेखि सरकारी वकिल कार्यालय र अदालतसम्म बैङ्किङ कसुरका १६ हजारभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्ष ०८०/०८१को प्रतिवेदन अनुसार प्रहरीदेखि अदालतसम्म १६ हजारभन्दा बढी बैङ्किङ कसुरका मुद्दा दर्ता, अनुसन्धान र मुद्दा प्रक्रियामा रहेको देखिएको हो ।

प्रतिवेदन अनुसार गतवर्ष देशभरका प्रहरी कार्यालयहरूमा १३ हजार २ सय ६३ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएका थिए । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोमा ६, काठमाडौं उपत्यकाभित्र सात हजार ६५६, कोशी प्रदेशमा एक हजार चारवटा, मधेश प्रदेशमा एक हजार १६, बागमती प्रदेशमा ७३८, गण्डकी प्रदेशमा एक हजार ८२, लुम्बिनी प्रदेशमा एक हजार १७८, कर्णाली प्रदेशमा २८६ र सुदूरपश्चिम प्रदेशमा २९७ बैङ्किङ कसुरका निवेदन दर्ता भएका थिए ।

महान्यायाधीवक्ता कार्यालयमा गतआर्थिक वर्ष ०८०/०८१मा रहेकामध्ये १०३ वटा मुद्दामा कसुर ठहर भएको थियो भने ६८ वटा मुद्दामा प्रतिवादीहरूले सफाइ पाएका थिए । साथै, चालूआर्थिक वर्षमा ५ सय मुद्दा महान्यायाधीवक्ताको कार्यालयमा कायमै रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार गत वर्षमा देशैभरका उच्च सरकारी वकिल कार्यालयहरूमा अघिल्लो आर्थिक वर्ष ०७९/०८० र गतआर्थिक वर्ष ०८०/०८१मा गरी ७०३ वटा मुद्दाको लगत रहेकोमा १९२ वटा बैङ्किङ कसुरका मुद्दामा कसुर कायम भएको थियो । त्यस्तै १४० वटा मुद्दाका आरोपितहरूले सफाइ पाएको प्रतिवेदनमा उल्लेख छ ।

साथै, ती कार्यालयहरूबाट गत आर्थिक वर्षमा २२ वटा बैङ्किङ कसुरका मुद्दामा सहन्यायाधीवक्ताले मिलापत्र गराउन आदेश दिएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा विशेष सरकारी वकिल कार्यालयले १९ वटा बैैंकिङ कसुरका मुद्दा दायर गरेको प्रतिवेदनमा उल्लेख छ ।

गतआर्थिक वर्षमा देशैभरका जिल्ला सरकारी वकिल कार्यालयहरूमा परेको निवेदनका आधारमा ती कार्यालयले ११ हजार ६७ वटा मुद्दामा अभियोजन गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये तीन हजार १३६ वटा मुद्दा नचलाउने निर्णय भएको थियो । सो अवधिमा जिल्ला सरकारी वकिल कार्यालयहरूमा १५ हजार ४५ वटा बैङ्किङ कसुरका मुद्दा रहेकोमा ती कार्यालयहरूले तीन हजार २४९ वटा मुद्दालाई कसुर कायम गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये २९० वटा मुद्दाका ३०१ जना प्रतिवादीहरूले सफाइ पाएका थिए ।

प्रतिवेदन अनुसार गतआर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयहरूबाट एक हजार ११४ जना प्रतिवादी जोडिएको एक हजार १०६ वटा बैङ्किङ कसुरका मुद्दा फिर्ता भएको थियो । गतआर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा दर्ता भएकामध्ये १० हजार ५४७ जना प्रतिवादी भएको १० हजार ४ सय बैङ्किङ कसुरका मुद्दा अगाडि बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

गतआर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा रहेका जम्मा मुद्दामध्ये बैङ्किङ कसुरका पाँचवटा मुद्दामा संगठित अपराधसमेत दाबी भएको र ती मुद्दाहरू सो आर्थिक वर्षको अन्तिमसम्म यथास्थितिमा नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here