दुर्व्यसनको दलदलमा फस्दै युवाः झापामा मात्रै २८ हजार प्रयोगकर्ता, लागूऔषध खरिदमा करोडौ रकम बाहिरिँदै

0
151

नरेन्द्र ढकाल,
बिर्तामोड ।

लागूऔषधले समाजमा अपराध मात्र बढाएको छैन कयौँ युवाहरु यसको दलदलमा फस्दै गएका छन् । झापामा लागूऔषध प्रयोगकर्ताको अवस्था डरलाग्दो रुपमा बढेको प्रहरीको भनाइ छ ।

झापामा मात्रै २८ हजार लागूऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क सुरक्षा निकायसंग रहेको छ । लागूऔषधले भयावह अवस्था सिर्जना गरेको हुँदा अब सबै पक्ष जिम्मवार नभए केही वर्षमा नै लागूऔषधको कुलतमा नफसेका युवाहरु भेट्न मुस्किल पर्ने जनाइएको छ ।

झापाका १५ वटै पालिकामा लागूऔषाध प्रयोगकर्ताहरुको संख्या उच्च रहेको र धेरै अभिभावकहरु आफ्ना सन्तानबाट पीडित रहेको पाइएको छ । नेपालमा लागूऔषध प्रयोगकर्ताको उमेर समूहमा २५देखि २९ वर्ष उमेर समूहका युवाहरु धेरै रहेका छन् । यो संख्या ३५ प्रतिशत हो भने २०देखि २४ वर्ष उमेर समूहका ३४ प्रतिशत युवा कुलतको दलदलमा फसेका छन् । त्यस्तै १५देखि १९ वर्ष उमेर समूहका युवाहरु ७ प्रतिशत रहेका छन् भने ३०देखि ३४ वर्ष उमेर समूहका १३ प्रतिशतले लागूऔषध प्रयोग गर्ने गरेका छन् ।

लागूऔषधको दल–दलमा फस्ने ८० प्रतिशत मानिसले पहिलोपटक गाँजा वाा भाङ खाने गरेको पाइएको छ । यसरी गााँजा वा भाङ खाएपछि उनीहरुले क्रमशः अन्य लागूऔषध सेवन गर्ने गरेका छन् भने ९ प्रतिशतले पहिलोपटक डाइजापाम, ४.७ प्रतिशतले अफिम तथा १.९ प्रतिशतले पहिलोपटक ट्रामाडोल प्रयोग गर्ने गरेका छन् । यसरी पहिलोपटक लागूऔषध सेवन गर्नेहरु क्रमशः अन्य लागूऔषधजन्य कुराको खोजीमा लाग्ने र क्रमशः कुलतको बाटो समाउने गरेको लागूऔषध नियन्त्रणमा लामो समयदेखि कार्यरत एक अधिकृतको भनाइ छ ।

झापामा लागूऔषध प्रयाोगकर्ताहरु साथीकै माध्यमबाट किनमेल गर्नेहरु धेरै रहेका छन् । ६८ प्रतिशतले साथीको माध्यमबाट लागूऔषध खरिद गर्ने गरेको पाइएको छ । १४ प्रतिशत लागूऔषध कारोबारीसंग फोन सम्पर्ककोे माध्यमबाट भेट गरेर खरिद गर्ने तथा ८ प्रतिशतले मेडिकलबाट खरिद गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । लागूऔषध प्रयोगकर्ताले विभिन्न माध्यमहरु प्रयोग गर्ने तथा साथी संगतिको माध्यमबाट चिनजान बढाएर अन्य व्यक्तिसँग र प्रविधिको प्रयोग गरेर पनि लागूऔषध खरिद गरेर प्रयोग गर्ने गरेको पाइएको छ ।

ब्राउन सुगर प्रयोगकर्ता धेरै

झापामा लागूऔषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । झापामा २८ हजार लागूऔषध प्रयोगकर्ता रहेको स्रोतको भनाइ छ ।

