इलामका विद्यार्थी अध्ययनका लागि घरबाटै भारततर्फ धाउछन्,जहाँका विद्यार्थी जान्दैनन् राष्ट्रगान

0
99

टीका खतिवडा
इलाम ,सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली… ।’
नेपालीहरूको राष्ट्रगान, हरेक दिन विद्यालयमा शिक्षा आरम्भ गर्नुअघि गाइने गरिन्छ । बालबालिकाहरूको मुखमा यो गीत कण्ठस्थ हुन्छ । आम बालबालिकाले उक्त गीत राम्ररी गाउन सक्छन् ।
तर, कतिपय ठाउँमा यस्ता पनि बालबालिका छन् जसलाई नेपाली राष्ट्रगान नै थाहा छैन । इलामको उत्तरी क्षेत्रका बालबालिकालाई यो राष्ट्रिय गान थाहा नै छैन । भौगोलिक विकटता भएकै कारण उनीहरू नेपालको शिक्षा लिनबाट बञ्चित भएका हुन् । धेरैले इलामलाई सुगम जिल्लाका रूपमा लिन्छन् । तर यस्तो पनि गाउँ छ जहाँ शिक्षादेखि दैनिक गुजाराका वस्तुका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । सानै उमेरदेखि यस क्षेत्रका बालबालिका भारतका विद्यालयमा अध्ययन गर्न जान्छन् । उनीहरूले भारतकै गीत गाउँछन् । नेपाली भएर पनि सो क्षेत्रका बालबालिकाहरुले नेपाली राष्ट्रिय गान जान्दैनन् ।

सीमा क्षेत्रमा रहेका बालबालिका नजिक विद्यालय नभएकै कारण भारतको विद्यालय पढ्न बाध्य भएका हुन् । नेपालको भेगमा विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमाका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महङ्गो मूल्यमा बालबालिकालाई अध्ययन गराउनुपर्ने बाध्यता रहेको सो क्षेत्रका अभिभावकहरूको दुखेसो छ । इलाम सन्दकपुर गाउँपालिका –५ की पेमा तामाङ ९ वर्षकी भइन् । उनी भारतकै मानेभञ्ज्याङमा रहेको विद्यालयमा अध्ययन गर्छिन् । नजिक विद्यालय नभएकै कारण उतै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनका अभिभावकको भनाइ छ ।

भारतमा पढ्दा उतै होस्टेल बस्नुपर्ने बाध्यता रहेको छ । नेपालतर्फ भएका विद्यालय बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले शिक्षामा भारतकै भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय दावा लामा बताउँछन् । कतिपय अभिभावकले बालबालिकालाई होस्टेलमा राख्ने त कतिपय अभिभावकले आफैँ कोठा लिएरसमेत बालबालिकालाई शिक्षा दिने गरेको स्थानीय दावा शेर्पाले बताए । उनका अनुसार नेपालतर्फ भएका विद्यालयसमेत बन्द भएका कारण समस्या उत्पन्न भएको हो । भारतको मानेभञ्ज्याङस्थित रिप्स स्कूलमा सो क्षेत्रका धेरै विद्यार्थी जाने गरेका छन् । उच्च शिक्षामा धेरै पहिलादेखि भारतका विद्यालय तथा विश्वविद्यालयमा जाने गरिन्थ्यो । तर, प्राथमिक तहमा नै यसरी बालबालिका भारततर्फ नै अध्ययन गराउनुपर्ने बाध्यताले सो क्षेत्रका अभिभावक पिरोलिएको उनीहरुले बताएका छन् ।

विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरू बन्द भएपछि नेपालतर्फ भारतीय सीमा जोडिएका गाउँका बालबालिकाले भारतमा रहेका विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ । सो क्षेत्रमा नेपालपट्टि निजी विद्यालयसमेत छैनन् । भारतसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा गाउँ–गाउँमा भएका सामुदायिक विद्यालयसमेत बन्द भएका कारण उतै पढ्नुपर्ने बाध्यता छ । कम जनसंख्या भएको सो क्षेत्रमा बालकालिकाको संख्या समेत थोरै रहेको स्थानीयको भनाइ छ । जिल्लाको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका सीमा क्षेत्रका बालबालिकालाई नेपालमा विद्यालय नहुँदा समस्या भएको हो । जौबारी, मेघ्मा, कालपोखरी, लगायत ठाउँमा केही बर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए । लेकाली क्षेत्र भएका कारण पातलो बस्ती छ । जनघनत्व पनि कम भएका कारण बालबालिकाको संख्या पनि थोरै छ । लेकाली क्षेत्र भएका कारण पनि सो क्षेत्रमा मानिसको बसोबास कम मात्रामा हुने गरेको छ । करिब नौ वर्षअघि सन्दकपुर गाउँपालिका –५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको स्थानीय डोमा शेर्पाले बताउँछिन् । कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालय विद्यार्थी अभावको कारण देखाउँदै २०७२ सालमा बन्द भएको जनाइएको छ । जौबारीबाट मात्र हाल १४ जना विद्यार्थी भारत अध्ययनका लागि जाने गरेको शेर्पाको भनाइ छ । भित्तेमा रहेको विद्यालयसमेत तीन वर्षअघि उठेको बताइएको छ ।

सो विद्यालय बन्द भएपछि झनै समस्या आएको स्थानीयको भनाइ छ । सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, माईजोगमाई –२ मेग्मामा सञ्चालित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कै मजुवामा रहेको प्राथमिक विद्यालय बन्द भएका हुन् । नेपालतर्फ नजिक विद्यालय नभएको स्थानीयको भनाइ छ । नेपालतर्फ नजिक रहेको विद्यालय माईजोगमाई –२ को ज्योति आधारभूत विद्यालय हो । यहाँ पुग्नसमेत ४ घण्टा लाग्ने गरेको छ । अन्य गाउँपालिकाको केन्द्र नयाँ बजारमा जानुपर्ने बाध्यता छ । नयाँ बजारको विद्यालय आउन एकोहोरो नै ३ देखि ४ घण्टा लाग्छ । लामो समय धाएर बालबालिकालाई विद्यालय पु¥याउँदा अभिभावकलेसमेत काम गर्न नपाउने बताइएको छ । घरका एक जना सदस्य एउटा बालबालिकालाई विद्यालय पु¥याउन र विद्यालयबाट घरसम्म ल्याउन नै खटिनुपर्ने उनीहरूको भनाइ छ ।

परिवारले नै घरको काम गर्न नपाउने, जसका कारण उक्त क्षेत्रका बालबालिकालाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानु परेको स्थानीयको गुनासो छ । जौबारी, गुराँसे, मेग्मालगायतका ३५ जना भन्दा धेरै विद्यार्थी नेपालको विद्यालय जानबाट बञ्चित भएको माईजोगमाई गाउँपालिका –२ नं. वडाका वडाध्यक्ष डम्बर सुवेदीले बताए । सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाहरूले समेत नेपालमा पढ्न पाउँदैनन् । उनीहरूसमेत नजिक रहेको भारतीय विद्यालयमा नै जानुपर्ने बाध्यता रहेको छ । एक जना विद्यार्थीलाई सानो कक्षामा पढाउन नै मासिक भारु १० हजार भन्दा धेरै खर्च हुने गरेको अभिभावकहरूको भनाइ छ । भारु १० हजारको नेपाली १६ हजार रुपैयाँ हुन्छ । सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका छन् । कतिपयले भने गाडीमा नै विद्यार्थी पठाउने गरेका छन् । मानेभञ्ज्याङ तुमलिङबाट ११ किलो मिटरको दूरीमा रहेको छ । केही अभिभावकहरूले सो दूरीमा गाडीको प्रयोग गरेर नै पनि विद्यालय पठाउने गरेका छन् । नेपालमा नै विद्यालय भए सहज रूपमा शिक्षा पाइने भए पनि उनीहरूले झन्झट साथै महङ्गो शिक्षा लिइरहेका छन् । नेपालमै शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार भएपनि यसबारे राज्यको ध्यान नजाँदा नेपाली समुदाय भारतको आश्रयमा पर्नुपर्ने बाध्यताको अन्त्य हुन नसक्दा समस्या हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here