बिर्तामोड, महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्तामोड– ३ बिर्ताबजारका भूतपूर्व विद्यार्थी डा. लक्ष्मीप्रसाद मैनालीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार विद्यार्थीलाई वर्षेनि प्रदान गर्नेगरी पुरस्कारको स्थापना गरेका छन् ।
उनले आफ्ना दिवंगत हजुरबुवा रामप्रसाद मैनाली( गाउँ बुढा ) , हजुरआमा विशेश्वरा मैनाली र बुवा खेमप्रसाद मैनालीको संझनामा राम– विशेश्वरा –खेम स्मृति पुरस्कार स्थापना गरेका हुन् । यस वर्ष स्थापना गरिएको सो पुरस्कार पहिलो पटक तीनजना जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिएको छ । गणित , विज्ञान र नेपाली बिषयमा उत्कृष्ट तीन विद्यार्थीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था गर्ने डा. मैनाली भूतपूर्ब विद्यार्थी समाज महेन्द्र रत्न माविका संस्थापक सदस्य हुन् ।
आइतवार एक कार्यक्रमका बीच संस्थापक डा. मैनाली , उनकी श्रीमती सुमा सेढाई , दिदी विष्णु संग्रौला , भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल , विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले सो पुरस्कार प्रदान गरेका थिए । त्यस अवसरमा भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष मदनगोपाल सुब्बा , महासचिव मोहन शिवाकोटीलगायतका पदाधिकारी तथा सदस्यहरु , विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । प्रधानाध्यापक खरेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्यसहित औचित्यमाथि संस्थापक डा. मैनालीले प्रकाश पारेका थिए भने धन्यवादसहित कार्यक्रमको समापन भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष पोखरेलले गरेका थिए ।