राप्रपाद्वारा २८ बुँदे ध्यानाकर्षण पत्र,बिर्तामोडमा अनियमितता रोक्न माग

0
22

झापा, नगर क्षेत्रभित्र विकृति मौलाएको ठहरसहित राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले २८ बुँदे ध्यानाकर्षण–पत्र बिर्तामोड नगरपालिकालाई बुझाएको छ । नगर क्षेत्रभित्र पछिल्लो समय बिकृति–बिसंगति मौलाएको, बेथिति बढेको र अनियमिततालाई रोक्नुपर्ने मागसहित पार्टीले ध्यानाकर्षण–पत्र बुझाएको हो ।
पार्टीका नगर अध्यक्ष लक्ष्मी गौतमसहितको टोलीले कार्यवाहक नगर अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई ध्यानाकर्षण–पत्र बुझाउँदै बेथिति, बिसंगतिबिरुद्ध कारवाही प्रक्रिया अघि बढाउन माग समेत गरेको छ । ध्यानाकर्षण–पत्र बिर्तामोड नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय झापा, अख्तियार अनुसन्धान दुरुपयोग आयोग इटहरी र नेपाल पत्रकार महासंघ झापालाई बोदार्थ प्रदान गरिएको छ ।

नगरपालिका समक्ष बुझाइएको ध्यानाकर्षण–पत्रमा बिर्तामोड नगरपालिकाभित्र बिकास निर्माणका कार्ययोजनाहरु सम्पन्न भइराख्दा अनुगमन समितिले कागजी रुपमा मात्र अनुगमन गर्ने पाइएको तथा निर्माण कार्य कमजोर र अस्थायी हुने भएकोले अनुगमनलाई पारदर्शी र सहज बनाउन नियमित अनुगमन गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै उपभोक्ता समिति निर्माण गर्दा एक दलीय प्रभावबाट नभई सर्वदलीय प्रभाव एवम् टोल विकास संस्थाको उपस्थितिमा निर्माण गरी बिकास निर्माणमा सबैको अपनत्व रहने व्यवस्थाको थालनी गर्न माग गरिएको छ । कृषिथोक बजार कृषकको बजार नभएर विचौलियाहरुको बजार भएको छ, जसले गर्दा थोक व्यापारी र खुद्रा व्यापारीबीच असमझदारी बढ्न गई अप्रिय घटना घट्न सक्ने अवस्था छ– ध्यानाकर्षण पत्रमा भनिएको छ– त्यसतर्फ कृषिथोक बजार व्यवस्थापन समिति कृषकहरुको बिरुद्धमा उभिएको पाइएकोले सो बिषयमा ध्यानाकर्षण गराउन चाहन्छौं ।

त्यस्तै कृषिथोक बजारभित्र दुई करोड अठार लाखमा चिस्यान केन्द्र निर्माण भएको भनिएको छ– राप्रपाले बुझाएको ध्यानाकर्षण–पत्रमा भनिएको छ– ‘संरचना निर्माण गर्दाको हिसाबकिताब कहाँबाट कसरी फरफारक भयो सम्बन्धित निकायमा अनुगमन गरी गलत भएको भए कारवाही प्रकिया अगाडि बढाउन आग्रह गर्दछौं ।’ त्यस्तै त्यहाँ निर्माण गरिएको सार्वजनिक शौचालयको लागत ६५ लाख भनिए पनि त्यत्ति रकम खर्च भए नभएको स्पष्ट पार्न माग गरिएको छ ।
कृषिथोक बजारभित्रका ८४ वटा सटर पसलहरु निर्देशिका विपरीत नामसारी गरी आर्थिक अनियमितता भएको भन्ने सुन्नमा आएको छ, सोको अनुगमन गरी कारवाही प्रक्रिया अगाडि बढाउनका लागि आग्रह गर्दछौं– ध्यानाकर्षण पत्रमा भनिएको छ । योसँगै बिर्तामोडको कृषिथोक नजिकै बुधबारे हटिया बजारमा केही वर्षअघि डोजर लगाएर सयौं साना व्यापारीहरुलाई विस्थापित गराउने काम गरियो हालसम्म उक्त जग्गामा कुनै किसिमको भौतिक संरचना निर्माण गरिएको छैन । के प्रयोजनका निमित्त उक्त स्थान खाली गरिएको हो प्रष्ट पार्न नगरपालिकालाई भनिएको छ ।

