सुरुङ्गा ।
कनकाई खेलकुद प्रतिष्ठान (कासा) को आयोजना र जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनामा जिल्लास्तरीय महिला फुटबल हुने भएको छ ।
बिहीबार एक पत्रकार भेटघाटको आयोजना गरी पूर्वकै प्रसिद्ध पर्यटकीय सिमसार क्षेत्र जामुनखाडीस्थित रङ्गशालामा झापा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने जानकारी दिइयो । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी आयोजित उक्त प्रतियोगिता फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुनेछ । यो प्रतियोगिता प्रतिष्ठानले खेलाउँदै आएको नवौं संस्करण हो ।
सो खेलमा बा¥हदशी महिला फुटबल क्लब, घैलाडुब्बा युवा क्लब, ध्रुबतारा महलिा फुटबल क्लब दमक, काकडभिट्टा महिला फुटबल टिम, कनकाई महिला फुटबल टिम, बुद्धशान्ति महिला फुटबल टिम, गौरादह महिला फुटबल टिम र शिवसताक्षी महिला फुटबल टिम गरी ८ टिमको सहभागिता रहने छ । खेलका विजेतालाई १ लाख १ हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
पत्रकार भेटघाटमा महिला फुटबल खेल संयोजक गीता खरेल (प्रतिष्ठान सहसचिव), आर्थिक व्यवस्थापन उपसमिति संयोजक डम्बरप्रसाद फुयाल (कोषाध्यक्ष), प्रचारप्रसार तथा कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक रामप्रसाद निरौला (सचिव), अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजक गोमा कार्की र खेलमैदान व्यवस्थापनमा जामुनाबारी सामुदायिक वन रहेको जानकारी दिइयो ।
संयोजक ज्योतिकुमार उप्रेती (संस्थापक अध्यक्ष), पूर्व अध्यक्षहरू दुर्गाप्रसाद प्रसाई र दिननाथ खतिवडा, जामुनवारी वन समूह अध्यक्ष एवं सल्लाहकार परशुराम गिरी, जामुनखाडी स्पोर्टिङ क्लब अध्यक्ष रत्नकुमार राई, प्रशिक्षकद्वय लिलु गिरी र दिलकुमार कार्की रहेको सहजीकरण समिति पनि गठन गरिएको छ । स्वयंसेवक परिचालन एवं खेल मैदानसहित आवश्यक व्यवस्थापनको संयोजन जामुनखाडी स्पोर्टिङ क्लब र जामुनखाडी कीर्तन मण्डलीले गर्ने बताइएको छ ।
विशुद्ध गैर राजनैतिक, गैर नाफामुलक एवं गैर सरकारी संस्था कनकाई खेलकुद प्रतिष्ठार्न खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ को मूल नाराका साथ समग्र खेलकुद विकासका लागि २०७१ सालमा स्थापना गरिएको थियो । यस संस्थाले स्थापनाकालदेखि नै खेलकुदका विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । यसको मूल उद्देश्य मोफसलमा रहेका प्रतिभावान खेलाडीहरूको खोजी एवं पहिचान गरी तिनलाई स्थानीय स्तरबाटै अवसर जुटाई भविष्यमा खेलकुद मार्फत राष्ट्र विकासको अभियानमा सामेल गराउनु रहेको छ ।
पत्रकार भेटघाटमा प्रतिष्ठानका अध्यक्ष छबि थपलिया, संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती, कनकाई नगरपालिका वार्ड नं. २ का वार्ड अध्यक्ष बलराम राई (प्रताप), जामुनाबारी सामुदायिक वन समूहका कार्यवाहक अध्यक्ष रेनुका खवास र सचिव दीपक ओली, जामुनखाडी स्पोर्टिङ क्लबका कार्यवाहक अध्यक्ष अर्जुन गिरी, कासाका वरिष्ठ उपाध्यक्ष भूवन खतिवडा, सदस्यद्वय अर्जुन ओली र धनबहादुर बोगटीले पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए ।
सो अवसरमा झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सातौं संस्करणको आय–व्यय सार्वजनिक गरिएको थियो । प्रतिष्ठान सहसचिव एवम् महिला फुटबल खेल संयोजक गीता खरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामप्रसाद निरौलाले सञ्चालन गरेका थिए ।