मार्च ८ अर्थात् इन्टरनेशनल वुमन्स डे (आइ डब्लू डि) लैङ्गिक विभेदको अन्त्य र सामाजिक असमानता मुक्त समाजको परिकल्पना हो । अन्तर्राष्ट्रिय स्तरमा महिलाहरुले पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक, व्यवसायिक क्षेत्रमा हासिल गरेको उपलब्धिलाई स्मरण र सम्मान गर्दै मनाइने विशेष पर्वको रुपमा मार्च ८ तारिखमा विश्वभर यो दिवस मनाइँदै आइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा रहेको छ– ‘एसेलिरेट एक्सन अर्थात् कामको गति बढाऔं ।’
सशक्तिकरण र रुपान्तरण त्यहाँबाट शुरु हुन्छ जतिबेला हामी महान सोच्छौं र महान लक्ष्य प्राप्तितर्फ कदम बढाउँछौं । एसेलिरेट एक्सन भन्ने नाराले लैङ्गिक असमानता कम गर्नको लागि महिलाहरुलाई हरेक कार्यहरु द्रूतगतिमा सम्पन्न गर्दै नविनतम् उपलब्धितर्फ द्रूतगतिमा पाइलाहरु बढाउन अभिप्रेरित गर्दछ । यसदिन सामाजिक नीति, कानून र न्यायमा एकरुपता ल्याउनका लागि सबैमा आह्वान गरिन्छ । साथमा महिलाको पहिचान र सहभागिता सम्बन्धी मुद्दामा सम्बन्धित पक्षको विशेष ध्यानाकर्षण गरिन्छ ।
राष्ट्रिय, जातीय, भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, भौगोलिक विविधताको बाबजुद पनि विश्वभरका महिला हामी एक हौं भन्ने अभिप्रायले अन्तर्राष्ट्रिय स्तरमा नारी दिवस समान उत्साहका साथ मनाइन्छ । रसीयामा महिलाहरुलाई फूलको गुच्छा दिएर आभार प्रकट गर्दछन् भने अमेरिकामा महिलाको उपलब्धिप्रति सम्मान व्यक्त गरिन्छ । नीतिनिर्माण एवम् नेतृत्वमा महिलाको पहुँच हुनुपर्ने, महिलामैत्री सामाजिक संरचना हुनुपर्ने र समानतामूलक कानूनी व्यवस्था हुनुपर्नेमा मागसहित अन्तरक्रिया, सम्मेलन, ¥याली, कार्यक्रम, आन्दोलन र प्रदर्शन गर्ने गरिन्छ ।
एक आवाजले संसारमा परिवर्तन ल्याउन सक्छ भने झैं सन् १८५७ मा जन्मनुभएको महिला अधिकारवादी र कम्युनिस्ट अभियानकर्मी क्लारा जेटकिनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव राख्नुभएको थियो । सन् १९१० मा कोपनहेगनमा भएको कामकाजि महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा १७ देशका एक सय महिला सहभागी थिए । स्वतन्त्रता, न्याय र समानता प्रति विश्वभरमा महिलाको पहुँच हुनुपर्ने र महिला शोषण, दमन र असमानताको अन्त्य हुनुपर्ने मागसहित विश्वभरमा महिला दिवस मनाउनुपर्ने क्लारा जेटकिनको प्रस्तावलाई त्यहा उपस्थित सबैले समर्थन जनाएका थिए ।
इतिहासमा पहिलोपटक १९०८ मा अमेरिकाको न्युयोर्क शहरको एक गार्मेन्ट कम्पनीमा कार्यरत हजारौं श्रमिक महिलाहरूले सडक आन्दोलन मार्फत कार्यस्थल असल हुनुपर्ने, कामको समय कम हुनुपर्ने, ज्वाला र सेवासुविधा उचित हुनुपर्ने र महिलालाई मतदानको अधिकार हुनुपर्ने माग गर्दै श्रमिक आन्दोलन गरेका थिए । त्यही मागलाई सम्मान गर्दै अमेरिकाको सोसियलिस्ट पार्टीले अर्को वर्ष राष्ट्रिय महिला दिवस मनाएको थियो । १९११ मा पहिलोपटक अस्ट्रीया, जर्मनी, स्वीजरल्यान्ड र डेनमार्कले महिलाहरुको योगदानको सम्मान गर्दै महिला दिवस मनाएका थिए ।