बिर्तामोड नगरपालिका–६मा रहेको भद्रपुरस्थित भद्रपुर माविको जग्गामा अनधिकृत रुपमा अतिक्रमण गरी बसोबास गरेको पाइएको छ, सो विद्यालयको जग्गामा बिचौलियाहरुबाट आफू खुशी किनबेच गर्ने गराउने, आयस्रोत नदेखाउने गरेको पाइएकोले उक्त विद्यालयको जग्गा नापजाँच गरी छुट्याइ अतिक्रमण गरिएको भए तुरुन्तै भूमाफियालाई कारवाही गर्न जोडदार माग गर्दछौं– ध्यानाकर्षण–पत्रमा भनिएको छ । बिर्तामोड क्षेत्रभित्र रहेका सहकारी तथा वित्तीय संस्थाबाट थुप्रै बचतकर्ताहरु पीडित भएका छन् ।

बचतकर्ताहरुको पैसा फिर्ता भएको छैन । राजनीतिक संरक्षणबाट सहकारीहरूले राहत पाइरहेको अनुभूति राप्रपाले गरेको छ, यसतर्फ ध्यानदिन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । नगर क्षेत्रभित्र योजना तर्जुमा गर्दा सबै राजनीतिक दललाई थाहा दिने गरी योजना तर्जुमा गरियोस्, हाम्रो पार्टीको राजनीतिक संरचना सबै वार्डमा भएर पनि पार्टीका वडाध्यक्षलाई समेत थाहा नहुने गरी योजना छनौट हुने गरेको भन्दै त्यसको विरोध गरिएको छ । योजना छनौटमा राप्रपालाई समेत सहभागी गराउन माग गरिएको छ ।

भौतिक संरचना निर्माण गर्दा सस्तो काम गरिदिने बहानामा दोस्रो मुलुकबाट आएका ठेकेदार र कामदारले गर्दा स्थानीयस्तरमा लाइसेन्सप्राप्त निर्माण व्यवसायीहरु र श्रमजीवी कामदारहरु बिस्थापित भएका छन, त्यसतर्फ ध्यान दिन पार्टीले नगर समक्ष आग्रह गरेको छ । योसँगै विर्तामोड नगर क्षेत्रभित्र रहेका सरकारी जग्गाहरु भूमाफियाहरुबाट अतिक्रमण भएका छन् । यस्ता सरकारी जग्गाहरुको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेको हुँदा तत्काल सो कार्य थालनी गरी सरकारी जग्गा संरक्षण गर्न आग्रह गरिएको छ । बिर्तामोड नगरपालिकामा सूचीकृत भएका मजदुरहरुको कोषबाट पाउने सेवा सुविधा प्रभावकारी ढंगबाट बितरण नभएको साथै सूचीकृत मजदुरहरुको निःशुल्क स्वास्थ्य विमाको व्यवस्था स्थानीय सरकारबाट गर्न समेत माग गरिएको छ । जनता आवास निर्माणमा अनियमितता भएको पार्टीको ठहर छ– ध्यानाकर्षण–पत्रमा भनिएको छ– यस्तो कार्य तत्काल रोक्न सर्वदलीय संयन्त्र निर्माण गरी अनुगमनका लागि पहल गर्नुपर्छ ।

अनारमनी माविको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा गणपूरक संख्या नपुगिकन दुई दलीय संयन्त्रबाट निर्माण भएको र सो बिद्यालय व्यवस्थापन समिति तत्काल भंग गरी तोकिएको कार्यविधि बमोजिम नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न भनिएको छ । यसैगरी सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा हुनुपर्नेमा विभिन्न बहानाहरु देखाइ शुल्क लिएको अवस्था छ, सो कार्य तत्काल बन्द गरी स्थानीय सरकारले निःशुल्क शिक्षा लागू गर्न माग गरिएको छ ।

