आमा अब त उठ्न

0
28

आमा अब त उठ्न
तिमी सुति रहेछौं यहाँ
उठ् यहाँ कति भिड छ
यो भिड लाग्छ तिमीलाई हेर्न आएका हुन
तिमी लामो निद्रामा शययामा लडिरहेछौ
म अबोध बालक तिमीलाई टुलुटुलु हेरिरहेछु
मलाई यो भिडसँग डर लागिरहेछ
आमा अब त उठ् न ।

सबै रंगहरुमा म रम्न सिक्दैछु
तोतेबोली पनि सकिएको छैन
तर, तिमीसँग म बोल्न सिक्दैछु
अनकन्टार यो खोलाको बीचमा
हरेक नयाँ–नयाँ अनुहारको माझमा
म तिम्रो साहारा खोज्दैछु, लुट्पुटिन खोज्दैछु
मलाई यो भिडसँग डर लाग्दैछ
आमा अब त उठ् न ।

सबैलाई देखेर मुसुक्क हाँस्ने मेरी आमा
आज किन हावाको बेग रोकिए झैं
नदीको बहाब बग्न थामिए झैं
दिनको उज्यालोमा पनि अँध्यारो छाए झैं
तिमी मौन नहासी पल्टिरहेकी छौ
आमा यो शून्यता चिरेर
मलाई सहारा देउ तिम्रो मुस्कान फैलाएर
आमा अब त उठ् न ।

रातो रंगमा रंगिएकी तिमी
रातै सारीमा सजिएकी तिमी
अबिर लगाई श्रीङ्गारभरि
मौनतामा अहिले कतै टोलाएकी तिमी
सबेरै त बिउझेलाउ तिमी आमा
तर, यो भिडले तिमीलाई निल्ने डर छ
दाउराको चाङ बनाई चिता तयार गर्दै
आमा अब त उठ् न ।

सधैँ बाँधिएको कपाल हुने तिम्रो
आज किन सबै फिजारिएको छ
घरको धमाधम अनि भागदौडमा व्यस्त तिमी
तिम्रो चलयमान शरीर आज अचेत बनेको छ
बुवा अनि हामी दुःखमा परेका छौ
यो आँशु रोक्ने सामथ्र्य तिम्रो छ
तिमी धागो बनी माला झैं गाँस्नलाई
आमा अब त उठ् न ।

गुरुले पाठ सकि, दियो बाल्न लाए
मेरा दाइलाई तयार गरी दागबत्ती दिन लाए
दाउराले थिचिएको तिम्रो शरीरमा
चोट कति लाग्यो होला, कति गाह्रो भयो होला
भिड जुर्मुराउँदै तिमीलाई हेर्न अघि सरे
आगो दन्किँदा तिमीलाई पोल्यो कति होला
म अबोध बालक उद्धार गर्न सकिन तिम्रो
आमा अब त उठ् न ।

भिडमा धेरै मिश्रित आवाज आएको सुने
‘अब त घरपरिवार कै हरिबिजोग हुने भयो’
‘त्यो सानो बच्चाको आमा बिनाको भविष्य ?’
‘कति मेहनती थिई असोचनिय घटना भयो’
‘चिता जल्न थाल्यो’ तिम्रो शरीरमा आगो दन्कियो
नानाथरी यस्ता प्रश्नको जवाफ म कसरी दिउ ?

ढिला नगरी उठि सबैलाई उत्तर देउन आमा
आमा अब त उठ् न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here