नेपालमा राजा फर्काउने कुरा पेरिसको चिया पसलको गफ जस्तै– कोइराला

0
46

बिर्तामोड ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजा फर्काउने कुरा पेरिसको चिया पसलको गफ जस्तै भएको टिप्पणी गरेका छन् ।

राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन गर्न लागेको आन्दोलनलाई उनले फ्रान्सको पेरिसमा रहेको एउटा चिया पसलमा सयौ वर्षदेखि चलिरहेको चिया गफको संज्ञा दिएका हुन् ।

नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राजाको कन्टेन्टमा हेर्ने हो भने यो हरेक देशमा यो चलिरहेको हुन्छ । आज पनि तपाई फ्रान्स जानुभयो भने त्यहाँ एउटा चिया पसल छ । चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनु पर्छ भन्ने हुन्छ । राजा गएको सयौं बर्ष भयो र पनि यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ ।’

उनले खाली राजाको गफ मात्र गरेर हुँदैन राजनीतिक दलहरुले जनतालाई कतिको खुशी पार्न सकेका छन् । गणतन्त्र ल्याएर गणतन्त्रले जनतालाई भरोसा दिलाउन सकेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण भएको बताए ।उनले राजा फर्किने कुरामा विश्वास गर्न नसकिने बताए ।

यसैबीच कोइरालाले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले कांग्रेस सत्तामा भएपनि सरकारमा नरहेको भन्दै केपी ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सत्तामा रहेका दुई दलले संघीय, प्रदेश र स्थानीय सरकार सञ्चालनका लागि बनाएको संयन्त्रप्रति उनको आपत्ति थियो ।

राजनीतिक पार्टीहरु कमजोर भयौ कि मनस्थिति कमजोर भएर काम गर्न सकेनौ कि भन्ने अहिलेको मुख्य सवाल भएको बताउँदै नेता कोइरालाले मान्छे किन सडकमा उत्रिराख्या छ अस्तिसम्म त उत्रिदैन थियो । किन मोटरसाइकल र्याली भयो भनेर सोच्न जरुरी भएको बताए ।

कांग्रेसको आगामी महाधिवेशनका सम्बन्धमा उनले २०८२ चैत मसान्तभित्र सो महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अर्जुन राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here