झापा, सहारा नेपाल साकोसद्वारा सञ्चालित विद्यालय सहारा साकोस शिक्षा सदनले आफ्नो बार्षिकोत्सव शुक्रवार साङ्गीतिक प्रस्तुतिसंगै मनाएको छ ।
बार्षिकोत्सव समारोहमा प्ले ग्रुपदेखि कक्षा सातमा अध्ययनरत विद्यार्थीहरुले आ– आफ्नो कला प्रस्तुत गरेका छन् । स्वागत मन्तव्य , गीत, नृत्य र नाटक प्रस्तुत गरेका विद्यार्थीहरुको कलाको सहभागी अभिभावक र अतिथिहरुले मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
५९० विद्यार्थी अध्ययनरत सहारा साकोस शिक्षा सदनका अधिकांश विद्यार्थीहरुले मौलिक संस्कृति झल्कने मारुनी, शिवताण्डव, नेवारी, डोकेमी जस्ता नृत्यहरु प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विन्दू श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहमा अघिल्लो वर्ष कक्षा उत्कृष्ठ विद्यार्थीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कक्षा गत उत्कृष्ठ विद्यार्थीहरुलाई विद्यालयले सत प्रतिशत छात्रवृति प्रदान गरेको विद्यालयका प्रिन्सिपल विष्णु सिंगलले जानकारी दिए ।
विार्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका परिकल्पनाकार एवम् सहारा साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, अभिभावक देवी प्रसाद प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहारा शिक्षा सदनमा अध्ययनरत सबै विद्यार्थी र शिक्षकलाई दिवाकालिन भोजनको समेत प्रवन्ध गरिँदै आएको कार्यक्रममा जानकारी दिइएको छ ।
विद्यार्थीहरुलाई सहारा शिक्षा सदनले छोटो समयमा गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा सम्लग्न गराएको अभिभावकहरुको प्रतिक्रिया छ । बार्षिकोत्सव कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल सिङ्गलले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थीहरु आरभ घिमिरे र सृष्टि खतिवडाले स्वागत मन्तव्य राखेका थिए ।
त्यस अवसरमा सहारा साकोस शिक्षा सदनले प्याव्सनको सदस्यता ग्रहण गरेको थियो । सदस्यताको प्रमाणपत्र प्याव्सन बिर्तामोड अध्यक्ष सुरेन्द्र खरेलले विद्यालयका प्रिन्सिपललाई प्रदान गरेका थिए ।