झापा एफसीको अपनत्व ग्रहण गर्न खड्काको आग्रह

0
10

बिर्तामोड, नेपाल सुपर लिग क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले फुटवल खेललाई खेल खेलेरै बाँच्न पाउने अवस्था देशमै सृजना हुनु पर्ने बताएका छन् । फुटवल खेललाई व्यवसायिक रुपमा विकास र प्रवद्र्धन गर्ने योजना सहित आफूहरु अघि बढेको बताएका खड्काले देशमा हुने गरेका फुटवल प्रतियोगिताहरु समेत विकेन्द्रीकरण हुनु पर्ने बताए ।

झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले झापा एफसीले आफ्नै खेल मैदान, जीम हल, महिला टिम, एकेडेमी सहितको एउटा व्यवसायिक फुटवल क्लवलाई स्थापित गर्ने समेत बताए । जसका लागि ६ विगाह जमिन आवश्यक पर्ने र जमिन खोज्ने काम भइरहेको खड्काको भनाई छ ।

आयो झापाली भन्ने मूला नारा लिएर अघि बढेको झापा एफसी कोशी प्रदेश मै नेपाल सुपर लिग खेल्ने एक्लो क्लव रहेको छ । सन २०२१ मा नेपाल फुटवल संघ (एन्फा) ले ‘सी’ डिभिजन लिगका लागि छनौट गरेको थियो त्यस यता सन २०२२ बाट एनएसएलको फ्रेन्चाइज टिम लिन सफल भएको छ ।

पक्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले झापा एफसीको अपनत्व ग्रहण गर्दै सबै झापावासी समक्ष आग्रह गरेका छन् । उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए ।

अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्ने गरी तयारी सुरु गरिएको पनि बताए । सफल प्रशिक्षक तथा लयमा रहेका सक्षम खेलाडीका कारण लिग जित्ने खड्काले दाबी गरे ।

तेस्रो संस्करणको नेपाल सुपर लिगमा झापा एफसीले क्लबको एम्बसेडरका रुपमा राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्कालाई दोहोर्याएको छ । पत्रकार सम्मेलन गरेर क्लबले टिमको तयारीबारे पनि जानकारी दिएको छ ।

झापा एफसीले गोलकिपर प्रशिक्षकमा झापा मेचीनगरका मीनबहादुर बस्नेत तथा सहायक प्रशिक्षकमा झापा दमकका कुमार गिरीलाई अनुबन्ध गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्लबले मुख्य प्रशिक्षकमा यसअघि नै बिर्तामोडका प्रवेश कटुवाललाई अनुबन्ध गरिसकेको छ । अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षक रहेका कटुवालले लिग जिताएका थिए ।

सन् २०११ मा निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

सहिद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित स्थापना भएको झापा एफसीले पछिल्लोपटक दुईवटा सी डिभिजन क्वालिफायर्स खेलेको थियो ।

अध्यक्ष खड्काले महिला फुटबल टिम, उमेर समूहका टिम, फुटबल एकेडेमी र आफ्नै रंगशाला बनाउने उद्देश्य रहेको बताए । त्यसका लागि ६ बिघा जग्गाको खोजी भइरहेको उनले जानकारी दिए ।

त्यस्तै, ए डिभिजनको विकेन्द्रीकरण गर्ने, क्बलहरुको एकेडेमी बनाउने, होम एन्ड अवे खेल खेलाउनेगरी सोच्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।

झापा एफसीले मार्की खेलाडीको रुपमा लाकेन लिम्बूलाई भित्र्याएको छ । उज्वेकिस्तानका अजामात अब्दुलेभ र अमेरिकाका नेपालीभाषी भुटानी प्रवीण बस्नेतले झापा एफसीबाट खेल्ने छन् ।

त्यस्तै, छिरिङ गुरुङलाई रिटेन गरेको छ भने आशिष गुरुङ, अभिनास स्याङतान, दिपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्ज्वल राईलाई अक्सनबाट लिएको छ ।

पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संग्रौलाले खेल क्षेत्रको विकासका लागि जुटेको झापा एफसीलाई आगामी दिनमा नगरको तर्फबाट सहयोग पु¥याउने र अन्य पालिकासंग समेत सहकार्य गर्न अनुरोध गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, झापा फु्टवल क्लवका अध्यक्ष भगीरथ आले ‘मामा’ झापा गोल्डकपका पूर्व अध्यक्ष तथा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भूमिका सुब्बाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here