मोरङ, नेपाल कम्यूनिष्ट पार्टी एमाले का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ जिल्लामा अध्यक्ष र उपाध्यक्ष बनाउन उम्मेदवारको नामै तोकेर पठाएका छन् ।
एमाले मोरङको १०औं अधिवेशन विराटनगरमा चलिरहेको बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजकुमार ओझालाई अध्यक्ष र विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीलाई उपाध्यक्ष बनाउन संस्थापन पक्षधर नेतालाई निर्देशन दिएका छन् ।
एमाले कोशी प्रदेशका इन्चार्ज एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित संस्थापन पक्षधर नेतालाई ओलीले फोन गरेर ओझालाई अध्यक्ष र कार्कीलाई उपाध्यक्ष बनाउन निर्देशन दिएका छन् ।
एमालेको संस्थापन इतर पक्ष विद्यादेवी भण्डारी समूहले मोरङ जिल्ला अध्यक्षको लागि अजम्बर राईको नेतृत्वमा बेग्लै प्यान खडा गरेर चुनावी अभियानमा होमिएका छन् ।
फागुन १७ गतेदेखि सुरु भएको मोरङ अधिवेशन १९ गते समापन हुनेछ । १०औं मोरङ जिल्ला अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिले मत खसाल्न पाउने छन् ।
दशौं जिल्ला अधिवेशन लम्बिने
प्रतिनिधि छनोट र सर्वसम्मत हुन नसकेपछि नेकपा एमाले मोरङको दशौं जिल्ला अधिवेशन लम्बिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा उनको स्थानमा पार्टी उपाध्यक्ष रामबहादुर थापाले उद्घाटन गरेका थिए ।
शीर्षदेखि प्रदेश कमिटिका पदाधिकारीहरूले अधिवेशनमा सहमतिको प्रयास जारी राखेपनि जिल्ला नेतृत्वका लागि हालसम्म संस्थापन पक्षतर्फ पार्टी अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्षतर्फको नेतृत्व मोरंगका नेता विनोद ढकालले गरेका छन् ।
ढकाल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ मानिन्छन् । हाल दुई समूह प्यानलनै बनाएर प्रतिस्पर्धामा उत्रिने देखिएको छ । यससंगै नयाँ नेतृत्व छनोटका लागि निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भएको छ ।
जस अनुसार अहिले विहानबाट निर्वाचन प्रक्रिया प्रारम्भ हुने भनिएको छ । अधिवेशनका लागि मनोनित भएका ४६ जना प्रतिनिधिको विवाद मिल्न नसक्दा निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि थप प्रक्रिया अघि बढेको छैन । असन्तुष्ट पक्षले मनोनित प्रतिनिधिको विषयमा विरोधमा रहेका छन् ।
संस्थापन पक्षले ४६ जना प्रतिनिधि एकलौटी रुपमा मनोनित गरेको भन्दै आइतबार भएको बन्द सत्रमा असन्तुष्ट पक्षले नाराबाजीसहित प्रदर्शन गरेको थियो ।
देखिएको विवाद हल नगरी निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि असन्तुष्ट पक्ष थप चिढिएको छ । निर्वाचन समितिले भने बिहान १० बजेपछि मनोनयन दर्ता गर्ने तालिका तय गरेको छ ।
त्यसैगरि, दिउँसो पौने ३ बजे बाट बेलुका ५ बजेसम्म नयाँ नेतृत्वका लागि मतदान गर्ने कार्यसूची रहेको समितिले जनाएको छ । समितिका अनुसार मतदान कार्य सम्पन्न भएपछि गणनाको कार्य भने पाञ्चालीस्थित पार्टी कार्यालयमा हुने बताइएको छ ।
जिल्ला अधिवेशनमा सहभागि एक नेताका अनुसार संस्थापन पक्षबाट जिल्ला अध्यक्षका लागि कोशी प्रदेशका पूर्वमन्त्री सुन्दरहरैंचा नगरपालिकाका रामकुमार ओझासहित उपाध्यक्षमा केराबारी गाँउपालिकाकी पूर्व उपमेयर शान्ति भुजेल र सचिवमा रविन थापालाई अघि बढाएको छ ।
त्यसैगरि, ढकाल नेतृत्वको समूहले भने जिलय समन्वय समितिका प्रमुख तथा सुन्दरहरैंचाका अजम्बर राई, उपाध्यक्षमा विराटनगरका सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा जिल्ला समन्वय समिति उप प्रमुख उषा झा र सन्तोष वान्तवा रहेका छन् ।
अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । हाल मनोनित गरिएका ४६ जनाको विषयलाई लिएर विवाद भएको हो ।