भारतीय अतिक्रमणका कारण झापाको गौरीगञ्जका सन्थाल परिवार विस्थापनको जोखिममा परेका छन् । सीमावर्ती क्षेत्रमा भारतीय पक्षको अतिक्रमणका कारण बर्सेनि नेपाली परिवार थातथलो त्याग्न बाध्य छन् । तर, नेपाल सरकार भने आफ्नो भूमि मिचिँदा र आफ्ना नागरिक विस्थापित हुँदा पनि बेखबर छ । गौरीगञ्ज–२ स्थित पिण्डालघुटू गाउँका सन्थाल परिवार बसेको भूमिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अत्याचार सहन नसक्दा विस्थापनको संघारमा छन् । विगतदेखि नै एसएसबीको दबाव झेल्दै आएका कतिपयले बस्ती छाडिसकेका छन् ।
स्थानीय कमल खोलाको पूर्वपट्टि रहेको दशगजा क्षेत्र भारतले मिच्दै ल्याएको स्थानीयले बताएका छन् । जसका कारण पिण्डालघुटूका बासिन्दाको बस्ती दशगजा क्षेत्रमा पारिएको छ । यसले त्यहाँ बसेका उन्नाइस परिवार विस्थापनको त्रासमा बस्न बाध्य भएका छन् । त्यसो त भूमि अतिक्रमणको पीडा नौलो होइन, तर सरकारले निरिहता देखाउनु अनौठो हो । उक्त क्षेत्रको सीमा विवाद सतहमा आएकै झण्डै तीन दशक भइसक्यो । वि.सं. २०५५ सालअघि नै कमल खोलाको पूर्वको दशगजा क्षेत्रलाई पश्चिमतर्फ सारिएको स्थानीय अगुवाले बताएका छन् । त्यसयता समय–समयमा सहायक पिलरहरु पश्चिमतर्फ सार्ने गरिएको छ । यसरी लगातार सीमा पिलर सार्ने क्रममा कतिपय नेपालीको स्वामित्वमा रहेको जमिन भारतको नियन्त्रणमा लगिएको छ, तर हाम्रो सरकार प्रतिवाद होइन बोल्न पनि सक्दैन ।
जग्गाको मालपोत बुझाइरहेका पीडित नेपालीको पक्षमा न स्थानीय सरकारले केही गर्न सक्छ, न त जिल्ला प्रशासन वा सरकारले नै । अहिले पिण्डालघुटूका सन्थाल परिवार नेपालमा बसेर भारतीय हुनुपर्ने पीडा खप्दै छन् । बर्षौंदेखि नसुनिएको अतिक्रमणमा परेका नेपाली नागरिकको व्यथामा सुरक्षा प्रत्याभूति दिएर मल्हम लगाउने जिम्मेवारी संघ सरकारकै हो । सीमानामा एक पक्षले सीमा सार्ने, आवागमनमा रोक लगाउने मानसिक र भौतिक दबाव दिने गर्न पाइँदैन । यद्यपि नेपाल सरकार सीमा सुरक्षा बल स्थापना गरेर सीमावर्ती क्षेत्रको रक्षा गर्दर्छौं भनिरहेको छ, तर शक्तिविहीन पोष्टले सीमानाको रक्षा गर्न सकेको छैन । एसएसबी सधैँ स्तम्भ सार्ने र हाम्रो बल टुलुटुलु हेरेर बस्ने अवस्थामा जनताको ज्यान र धनको रक्षा हुन सक्दैन । तसर्थ, सीमा अतिक्रमणको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्छ । होइन भने यो सन्थाल बस्ती मात्र होइन हाम्रो सार्वभौम स्वतन्त्रता र राष्ट्रिय अखण्डतामा चोट पुग्न सक्छ ।