१९१७ मा भएको युद्कालिन आन्दोलनको क्रममा रुसी महिलाहरुले रोटी र शान्तिको माग गर्दै सडक आन्दोलन अर्थात् ‘ब्रेड एण्ड पिस मुभमेन्ट’ चलाएका थिए । हजारौं महिला र पुरुष समेत समावेश भएको यस आन्दोलनको चार दिनपछि तात्कालिक रुसी सम्राट जार निकोलस दित्तीयले पद त्याग्न बाध्य भएका थिए । सत्ता परिवर्तनमा महिलाहरुको योगदानको उच्च सम्मान साथै महिला आन्दोलनको मागहरूलाई लक्षित गर्दै त्यहाँको अस्थायी सरकारले महिलालाई धेरै सुबिधा र अधिकारहरु प्रदान ग¥यो । महिलालाई मतदानको अधिकार प्राप्त हुनु महिला हक–अधिकारको क्षेत्रमा प्रमुख उपलब्धि थियो ।
रुसी महिलाद्वारा आन्दोलित ऐतिहासिक महत्वको यस रोटी र शान्ति आन्दोलन शुरु भएको मिति रसियन क्यालेन्डर अनुसार २३ फेब्रुअरी आइतबार थियो भने त्यही मिति ग्रेगोरियन क्यालेन्डर अनुसार मार्च ८ थियो । यसर्थ, गेग्रोरियन क्यालेन्डरको मितिलाई पूर्ण मान्यता दिँदै र युद्धकालमा महिलाहरुको बलिदान प्रति सम्मान प्रकट गर्दै ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । महिला हकहित र समानताका विषयहरु सार्वजनिक चासोको बिषय बन्नुभन्दा धेरै अगाडि क्लारा जेटकिनले उठाउनुभएको महिला दिवसको विषयले आज अन्तर्राष्ट्रिय मान्यता पाइरहेको छ ।
श्रमबारे उठेको आन्दोलनलाई सन् १९७५ मा संयुक्त रास्ट्रीय संघले वार्षिक कार्यक्रमको रुपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो । यु एन ओ को पहिलो अन्तर्राष्ट्रिय महिला अधिकारको नारा थियो– ‘सेलिब्रेटिङ द पास्ट एण्ड प्लानिङ फर फ्युचर’ । जसको अर्थ हुन्छ– विगतलाई उत्सवको रुपमा मनाउँदै र भविष्यको योजना बनाउँदै अघि बढ्नुपर्छ । अन्तर्राष्ट्रिय महिला वेवसाइट अनुसार बैजनी, हरियो र सेतो रंगहरु अन्तर्राष्ट्रिय महिला दिवसको साझा रंग हुन् । बैजनी रंगले न्याय र गरिमा इङ्गित गर्दछ । हरियो रंग आशाको प्रतिक हो भने सेतो रंगले पवित्रताको प्रतिनिधित्व गर्दछ ।
२०११ मा १०० वर्षको एतिहासिक यात्रा तय गरिसकेका महिला अधिकारका मुद्दाहरु आज ११४आंै बसन्तमा आइपुग्दासम्म पनि महिलाहरुले लैङ्गिक समानताको लागि संघर्ष गरी नै रहनु परेको छ । शारीरिक दुर्बलता, मातृशिशु स्वास्थ र प्रजनन् समस्या, आर्थिक परनिर्भरता, कार्यक्षेत्रमा विभेद, शिक्षा आर्जनमा समस्या, महिला केन्द्रित सामाजिक र सांस्कृतिक नीतिनियम, रुढीवादी लैङ्गिक भूमिका निर्धारण, राजनीतिक र कानूनीगत असमानता, महिला हिंसा, शारीरिक शोषण, बलात्कार, महिलामा लगानीको कमी, घरेलु कामकाजमा महिलाको अति व्यस्तता आदि धेरै समस्या र चुनौतीहरु छन् । जसले महिलालाई लक्षित उपलब्धि हासिल गर्नबाट वञ्चित गरिरहेको छ ।
वल्र्ड इकोनोमिक फोरमले समाज र परिवारमा महिला र पुरुषबीचको असमानता एवम् राजनीतिक, आर्थिक, शैक्षिक आदि क्षेत्रमा महिलाहरुको पुरुष समान उपलब्धिलाई मूल्यांकन गर्दै ग्लोबल जेन्डर इन्डेक्स मार्फत् ग्लोबल जेन्डर ग्यापको तथ्यांक सार्वजनिक गर्दछ । २०२४ को तथ्यांक अनुसार विश्वभरिमा ६८.५ प्रतिशात ग्याप नजिक÷कम भएको छ मतलब असमानताको खाडल पुरिएको छ ।
