अर्जुनधारा, झापाको अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन अधिकृत गजाधर पराजुलीका अनुसार समूहको पाँच वटा निर्वाचन क्षेत्र अन्र्तगत निर्वाचन क्षेत्र नं. १को समूहको कार्यालय, निर्वाचन क्षेत्र नं.२को सिंहवाहिनी मन्दिर, निर्वाचन क्षेत्र नं.३को दुर्गाशक्ति समाज, निर्वाचन क्षेत्र नं.४को समाजसेवी आधारभूत विद्यालय र निर्वाचन क्षेत्र नं.५को भानु माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदाताहरुले मतदान गरेका थिए ।
जम्मा १५ पदमध्ये ११ पदमा २७ जनाको उम्मेद्ववार परेको बताइएको छ । जसअनुसमार अध्यक्षमा चार जना, उपाध्यक्षमा तीन जना, सचिवमा दुई जना, सहसचिवमा दुई जना, कोषाध्यक्षमा दुई जना र सदस्यतर्फ निर्वाचन क्षेत्र नं.१मा तीन जना, निर्वाचन क्षेत्र नं.२मा दुई जना, निर्वाचन क्षेत्र नं.३मा दुई जना, निर्वाचन क्षेत्र नं.४मा चार जना र निर्वाचन क्षेत्र नं.५मा तीन जनाको उम्मेद्ववारी परेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं.१मा महिला जनजातीतर्फ एक जना, निर्वाचन क्षेत्र नं.२मा दलिततर्फ एक जना, निर्वाचन क्षेत्र नं. तीनमा खुल्लातर्फ एक जना र निर्वाचन क्षेत्र नं.५मा महिला आदिवासीतर्फ एक जना गरि जम्मा चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
विहान ८ बजेदेखि शुरु भएको मतदान गर्ने कार्य दिँउसो ४ बजेसम्म तोकिएको थियो । जम्मा मतदाता संख्या तीन हजार ४९२ जनामध्ये दुई हजार सात सय ५३ मत खसेको बताइएको छ । यो समाचार तयार पार्दासम्म भानु माविमा हुने मतगणना कार्यको लागि सर्वदलिय बैठक बसिरहेको निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए ।