बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ ।
नगरको पशुपंक्षी तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी दुई दिने स्थलगत शिविरको आयोजना गरी २६ जना कृषकको गोठमा पुगेर सेवा प्रदान गरेको हो । शाखा प्रमुख डा. नगेन्द्र खड्काले विज्ञसहितको टोलीले समस्या समाधानका लागि आधुनिक प्रविधिसहित चेकजाँच गर्नुका साथै आवश्यक औषधि समेत निःशुल्क वितरण गरेको जानकारी दिए ।
नगरपालिकाले यस आर्थिक वर्षको योजना अनुसार शिविर सञ्चालन गरेको हो । बाँझोपनाको समस्याका विषयमा जानकारी गराउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा परेका निवेदन हेरेर सेवा प्रदान गरेको डा. खड्काले जानकारी दिए ।
शिविरमा डा. खड्कासहित राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीका पशु चिकित्सक कपिलदेव यादव, मिथिलेसकुमार दास, पशुपंक्षी तथा मत्स्य विकास शाखा बिर्तामोडका राजेश अधिकारी लगायतको टोली खटिएको थियो । तुलनात्मकरुपमा भैंसीमा भन्दा गाईमा धेरै बाँझोपनाको समस्या देखिने गरेको जनाइएको छ ।