सामुहिक विवाह: उदाहरणी कार्य

0
15

झापाको अर्जुनधारास्थित जलेश्वरधाममा कोशी प्रदेशका विपन्न परिवारका विवाहको उमेर पुगेकाहरुको सामुहिक विवाह हुने भएको छ । आउँदो २०८२ साल बैशाख २ गते विवाहको मिति तय गरिएको विवाहका लागि प्रदेशका चौध वटै जिल्लाका एक सय सैंतीस पालिकालाई पत्राचार गर्दै विवाह गर्न इच्छुक उमेर पुगेका जोडीको सिफारिस गरिदिन अनुरोध गरेको थियो । पालिकाले आ–आफ्नो वडा कार्यालय मार्फत कानून अनुसार विवाह गर्ने उमेर पुगेका र इच्छुक विपन्न परिवार प्रस्तावित गरी सिफारिस गर्न धाम समितिले अनुरोध गरेको कोषाध्यक्ष मनोज जोशीले बताएका छन् ।

विश्व हिन्दू महासंघ नेपालसँगको सहकार्यमा सामुहिक विवाह कार्यक्रम तय गरिएको धामले जनाएको छ । विभिन्न महत्वपूर्ण धार्मिक अनुष्ठान गर्दै आएको जलेश्वर धाम समितिले पहिलो पटक आयोजना गरेको सामुहिक विवाह कार्यक्रम उदाहरणीय छ । अझ पहिलोपटक पच्चीस जोडीको विवाहमा लाग्ने सम्पूर्ण खर्च धाम समितिका अध्यक्ष नवीन गट्टानीले व्यहोर्ने भएका छन् । जन धन भएर पनि समाजसापेक्ष र उपयोगीमा कायम खर्च गर्नुपर्छ भन्ने सकारात्मक तथा प्रेरणादायी सन्देश स्तुत्य छ । साठ्ठी लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको विवाहमा बेहुलाबेहुलीको शृंगारदेखि सौभाग्यसम्मको खर्चको जिम्मा अध्यक्ष गट्टानीले लिएका छन् ।

आफ्नो विवाह भएको पच्चीस वर्षको अवसर पारेर गट्टानीले धामको पहिलो कार्यक्रम सफल पार्न खर्चको जिम्मा लिएको बताएका छन् । सामाजिक दायित्व पूरा गर्ने कर्तव्य अनुसार धाम समितिले आयोजना गर्न लागेको यो कार्यक्रमले आर्थिक अवस्थाका कारण विवाह खर्च जुटाउन नसक्नेहरुलाई सहयोग त हुने नै छ सँगै सामाजिक सद्भाव पनि बढाउने निश्चित छ । राम्रो कार्यको शुरुवात गरेको धाम समिति र दानवीर गट्टानीको समाज सम्बद्ध सेवा अझै परिष्कृत र विस्तृत होस् । यसले आगामी वर्षहरुमा सामुहिक तथा दाइजोमुक्त विवाह गर्ने अभियानमा हातेमालो गर्न सहयोगी मनहरु आकर्षित होउन्– शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here