समृद्धिका लागि भोजनको सदुपयोग

0
20

आदिम कालबाट शुरु भई वैदिककाल हुँदै अहिलेको आधुनिक समाजसम्मको अवस्थासम्म आइपुगेको हाम्रो समाजमा समृद्धिलाई लक्ष्य, उद्देश्य र निशाना बनाइएको छ । मानिसलाई सुख र सुविधाको लागि आवश्यक पनि छ । मानिसलाई बाँच्न भोजन चाहिन्छ, भोजनका लागि बाँच्ने कि बाँच्नका लागि भोजन गर्ने भन्ने वाक्यहरु धेरै पटक सुन्नमा पनि पाइन्छ । खानकै लागि बाँच्ने हो भने दिनभरमा धेरै पटक खानुपर्छ र अघाउन पनि अघाइँदैन । तर, बाँच्नका लागि खाने हो भने शरीरलाई पोष चाहिँ पक्कै लाग्छ । बाँच्नका लागि मानिसले बढीमा दुई पटक भोजन गर्नु आवश्यक हुन्छ ।
विश्व स्वास्थ्य संगठनले गर्भवतीले सधैँभन्दा थप एक पटक खानु भनेको छ भने जन्मेदेखि छ महिनासम्मको बच्चालाई दिनभरिमा कम्तिमा आठदेखि १० पटकसम्म स्तनपान गराउनु भनेको छ । स्तनपानको साथ साथै छ महिनादेखि नौ महिनासम्म १२५ मि.लि. मात्रा हुने दरले दिनमा तीन पटकसम्म शरीरलाई शक्ति दिने, शरीरलाई वृद्धि गर्ने र शरीरलाई रोगबाट बचाउनेखालका खानेकुरा मह जस्तो लेदो हुने गरी तयार गरेर खुवाउनुपर्छ भन्ने छ ।

यस प्रकार नौ महिनादेखि १२ महिनासम्म २५० मि.लि. दरले तीन पटक र थप एक पटक खाजाको रुपमा खुवाउनुपर्छ । एक वर्षदेखि दुई वर्षसम्म २५० मि.लि. तीन पटक थप, दुई पटक खाजाको रुपमा खुवाउनुपर्छ भन्ने कुरा विश्व स्वास्थ्य संगठनले निर्देश गरेको पोषण स्वास्थ्यमा उल्लेख छ । अझ भनिएको छ– यसरी बच्चालाई नियमपूर्वक खुवाईएमा दुई वर्षभित्र नै उसको दिमागको ८०% विकास भइसक्छ । दुईदेखि पँच वर्षसम्म १०% विकास हुन्छ । पाँच वर्षदेखि बाँचुञ्जेल १० % विकास हुने गर्दछ । त्यसैले जे–जति बच्चालाई स्याहार गर्नुपर्ने हो त्यो दुई वर्षभित्रै गरिसक्नु धेरै राम्रो हो । मानिसको जन्मेदेखि दुई वर्षसम्मको उमेरलाई सुनौलो उमेर पनि भनिन्छ ।

मस्तिष्क जसलाई गिदी भनिन्छ, त्यसमा ग्रे मेटर र ह्वाइट मेटर हुन्छ । गिदीको माथिल्लो तहमा ग्रे मेटर हुन्छ । यो खैरो रंगमा हुन्छ । गिदीको भित्रि तहमा ह्वाइट मेटर हुन्छ । यो सेतो रंगमा हुन्छ । गिदीको बाहिरी शुरुको भागमा ग्रे मेटर जति बाक्लोपन हुँदै जान्छ, त्यति नै दिमागको तिक्ष्णता बढ्ने हो । त्यति मात्र होइन, बच्चाको उमेर उनुसारको उचाई बढ्ने र पढाइ लेखाइमा तिक्ष्णता बढ्ने अर्थात् शिक्षकले भनेका कुरा एकै पटकमा बुझ्ने क्षमतामा विकास भइ सक्छ । मस्तिष्कको यो विकास हुनुमा गर्भवती अवस्थामा आमाले खाएको थप एक पटकको खानाको प्रभाव र दुई वर्षभित्रै माथि भनिए अनुसारको स्तनपान र तीन प्रकारको खानाको पटक, मात्राहरु नै हो ।

