वि.सं. २०७८ को जनगणना अनुसार करिब साढे तीन करोड जनसंख्या रहेको देशमा साठी लाखभन्दा बढी ऊर्जाशील युवा नेपालीहरु रोजगार लगायत अन्य बहानामा पलायन भइरहेका छन् । पलायन हुने गति दिनानुदिन बढ्दै गइरहेको छ । धेरै जस्तो रहरले बाहिरिए पनि अधिकांश घरपरिवारको रोजी रोटी टार्न र समग्र देशलाई रेमिट्यान्स दिनका लागि दिनहुँ हजारौंको संख्यामा त्रिभुवन विमान स्थलबाट बाहिरिने गर्छन् । देश र घरपरिवारको मायालाई पोल्टोमा सजाएर परदेशिदै गर्दा सबैका सपना साकार हुन्छ भन्ने छैन । जीवन जुवाको दाउमा पासो थापे जस्तै हो ।
विश्वका अधिकाश मुलुकमा नेपाली प्रायः नपुगेका छैनन् होला । विश्वभर छरिएर रहेका लगभग साठी लाख युवा जनशक्ति जसले देशको कुल ग्राहस्थ उत्त्पादनको ३३.२५ प्रतिशत रेमिट्यान्स धानी रहेका छन् । त्यसको लागि कानून खै सरकार ? देशको कर्तव्य भनेको नागरिकको जनधनको सुरक्षा गर्ने पनि हो कि पासपोर्ट मात्र दिने हो ? सरकारी कर्मचारी र उच्च ओहोदाका कर्मचारीको अध्ययनको नाममा विदेश भ्रमणको लागि करोडौं पैसा अर्थ मन्त्रालयबाट निकासी हुन्छ । तर, विदेश काम गर्दागर्दै भइपरि आउने समस्याको समाधान गर्न कुटनीतिक र आर्थिक सहयोग गर्ने कानून किन बनेन् ? यी र यस्ता धेरै प्रश्नको जवाफ साठी लाख देशको कर्मठ जनशक्तिले खोजी रहेको छ । देशमा साम्यबादी राज्यसत्ता ललिपपरुपी भाषण टिभी पत्रकारसँग दिएर देशलाई अद्योगतितर्फ कहिलेसम्म लैजाने हो देशका राजनीतिक व्यापारीहरुले भनेर गरिब र निमुखा नेपाली जनताले सोच्न बाध्य भएका छन ।
अहिले नेपाली युवायुवतीको आकर्षणको केन्द्र बिन्दु भनेको युरोप रहेको छ । के युरोप साच्चिकै नेपालबाट देखेको सोचेको अनि बुनेको सपनाको मुताबिक छ त ? आज हरेक युवायुवतीलाई रातो राहदानी अनि सुखद् जीवनयापनको सपनाले मताएको छ जो भविष्यमा पूरा हुन्छ कि हँुदैन त्यसको लागि के मापदण्ड पूरा गर्नुपर्छ भन्दा पनि युरोप पुगे मात्र हुन्छ भनेर लाखौं पैसा दालालको पोल्टोमा हालेर युरोप पुगेर बिजोक भएका ठगियौं भनेर रोई–कराई गर्नेको कमी छैनभन्दा फरक नपर्ला ।
साहुको महङ्गो ब्याज दर अनि कमाईको सिमितताले गर्दा युवाहरुमा नैराश्यताले चरम उत्कर्षमा पुग्दा धेरै अकल्पनीय घटनाहरु घटी रहेको छ । तर, पनि सरकारको यो बारेमा सोच्ने फुर्सद मिलेको छैन । देशमा अहिले आर्थिक मन्दिले चरम शिखर चुमिरहेको छ । तर, राज्यसत्तामा लिप्त राजनीतिक दलहरु भने भागबन्डा र लेनदेनको व्यापारमा नै ब्यस्त रहेको देखिन्छ । पछिल्लो समयमा केही आशा लाग्दा अनुहारहरु सदनमा देखिए पनि खासै खुशी हुनुमपर्ने अवस्था आएको भने महशुस गर्न सकिएको छैन । जुन जोगी आए पनि कानै चिरेको भने जस्तै व्यवहार देखिएको छ । हाम्रो मुलुक जस्तो अल्पविकसित देशलाई माथी उठाउनको लागि रेमिट्यान्सले सिङ्गो देशको एकतिहाई समाल्दा समेत यो अवस्था हुनु बिडम्बना हो ।
