अर्जुनधारा, ५२औं सुखानी शहीद स्मृति दिवसको सन्दर्भमा झापाको अर्जुनधारा–९स्थित सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिको आयोजनामा शनिबार सम्पन्न भएको अन्तर सामुदायिक क्याम्पसस्तरिय हाजिरी जवाफ प्रतियोगितामा गरुवा बहुमुखी क्याम्पस(माई) प्रथम भएको छ ।
छिमेकी जिल्ला इलामको गरुवा बहुमुखी क्याम्पससहित झापा निर्वाचन क्षेत्र नं. २ अन्र्तगतका चार वटा सामुदायिक क्याम्पसको सहभागिता रहेको उक्त प्रतियोगितामा शनिश्चरे बहुमुखी क्याम्पस(अर्जुनधारा) द्वितीय र इन्द्रचन्द्र बहुमुखी क्याम्पस(बिर्तामोड) तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीलाई नगद पुरस्कार क्रमश नौ हजार, सात हजार, पाँच हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । यसैबीच सोही दिन सम्पन्न भएको अन्तर सामुदायिक माध्यमिक विद्यालयस्तरिय चित्रकला प्रतियोगितामा मोहनमाया माविकी श्रेया राई प्रथम भएकी छिन् ।
छिमेकी जिल्ला इलामको कनकाई माविसहित झापा निर्वाचन क्षेत्र नं. २ अन्र्तगतका १३ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा माविका पूजा दनुवार र भीम विक क्रमश द्वितीय र तृतीय तथा शनिश्चरे माविका सुजन शिवा सान्तवना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश सात हजार, पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । हाजिरी जवाफ प्रतियोगिताको क्वीज मास्टर पत्रकार उमाकान्त खनाल र चित्रकला प्रतियोगिताको निर्णायक पत्रकार पवनकुमार राजवंशी रहेका थिए ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद बरालको अध्यक्षता र सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुन राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राई, समितिका अध्यक्ष बराल, सदस्य एवम् कार्यक्रम संयोजक कमल गुरागाईंलगायतले उनीहरुलाई पुरस्कारहरु वितरण गरेका थिए ।
कार्यक्रम संयोजक गुरागाईंले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उद्यानका व्यवस्थापक रुद्रमणि सुवेदीले गरेका थिए ।