नेपालमा सामाजिक चालचलन तथा व्यवहार, सांस्कृतिक प्रथा र परम्परा अनि आर्थिक अवस्थाले बालबालिकाहरुको प्रर्याप्त खानामा समस्या देखेको कुरा धेरैखालका सर्वेक्षण र प्रतिवेदनहरुमा उल्लेख भएको पाइन्छ । यो समस्या समाधानका लागि नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नीति, योजना र कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रम स्थानीय तहसम्म लगेको पाइन्छ । तर, प्रभावकारितामा निकै मेहनत जरुरी रहेको छ । किनकि सर्वसाधारण व्यक्तिहरु पोषण कार्यक्रमबारे अझै अनभिज्ञ नै छन् ।

चीन र जापानका अहिलेका मानिसहरुको उचाई हेर्दा आजभन्दा २५÷३० वर्ष अगाडिका मानिसहरुको तुलनामा फरक देखिएको पाइन्छ । यसको ज्वलन्त उदाहरण पछिल्लो लगातार भइरहेको वल्र्डकपहरुमा उत्रिएका खेलाडीहरु पनि हुन् । पहिला–पहिला पुड्का खेलाडीहरु देखिन्थे भने अहिले अग्ला–अग्ला खेलाडीहरु देखिन्छन् । त्यहाँ पोषण कार्यक्रम प्रभावकारी छ भन्ने कुराको अड्कल गर्न सकिन्छ ।
जन्मेदेखि दुई वर्षसम्म बालबालिकाहरुलाई त्यही अवधिमा स्याहार गरियो भने शारीरिक, मानसिक तथा बौद्धिक विकास प्रर्याप्त मात्रामा हुन्छ । वयस्क अवस्थामा पुगेका व्यक्तिहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि खानाको प्रभाव १०% भन्दा पनि कमै भूमिका रहने भएकोले रोगबाट कसरी बच्ने भन्नेखालका खानाहरु खानु पर्ने हुन्छ । पकाएको खाना तर रेडिमेड होइन, त्यस्ता खाना सबै उमेरका मानिसले ध्यान दिनु जरुरी छ । वयस्कहरुले दैनिक कामको प्रकृतिको आधारमा कुन खाना कसरी र कति पटक खाने भन्ने कुराको निर्धारण आफू स्वयम्ले गर्नुपर्छ ।

वयस्कका लागि शरीरलाई शक्ति दिने, शरीरलाई वृद्धि गर्ने र शरीरलाई रोगबाट बचाउने प्रकारका खाना आवश्यक हुन्छ । यो खाना हाम्रो मुखमा भएको दाँतको संख्या बमोजिम चपाएर खानु जरुरी छ । यसो गर्नाले खाना मुखमा टुक्रिएर लेदो हुन्छ र आन्द्राको आमाशय भन्ने भागमा सजिलै पुगेर अम्लिय रस र विभिन्न पाचन रसहरुसँग अन्तरघुलन भई सानो आन्द्रामा रगतसँग शोषित हुने प्रक्रियामा जान्छ । शरीरलाई चाहिने पोषकतत्वहरु तन्तु र कोषसम्म पुग्छ । यो प्रक्रिया सम्पन्न हुनुलाई सामान्य स्तरमा बुझ्दा खाना पच्नु भन्नु उपयुक्त होला । खाना पच्न चारदेखि छ घण्टासम्म लाग्छ । आमाशय खाली हुने कार्य ठोस खाना खाएको दुई घण्टाबाट शुरु हुन्छ । बाँकी आन्द्राका भागहरुमा शोसन सम्पन्न हुन्छ । यो हुन खाना खाएको समयदेखि चारदेखि छ घण्टासम्म लाग्छ ।