पछिल्लो समयमा नेपाली युवायुवतीहरुका लागि रोजगारी र अध्ययनको आकर्षकको मुलुक भनेको युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके रहेको छ । यी मध्ये अध्ययनका लागि सजिलोसँग भिषा अनुमति पाउने र युनिभर्सिटीले अनुमिति दिने देश भनेको युकेभन्दा मिथ्या नहोला । तर, जसरी युनिभर्सिटी र देशले आगमन अनुमती दिन्छ त्यतिकै सजिलो छ त यहाँ भन्ने कुरा बुझ्नु अनिवार्य हुन्छ । यहाँ अहिले पहिलाको जस्तो सहज तरिकाले जागिर पाउन सकिन्न विशेषगरी विद्यार्थीहरुलाई अझै गाह्रो छ । जसको कारण गर्दा विद्यार्थी र अन्य कामको अनुमतिमा आउने कामदारहरुले बाटो बिराउने गरेको प्रशस्त पाउने गरिन्छ ।
पछिल्लो समयमा आर्थिक अभाव र मानसिक दबावका कारण धेरै मात्रामा आत्महत्या र लिभिङ्गटुगेदर जस्तो कुरालाई बढुवा गरेको पाउने गरिन्छ । जसको फलस्वरुप देशले ऊर्जाशील युवायुवतीलाई बिना कुनै कारण गुमाउनु परेको छ । चार वर्षे ब्याचलर पढाईको लागि करिब ६० हजार पाउन्ड तिर्ने सम्झौता गरेर युके पुगेपछि महिनौंसम्म काम पाउँदैनन्, रुम भाडा, खाना र यातायात खर्चसम्म घरबाट मगाउनुपर्ने भएपछि विद्यार्थीमा नैराश्यता आउनु स्वभाविक नै हो । जसको कारणले कि त फ्रस्टेसनको सिकार बन्न बाध्य छन् भने कसैले लिभिङ्ग टुगेर रोजेको पाउने गरिन्छ । यो दुबैले भविष्यमा हानी पु¥याएको धेरै उदाहरणहरु भेट्न सकिन्छ ।
विगतले देखाएको र अनगिन्ती भेटिने उदाहरणले यो भन्न सकिन्छ कि यहाँ काम अनुमतिमा आएर काम गर्नेको पनि उस्तै बिडम्बना छ भन्दा फरक नपर्ला । सिमित आम्दानी र धेरै खर्चलाई सही तवरबाट मिलाउन नसक्दा कठिन भएको धेरैले बताउने गर्छन् । युरोपियन मुलुकहरुमा पछिल्लो समय घरभाडा, यातायात खर्च अधिक भएको भन्दा फरक नपर्ला । जसको कारण रुम सेयरिङ्ग, बेड सेयरिङ्ग शुरुवातमा राम्रो उपाय लागे पनि भविष्य दुबै जनाको असहमतिले सम्बन्धमा फाटो आउने फस्ट्रेसन अनि माया, टेककेयरको अभावमा धेरै नराम्रा घटनाहरु घटने गरेको पाइन्छ । अहिले पछिल्लो समयमा युके को एउटा जटिल समस्या बन्दै गएको छ । काम अनुमतिमा आएका हरेक एकल महिला पुरुषहरु यो समस्याको सिकार भएको देख्ने र पाउने गरिन्छ । यो नेपाली समाजको दुर्भाग्य र बिडम्बना हो ।