झापासहित कोशी प्रदेशमा दैनिकजसो लागूऔषध प्रयोगकर्ता तथाा कारोबारी पक्राउ पर्ने गरेका छन् । झापामा अधिकांश लागूऔषध प्रयोगकर्ताले ब्राउनसुगर प्रयोग गर्ने गरेको पाइएको स्रोतको दावी छ । खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय नाकाबाट सहज रुपमा ब्राउनसुगर उपलब्ध हुने भएकाले अधिकांश प्रयोगकर्ताको पहुँच सहज हुने भएकाले लाागूऔषधको दलदलमा युवाहरु फसेका हुन् ।

दैनिक करोडौ रकम लागूऔषधमा बाहिरिँदै

लाागूऔषध प्रयोगकर्ताको माध्यमबाट करोडौ रुपैयाँ विदेशिने गरेको छ । ब्राउनसुगर खरिदको नाममा लागूऔषध कारोबारीले करोडौं रुपैयाँ कुम्ल्याउने गरेका छन् । ब्राउन सुगर एक डोज अर्थात् एक खुराक किन्नका लागि कम्तीमा नेपाली आठ सय रुपैयाँ पर्छ ।

झापामा रहेका २८ हजार लागूऔषध प्रयोगकर्ताले दैनिक एकपटक मात्रै ब्राउनसुगर प्रयोग गरेमा दुई करोड २४ लाख रुपैयाँ रकम खर्च हुने गरेको छ । नेपालमा ब्राउनसुगर नपाइने भएकाले भारत लगायतका मुलुकबाट खरिद गर्दै लागूऔषध कारोबारीले ल्याउने भएकाले यत्रो रकम विदेशिने गरेको छ । तर, यसतर्फ राज्यको ध्यान जान सकेको छैन ।

लागूऔषध नियन्त्रण गर्न प्रदेश सरकारले ९० लाख छुट्यायो

लागूऔषध नियन्त्रणका लागि कोशी प्रदेश सरकारले ९० लाख रुपैयाँ बजेट छुट्याएको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । कोशी प्रदेशमा लागूऔषध प्रयोगकर्ता तथा कारोबारी बढेको स्वीकार गर्दै मन्त्री भण्डारीले प्रदेश सरकारले यसै महिनाबाट लागूऔषध नियन्त्रण सम्बन्धी कार्यक्रमहरु शुरु गर्ने बताए ।

पूर्वाञ्चलसँग कुरा गर्दै मन्त्री भण्डारीले भने– विद्यालय केन्द्रित तथा समुदायस्तरसम्म पुगेर प्रदेश सरकारले लागूऔषध नियन्त्रणका लागि काम गर्नेछ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगको साझेदारीमा सीमा क्षेत्रमा कडाइ गर्नुका साथै लागूऔषध नियन्त्रणका लागि विभिन्न क्लब गठन गर्ने, नेपाल स्काउटसंग साझेदारीमा काम अघि बढाउनुका साथै लागूऔषधविरुद्ध कोशी प्रदेशका सञ्चारमाध्यमहरुबाट सन्देशमुलक कार्यक्रम तथा सचेतना जगाउने कार्यलाई अघि बढाउने मन्त्री भण्डारीले जानकारी दिए ।

सात महिनामा २६० जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले मात्रै चालूआर्थिक वर्ष २०८१/०८२को सात महिनाको अवधिमा दुई सय ६० जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

चालू आर्थिक वर्षमा मात्रै लागूऔषध सम्बन्धी एक सय ५७ वटा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । उनले भने– जिल्ला प्रहरी कार्यालय झापाले यत्रो संख्यामा लागूऔषध कारोबारी तथा लागूऔषधसहित पक्राउ गरेको हो ।

उनले लागूऔषध नियन्त्रण व्यूरोसंगको समन्वयमा जिल्ला प्रहरी कार्यालयले धेरै लागूऔषध कारोबारीहरुलाई पक्राउ गर्न सफल भएको बताए । उनले कारबाहीसंगै सचेतनामूलक कार्यक्रमलाई पनि जिल्ला प्रहरी कार्यालय झापाले प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here