शरीरलाई शक्ति दिने खाना अन्तर्गत अन्न, जरावाल खानेकुरा, गुलियो खानेकुरा, चिल्लो खानेकुराहरु पर्दछन् । शरीर वृद्धि गर्ने खाना भन्नाले दाल गेडागुडी, पशुपंक्षीजन्य स्रोत, बियाँवाल चिजहरु हुन् । त्यसैगरी शरीरलाई रोगबाट बचाउने खाना अन्तर्गत आलु बाहेकको जुनसुकै तरकारी, हरियो सागपात र फलफुल पर्दछन् । यसरी यी तीन प्रकारमा कार्य गर्ने खानेकुरा एउटा थालमा दैनिक रुपमा हुनु आवश्यक छ । पुरानो भनाइ छ– हरेक दिन खाना तीन । तर, अहिले नेपालको लागि खानाको वर्गीकरण विश्व स्वास्थ्य संगठनले माथिको वर्गीकरणमा जनावरको स्रोतलाई छुट्टै रुपमा राखेको हुँदा ‘हरेक बार खाना चार’ भन्न थालिएको छ ।

एउटा थालमा हाम्रो शरीरलाई तीन प्रकारमा काम गर्ने आधारमा दाल, भात र तरकारी खाने चलन राम्रो हो । तर, खाने र निल्ने तरिकामा समस्या देखिएको छ । हाम्रो मुखमा जति संख्यामा दाँतहरु छन्, त्यति पटक एक गाँस खानालाई चपाउनु सही मानिन्छ । हरेक वयस्क व्यक्तिमा समान्यतयाः २८ वा ३२ वटा दाँतहरु हुन्छन् । सोही संख्या बमोजिम दातले खानालाई मुखमै धुलो–पिठो–लेदो हुने गरी चपाएर मात्र खाना निलियो भने आमाशय र सानो आन्द्रालाई भार हुँदैन । सजिलै पाचन र शोषण हुन्छ । यति मात्र होइन, उद्दर वायुको पनि समस्या हुँदैन । अनुहार पोटिलो र चम्किलो देखिन्छ । छाला स्वस्थ्य हुन्छ । कब्जियत र पातलो दिसा हँुदैन । मानसिक अवस्था राम्रो हुन्छ । एक थाल भात खानु पर्ने अवस्था हट्छ । किनकि धेरै पटक मुखमा खाना चपाउँदा मुखको ¥याल खानामा मिसिएर खाना थैली (आमाशय) भरिन्छ र अघाएको महशुस हुन्छ । थोरै खानामा अघाइनाले खानाको बचत हुन्छ, जुन एक वर्षमा सकिने खाना दुई वर्षसम्मलाई पुग्न सक्छ । यो एउटा समृद्धि हो भन्न सकिन्छ ।

निरोगी रहने दृष्टिकोणले पनि खाना धेरै मात्रामा खानु हुन्न । खाना बिहान र बेलुका मात्र खानु राम्रो हो । दिउँसो भोक लाग्ने अनुभव हटाउन झोल कुरा खान सकिन्छ । ठोस खानेकुरालाई चपाउन दिनमा समय पनि अपुग हुन सक्छ । तसर्थ, मन तातो पानी पिउन सकिन्छ, तर कडा परिश्रम गर्ने मानिसले चाहिँ खान हुने गुलियो पदार्थ मिसिएको झोल कुरा पिउनु राम्रो मानिन्छ । किनकि भारी काममा कार्बोहाईड्रेट्स बढी खपत हुन्छ । सामान्य बसाइमा काम गर्नेले ठोस खाजाको सट्टा पटक–पटकको अन्तरालमा पानी खानु राम्रो हो । वयस्क उमेर कटेकाहरूले धेरै पटक खाना खानु र धेरै मात्रामा खाना खानुलाई प्रर्याप्त खाना खानु भन्ने धारणा र अभ्यास गलत हो । शरीरलाई कार्य गर्ने आधारमा तीन प्रकारको खाना एउटा थालमा हुनु प्रर्याप्त खाना हो ।