यो तथ्यांक २०२३ को तथ्यांक ६८.४ प्रतिशतभन्दा ०.१ प्रतिशतले धेरै छ । अहिलेको अवस्थाबाट समान अवस्थामा पु¥याउन र लैङ्गिक विभेद अन्त्य गर्दै समानतामूलक समाज निर्माण भने सन् २१५८ मा मात्र सम्भव हुने रिपोर्टले देखाएको छ । जसको लागि एक सय ३४ वर्ष लाग्ने देखिन्छ, जुन आजको पुस्ताभन्दा पाँच पुस्ता पछि हो ।
शान्ति, समृद्धि र सुशासन महिला सहभागिता बिना सम्भव छैन । किनकि महिला नै समाजको सही शिल्पकार हुनुहुन्छ । महिला सशक्तिकरण बिना समृद्ध समाजको परिकल्पना गर्नु असम्भव छ । सशक्तिकरणका लागि महिलालाई समान अवसर र भूमिका प्रदान गरिनु मात्र ठूलो कुरा होइन । हरेक महिलालाई समान इज्जत, समान ज्याला, समान अधिकार र हिंसामुक्त वातावरण हुनु आजको आवश्यकता हो । समाजमा व्याप्त महिला हिंसा, अशिक्षा, लैङ्गिक असमानता, रुढीबादी धारणा, प्रजनन् स्वास्थ समस्या, सामाजिक अन्याय, असमान पारिश्रमिक, लैङ्गिक विभेद, महिला हिंसा, बलात्कार, शोषणप्रति जनचेतना जगाउनु अति आवश्यक छ ।
महिला दिवस मार्च ८ मा मनाइन्छ भने पुरुष दिवस पनि मनाइन्छ त ! भन्ने धेरैको उत्सुकता सुन्न पाइन्छ । धेरैलाई थाहा नहुन सक्छ, अन्तर्राष्ट्रिय पुरुष दिवस विश्वको धेरै देशहरुमा २५ वर्षदेखि मनाउँदै आइएको छ । परिवार, समाज, राष्ट्र र विश्व मानचित्रमा पुरुषहरुले गर्दै आउनुभएको योगदानको उच्च सम्मान गर्दै हरेक वर्ष नोभेम्बर १९ मा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइन्छ । १९९९ को नोभेम्बर १९ को दिन डाक्टर जेरोमी टेलुकसिङले ट्रीनेन्डेड र टोबागो भन्ने ठाउँमा पहिलो पटक पुरुष दिवस मनाउनुभएको थियो ।
विश्वको ८० देशहरुमा विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइए तापनि संयुक्त राष्ट्रसंघले औपचारिक मान्यता भने दिएको छैन । २०२४ को अन्तर्राष्ट्रिय पुरुष दिवसको नारा ‘पोजेटिभ मेल, रोल मोडल’ रहेको थियो । पुरुषले पनि रुन पाउँछ, पुरुष पनि संवदनशिल हुन सक्छ, पुरुषलाई पनि सहयोग चाहिन्छ, सामाजिक कु–संस्कार र रुढीवादी धारणाबाट पुरुष पनि पीडित हुन सक्छ, हत्या हिंसा विभेद र असमानताको शिकार पुरुष पनि हुन सक्छ भन्ने मान्यतासहित मनाइने यो दिवसले लोकप्रियता बढ्दै गएको छ । यसदिन पुरुषको लागि उचित स्वास्थ सेवा, खानपान, कार्यक्षेत्र र भविष्यको योजनाको विषयमा विचारविमर्श गरिन्छ ।
जे होस राष्ट्र, भुगोल, वर्ण, जात, धर्म, समाज परिवार फरक–फरक भएतापनि विश्वभरका महिलाहरु महिला भएको नाताले एक हौं । आफ्नो क्षेत्रमा महिलाले गरेको सानो ठूलो हरेक उपलब्धिहरुले आसमानताको दूरी कम गर्नमा ठूलो मद्दत गरेको हुन्छ । शताब्दीदेखिको संघर्षपूर्ण यात्रामा धेरै उल्लेख्य प्रगतिहरु अवश्य भएको छ । तर, जति हुनुपर्ने हो त्यसको प्राप्तिका लागि महिला आफैले आफ्नो काम गतिलाई द्रूतगति दिनुपर्ने युएनओ माग हो । समानताको लागि काम गरौं ! आफ्नो कामलाइ द्रूतगति दिँदै विश्वस्तरबाटै समानतामूलक महिलामैत्री समाज निर्माण गर्ने आजैदेखि सङ्कल्प गरौं ।