यसैगरी निजी विद्यालयहरुले नियमानुसार दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति कतै नदिइएको, कतै वास्ताविक विद्यार्थीलाई नदिई पहुँचका आधारमा आफ्नो परिवारका व्यक्तिहरुलाई दिएको बुझिएकाले प्रभावकारी अनुगमनसहित सोको विवरण नगरपालिकाले माग गरी सार्वजनिक गर्न माग गरिएको छ । बिर्तामोड नगरपालिका–९मा निर्माण भएको खानेपानीट्यांकी रु. ६५ लाखमा निर्माण भएको छ, त्यो अपुरो र जीर्ण अवस्थामा रहेको पाइएको छ, सो कामको कुनै पनि हिसाब किताव फरफारक भएको छैन । राज्यको त्यति ठूलो लगानी व्यक्तिको नाममा दर्ता रहेको जग्गामा निर्माण भएको भन्दै सो जग्गा खानेपानी संस्थाको नाममा दर्ता गरी सो लागत रकमको फरफारक गर्न गर्न माग गरिएको छ । यसैगरी बिर्तामोड–७मा रहेको खानेपानी ट्यांकीको अवस्था र त्यसको व्यवस्थापन फितलो रहेकाले सोको अनुगमन गरी उपभोक्ताहरु समक्ष पारदर्शीताका लागि माग गरिएको छ ।

बिर्तामोड नगर क्षेत्रभित्र ग्राभेल गिटी बालुवा लगाउने सम्बन्धमा अनियमितता देखिएको छ । बाटोको सर्वेक्षण नगरी राजनीतिक संरक्षणमा लगाउनुपर्ने ठाउँमा नलगाएर अन्यत्र लगाइएको छ । सो कार्य तत्काल रोकी सर्वदलीय सर्वपक्षीय छनौटबाट गिटी बालुवा ग्राभेल गर्न माग गरिएको छ । बिर्तामोड नगपालिका, वार्ड कार्यालय समेतमा करारमा काम गरिरहेका कर्मचारीहरु कति छन् ? के काम गरे बापत के कति सेवा सुविधा लिन्छन् ? कुन प्रक्रियाबाट कर्मचारी नियुक्त गरिन्छ ? सोको जानकारी गराउन पनि माग गरिएको छ ।

लागू औषध दुव्र्यसनीहरुको बिगबिगी रहेको र यहाँका थुप्रै युवाको भविष्य अन्धकार भएको भन्दै स्थानीय सरकारले त्यसतर्फ ध्यान दिएर सरोकारवाला संघ–संस्थाहरुसँग समन्वय गरी नियन्त्रण गर्न आवश्यक रहेकाले जतिसक्दो छिटो पहल गर्न माग गरिएको छ । बिर्तामोड नगरपालिका लेखा परीक्षकको प्रतिबेदनबाट अत्यधिक बेरुजुको सूचीमा परेको छ । के कारण यति ठूलो धन राशि बेरुजु भएको हो यस्ता कुराहरु सार्वजनिक सुनवाईमार्फत सर्वसाधारणलाई सूचीत गर्न माग गरिएको छ । यसैगरी बिर्तामोडबाट बैदेशिक रोजगारीको लागि विदेशिने र ठगिने क्रम तीव्र छ त्यसतर्फ बिर्तामोड नगरपालिकाले बैदेशिक रोजगार परामर्श केन्द्रको स्थापना गर्ने र पालिकाभित्र वैदेशिक रोजगारमा जानेको अभिलेख राख्न माग गरिएको छ ।

बिर्तामोड नगरक्षेत्रभित्र लगाइने मेला महोत्सवहरुबाट हुने ध्वनि प्रदुषण, विद्यार्थीहरुलाई पर्ने प्रत्यक्ष असर, स्वीकृति लिएको भन्दा अन्य प्रकृतिका जुवाजन्य खेलहरु लगायतको अनुगमन गरी विकृतिजन्य कुराहरुको न्यूनीकरणका लागि ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here