खानाकै अभ्यासको चर्चा गर्दा आजभन्दा २५ सय वर्ष अगाडि गौतम बुद्धले दिनको एकछाक मात्र भोजन गर्नुहुन्थ्यो भन्ने कुरा बिभिन्न पुस्तकहरुमा उल्लेख छ । बुद्धले आफूलाई ज्यान जोगाउनका लागि मात्र एक छाक खाना खानु हुन्थ्यो । शरीरलाई चाहिने पोषणतत्वका लागि एक पटक प्रयाप्त खानाले पुग्छ भन्ने पनि हो । उहाँले बिहानको आफ्नो शारीरिक शुद्धिकरण गरिसकेपछि बिहानको छाकको लागि मात्र भिक्षाटनमा जानु हुन्थ्यो । बेलुकाको समय उपदेश दिने र ध्यान गर्ने जस्ता कार्यहरु उहाँले गर्नुहुन्थ्यो ।

खानाको परिकार र स्वादमा कुनै मोह थिएन । उहाँमा केवल एक छाकको भोजनले २४ घण्टा धान्न सकिन्छ भन्ने अभ्यास थियो । अहिलेको चिकित्सा विज्ञानले पनि १६ घण्टासम्म केही नखानु राम्रो मानेको छ । यसकारण आन्द्रालाई खाली राख्नु पर्छ । यो अवधिसम्म खाली राख्न सक्नु भनेको आन्द्रालाई आराम दिनु हो । आन्द्रालाई धेरै भार दिनुहुँदैन । आन्द्राले राम्ररी कार्य गर्न बिहान ९ बजे खाना खानेले बेलुका ५–६ बजेतिरै खाना खाने व्यवस्था मिलाउनुपर्छ । यसो गर्नाले बेलुकीदेखि बिहान ९ बजेसम्मको अवधि १६ घण्टा हुन्छ । यो अभ्यासले रगतमा कोलेस्ट्रोल र चिनीको मात्र पनि बढ्न पाउँदैन । उच्च रक्तचाप र मधुमेह रोग तथा मुटुको समस्याबाट पनि सुरक्षित हुन यसबाट मद्दत मिल्छ ।

गौतम बुद्धको अभ्यास र अहिलेका चिकित्सा विज्ञानका विज्ञहरुको सुझाव अनुसार खानपानमा वयस्कहरुले व्यवहारिक रुपमा परिवर्तन गर्न सकिएमा आर्थिक अबस्थामा सुधार र खाद्य संकटलाई बचाउन सकिन्छ । बिहान र बेलुकाको खाना धेरै पटक चपाएर खाने र अनि दिउँसोको झोलयुक्त पदार्थ वा पानी तथा रातिको समयलाई १६ घण्टा मिल्ने गरी पेट खाली राख्ने अभ्यासले वयस्कहरुलाई नियमित औषधीको सेवन गर्न नपर्ने दिनहरु पनि आउन सक्छन् । उमेर अनुसार हुर्कदै गरेका बालबालिकाहरुको स्याहार माथि उल्लेख भए अनुसार अभ्यास गरिएमा शारीरिक, मानसिक विकास भई सामाजिक विकासमा समेत प्रभावकारी हुने देखिन्छ । खानालाई निलेर धेरै खाना सक्नुभन्दा धेरै चपाएर थोरैमा अघाउनु उचित हो । त्यसैले खाना चपाएर खाऔं, भोजनको सदुपयोग गरौं र समृद्धि प्राप्त गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here